भाग्यले जे लेख्यो त्यही पाउँछौं, अरुले जे देख्यो त्यही गाउँछन्। यही देख्ने र लेख्ने प्रकृया क्रमशः चलिरहन्छ, अनि सँगसँगै जिन्दगी पनि त्यही होडबाजीमा चलिरहन्छ। यही जिन्दगीमा कोही हातभरि हुने पनि खुसी छैनन्, कोही खाली हात पनि खुसी छन्। यो खुसीको कारक के यो बुझ्न गाह्रो।
कसैको घरभरि धन भएर पनि मन खाली छ, कोही गरीब छन् तर मनकारी छन्। कोही पैसामा संसार किन्न निस्किन्छन्, कोही संसार बनाउन पैसा जोड्न निस्किन्छन्। यहाँ प्राथमिकता कसको के यो पनि थाहा छैन। कसैको घरभरि धन छ, सन्तानसुख छैन। कसैका घरभरि सन्तान छन्, खुवाउन दुई सितो छैन। यो भाग्यको लेखा किन यस्तो? हात हुनेलाई गाँस छैन, गाँस हुनेको हात छैन।
सन्तुष्ट हुन कसलाई के चाहिने हो, यो बुझ्न जति हिँड्यो त्यति आफूलाई अनभिज्ञ पाउँछु। न धनको साथी, न मनको साथी सन्तुष्टि हो? हिँड्दा-हिँड्दै कुनै बाटोमा कहिलेकाहीँ सन्तुष्टि, खुसी, धन अनि मनको अनेक रुप हेर्न पाइन्छ।
त्यो बसपार्कको हाइवेको डिलमा एउटा नाङ्लोमा १० पाकेट सुर्ति, ४ बट्टा चुरोट, १ बट्टा मास्क अनि एउटा पानीको बोतल लिएर बेच्न बस्ने दाजुका चाहना के कति होलान् र! जिन्दगीले ओइराएको जिम्मेवारी पूरा गर्न सानो एउटा नाङ्लोमा आफ्ना रहर सुकाएका उनीसँग, सन्तान र वृद्ध बाआमा पाल्न केवल त्यही एउटा नाङ्लो छ साथमा।
सन्तुष्टि के हो, कसैले उनलाई सोधेर हेरोस्! त्यो बेच्न नसकेको ४ बट्टा चुरोट घर नफर्काई बाटोमै बेचेर घर पुग्न पाए उनी जति सन्तुष्ट को हुन्थ्यो होला! धनले भरिपूर्ण मालिकका महलमा त्यो ४ बट्टा चुरोटको धुवाँ कुन कुनामा रुमलिन्छन् पत्तो छैन, तर त्यो धुवाँ पनि अमूल्य छ ती दाजुका लागि।
हातभरि पैसा बनाउने रहर हैन, धोको पनि छैन होला उनलाई। हरेक दिन खाली नाङ्लो घर फर्किन पाए उनी आनन्दको निद्रा निदाउन पाउँदा हुन् हरेक रात। जुन सपना उनको निद्रामा आउन पनि हिच्किचाउँछ, त्यो देख्ने साहस उनी कहिल्यै नगर्दा हुन्। उनको लागि जहानको हाँसो सन्तुष्टि, बालबच्चाको खुसी सन्तुष्टि।
अर्कातिर त्यो चुरोटलाई सिगार बनाएर बेच्नेहरूको हात र जात बेग्लै। उनलाई क्यासको बिट्टो बनाउने आरिसले कति रात निद्रा लाग्न दिँदैन, डाइनिङ टेबलमा छरिएको व्यञ्जन उनको हातले छुन भ्याउँदैन। जिम्मेवारी त उनका पनि हुँदा हुन्, तर कसको लागि के पूरा गर्न बाँकी छ र उनी आफैलाई बिर्सेर मरिमेट्दै छन् थाहा छैन।
'आज' त उनीसँगै छ, 'भोलि' हुन्छ हुन्न थाहा छैन। यो पल आफ्नो बनाएर जिउनुको साटो उनी आफै आज पनि हराउँदै छन्। यो होडबाजीमा उनलाई न खुसी चाहिएको छ, न आनन्दको एक निद्रा, न भोकको पत्तो न सरलताको बाटो। उनी त्यही ऐसमा सन्तुष्ट।
बर्खे झरीले रित्याइलगेको भकारीको धान भित्र्याउन फेरि अर्को असार कुर्नुपर्छ दाजुलाई। धानका परिकार रोजेर खाने चामलको बिउ उमार्ने साहुका भने हरेक महिना असार। वर्षौंभरि कुरेर धान भित्र्याउँदा हातले धान चुटेको बिर्सेलान् कान्छा दाजु तर धानले भोको पेटलाई लाएको मान कहिल्यै बिर्सन्नन्। त्यही धान बेच्नुको विकल्प नहुँदा दाजुले फैलाएको हातको बदला साहु उनको तिरस्कारले बिदा गर्छन्। आफ्नो धानको मूल्य नपाउने दाजु गरिब कि हातभरि धन हुने छातीमा मन नहुने साहु गरिब?
ऋणमा डुबेका दाजुको घरको छतले पानी नछेक्दा पनि त्यही छतमुनि विस्तरामा ऋणबाट मुक्ति पाएको दिन उनी यसरी निदाउँछन् मानौँ कति रातका अनिदा आँखा सायद त्यही निद्रादेवी कुरिबसेका थिए। शीतलताको बाटो हिँड्ने ती दाजु अनि ऐश्वर्यको रोडमा हिँड्ने उनका मालिक, अझै हिँड्दैछन्, तर आज मालिकलाई थोरै शीतल मनको अनि दाजुलाई थोरै धनको कमी छ।
यो कमीको भूमरीमा फस्ने हो भने दाजु कहिल्यै आनन्दित नहुँदा हुन्, अनि उनका मालिक कहिले धनी नहुँदा हुन्। त्यसैले अब यहाँ भूमरीले दुवैलाई जोगायो या भूमरीभित्र बसेर दुवै एकअर्कादेखि जोगिए, यो पनि पत्तो छैन।
जिन्दगीले यसैगरी डोर्यायो भने म पनि उचाइमा घुमौँला कुनै दिन। त्यसो भनेर मलाई खुसी अनि सन्तुष्टिको विकल्प खोज्नु छैन। हातमा गाँस थोरै होस्, तर मनले त्यो एक गाँसको स्वाद अन्तिमसम्म पनि भरपूर लिन पाओस्। देखेका सपना, चाहना सबै पूरा हुन त समय लाग्ला, हातभरि धन भरिन पनि समय लाग्ला तर मनमा कहिले अनौठो हुरी नचलोस्, त्यही सन्तुष्टि।