'हेर त दिनभर घरमा बस्यो, खायो। कमाउनु छैन, केही इलम गर्नुछैन। सधैँ यसरी जीवन कसरी चल्छ यसको? सम्झा न हौ छोरोलाई।'
त्यो समय पनि खानाको भागमा बस्दा बाको चर्किएको स्वरले म भित्र कोठोमा बसिरहेको मनुवाको भाग नबस्दै घाँटीमा केही अड्किएजस्तो भइरहेको थियो।
प्रत्येक बिहान बाको गाली सुन्दै उठ्ने म, रातममा खाना खाँदा तितो वचन सुनेर अक्सर आधा पेट नै सुत्ने गर्थेँ। लगभग विगत केही महिनाबाट दिनचर्या यस्तै छ। केहीमा मन छैन। लाग्छ, छाडिदिउँ यो मिथ्या संसार, त्यागिदिउँ सब बन्धन र जिम्मेवारी। आखिर आफूले सोचेको जस्तो समय चलिरहेकै छैन भने बाँच्नुको आशय नै के र?
जीवनको गोलार्धमा गन्तव्य कता गएर भेटिन्छ, ठेगान छैन। केही समयअघि सब ठिक थियो, जब बाल्यकाल थियो। आफ्ना रहर, सपना क्षणभरमै पूरा हुन्थेँ। एक्लो छोरो, धेरै जिद नगरी मैले थुप्रै कुराहरू पाएको थिएँ, जतिबेला साना-साना कुराहरूले मलाई खुसी थपिदिन्थे। हाटबजार जाँदा खेलाउने बन्दुक देखेर किनिदिन जिद्दी गर्दा चु नबोली किनिदिने बा, मनग्ये लगाउने कपडा हुँदाहुँदै दसैँ नआई लुगाकपडा किनिदिने बा, स्कुलदेखि कलेज हुँदै युनिभर्सिटी पढुन्जेल सम्पूर्ण खर्च व्योहोर्ने बा, किन आजभोलि यति कडक भएका? किन समय हिजोझैँ सुन्दर छैन? किन बालाई मप्रति यति धेरै कुण्ठा उत्पन्न भएको होला?
म सोच्दा सोच्दा कहिल्यै थाकिनँ। कि कतै बालाई आफ्नो छोरोले केही गर्न नसक्ला भन्ने संशय परेको त हैन? म आफैलाई भन्दा भविष्यको चिन्ता बालाई किन छ? यो प्रश्न बासामु राख्ने हुती कहिल्यै आएन। हिजोसम्म स्नातक पढ्दै गर्दा बिहान अबेरसम्म सुत्दा आमालाई 'अहिले नउठा यसलाई, राति अबेरसम्म पढेर सुतेको छ' भनेर बुझाउने बाले किन बुझ्न सक्दैनन् आजभोलि छोरोको मन? किन यति चिड्याउँछन् बालाई अचेल यति धेरै कि वयस्क उमेरमा लागेका सन्तानका मन बुझ्ने क्षमता बाले राख्न सक्दैनन्।
एकदिन त म यी प्रश्नहरूको भण्डाफोर गर्ने नै छु। बस् समय ठिक चलोस् अनि। यही सोच लिएर चुपचाप बसेको पनि एकआध महिना निस्किसकेछ। प्राइभेट कम्पनीमा काम गरेको खासै सन्तुष्टि नपाएपछि त्यहाँ पनि छाडिदिएँ। सायद आर्जन गर्न नसकेकाले मलाई बाले यस्तो व्यवहार गर्थे। सायद भाग खोज्नलाई अब आफूले पनि परिवारलाई केही दिने समय आइसकेको थियो।
त्यो दिन सबेरै चिया पिउँदै फोनमा केही थान रोजगारीका विज्ञापन हेर्दै थिएँ। देशमा फिक्का कमाइले न त मन थाम्न सक्थ्यो न त इमान। आफ्नो लायक परिस्थिति खोज्दा खोज्दै परिवारको लायक परिस्थिति पनि हराउँदै गएछ। बा आएर बिहान बिहान सुनाइहाले, 'फोन हेर्नुको सट्टा अलिक किताब हेर्, कि लोकसेवाको तयारी गर्। कि आइज अस्थायी भए पनि मैले पढाउने सरकारी स्कुलमै भए पनि पढा। अलिकति भए पनि जीवन बुझ्छस्, व्यवहार बुझ्छस्।'
सायद चियाको तल भागको चियापतिले गर्दा हो या बाका वचनले गर्दा, चिया तितो हुँदै गयो। हुन त बिए पास गरेर बसेको बिहे गर्ने उमेर भएको छोरो यसरी घरमा डुकुलन्ठ भएर बस्दा कसका बुबालाई पेच नपर्ला र?
त्यो समयबाट आज दुई वर्ष बितिसक्यो। एमबिए सकेर राम्रो कमाइका साथ खुसीले भरेको जीवन जिइरहेको छु क्यालिफोर्नियामा। आज ती बेला बाले दिने अनेक ज्ञान र अर्तिउपदेश सम्झन्छु। कति सही आकलन गर्न सक्ने रैछन् मेरा बा। बाको सहारा नभएको भए आज यहाँसम्म पुग्ने थिइनँ म।
बल्लतल्ल जम्मा गरेको पैसाले घर बनाउने सल्लाह हुँदाहुँदै म अमेरिका पढ्न जाने भन्दा सोझै बाले आफ्नो कमाइ यसमा लगानी गरिदिए। त्यति कडक बा एक झटमै माने, आखिर सब सन्तानको भलो चिताएरै त बसेका हुने रहेछन्।
बुबाको मुख हेर्ने दिन पनि आउन लाग्यो। विगत तीन वर्षमा भिडिओ कलमा देखादेख मात्रै हुन्छ, बाको अनुहारमा कति मुजा परे होलान्! त्यो त पक्कै अब भौतिक भेटमै पत्तो हुनेछ। अघिल्लो साल आमा बितेपछि बाको सहारा मबाहेक को नै छ र अब? स्कुलबाट पनि रिटायर्ड भएपछि बालाई बहुत खल्लो भएको हुँदो हो जीवन।
अर्को साल बुबाको मुख स्वदेश फर्केर नै हेरौँला। आखिर बाको कमाइको घर पनि त बनाउनु छ। यस साललाई बालाई फोन गरेरै भए पनि साथ र मायाका लागि धेरै धन्यवाद दिनेछु।