जूनले कहिल्यै गुनासो गरेन उज्यालो दिँदा पनि
अन्धकार पाएँ भनेर
मैले पनि त कहाँ गुनासो गरेँ
गुलाफको उपहार वनमारा पाएँ भनेर?
भुइँमै पृथ्वी बोकेर उभिएको मान्छे
तिम्रो जिन्दगीको आकाश भेटाउन कहाँ सक्थेँ
आवरणको सुन्दरतामा रुमलिएको यो दुनियाँ
अनि यही दुनियाँमा पौडिएकी तिमी
रङ्गहीन जिन्दगीको गहिराइमा कहाँ डुब्न सक्थ्यौ!
उज्याला, सुकिलाहरूको म्याराथनमा
अँध्यारो, भिजेको एक थान मुटु छातीमा टाँसेर
दौडन कहाँ सक्थ्यौ!
तिमी झमझम पानीमा भिझ्थ्यौ, म पनि त भिझ्थेँ
तिम्रो रहर थियो, मेरो बध्यता।
तिम्रा सपनाहरूमा दरबार थिए, मेरा सपनाहरूमा घरबार थिए
तिम्रा पराई पनि आफ्ना थिए, मेरा आफ्ना पनि पराई थिए
तिम्रा त बाटाहरू पनि कति फराकिला
मेरा त चउरहरू पनि कति साँघुरा
तिम्रा रात पनि दिनजस्ता, मेरा दिन पनि रातजस्ता
तिम्रो बगरमा पनि पानी थियो, मेरो समुन्द्रमा पनि बगर
तिम्रो ढुङ्गगामा पनि भगवान थियो, मेरो मन्दिरमा पनि ढुङ्गा
तिमी उड्न चाहने, मलाई हिँड्नै गाह्रो
तिम्रा फुकेका रहरहरू र मेरा थुनिएका बाध्यताहरू
कहाँ भेटिन सक्थे होला र?
फरक छ नि प्रिया तिम्रा सुकिला सपनाहरू र
मेरा रुझेका यथार्थहरूमा।