एक-एक हिसाब गरेर राख्नू
जवाफहरूले सवाल गर्नेछन्
क्रमशः कसको इतिहास लेखिन्छ?
जो मर्दछ आफ्नो माटोमा
आफ्नो स्वाभिमानमा।
कसले बेच्दछ माटो?
मान्छेहरू
नीति पढेका तर नलेखेकाहरू
समय खाएकाहरू तर नअघाएकाहरूले।
को हो आमाको दुश्मन?
जो सन्तान
तर खाएर
दूध बिर्सनेहरू
वृक्ष मासेर श्वास फेर्नेहरू।
किन जन्मिन्छ मान्छे?
मर्न जन्मिन्छ
अमर हुने सपनाले
एक वासनाले, अतृप्त प्यासले।
नदी के हो?
नदी बाफ हो
नदी पानी हो वा पानी नदी हो
जता बग्छ त्यतै नदी
निलो आकाशको छाया।
कसरी बाँचेको छ मान्छे?
बेचैन बाच्दछ मान्छे
खोजेर आनन्द
देखेर सपना
मेटेर तिर्सना।
को हो तिमी?
म मन हुँ
म तन हुँ
म गति हुँ
म आफू हुँ
म तिमीलाई हल्लाउने गर्जन हुँ
म अंहकार हुँ
म सर्वश्रेष्ठ हुँ।
के जिउँदै छन्?
अक्षरहरू जिउँदै छन्
आशाहरू अझैं जिउँदै छन्
पृथ्वी घुम्दासम्म
ताराहरू रहँदासम्म।
एक-एक हिसाब गरेर राख्नू
प्रश्नहरू
कुकृत्यहरू
वर्तमानहरू
अनि
अक्षरहरू।