कविता
आरसिटी गर्नु पर्ने आफ्नो दाँत
बा भन्दै हुनुहुन्थ्यो
कीराले पूरा खाएछ
फाल्नु पर्ने भएछ
डाक्टरको सल्लाहमा
समय डाँडा पछाडि
घामसँगै बित्दै गर्छ
बालाई प्रेसर, सुगरको औषधि दिलाएर
र
हरदिन
घाम देख्नलाई दबाई खानुछ बालाई
नातिलाई गुर्जुधारा चोकमा
घुमाउन लानुछ बालाई
बेला बेला
समय झस्काउँछ
समय बिझाउँछ
समय गिज्याउँछ
अनेक रूपमा आउँछ समय
यसो हेर्छु
बाका गालाका छालामा झोलिएको छ समय
हरदिन सूर्य पसेर, सूर्य निस्केर
नाति काखमा राखी हाँस्दै गर्दा
झनै खुम्चिएको देख्छु
त्यो छाला
त्यो गाला
सानो छोराका लुगा सुकाउनु पर्ने
म छतमा जाँदै गर्दा
सिँढीमा ठोकिन्छ खुट्टा
अन्यासै आउँछ एउटा आवाज
‘ऐंया बा…!!!’
सुस्केरासँगै
दुखाइ कम हुन्छ
उठ्छु,
हिँड्छु,
छतमा पुग्छु,
र लुगा सुकाउँछु,
हेर्छु घाम डाँडा माथि पुगेको
सोच्छु, सुक्दैनन् होला आज लुगा
देख्छु तल
बा, नाति घुमाउन
गुर्जुधारा चोकतिर जाँदै गरेको...