कविता
बटौली बजार गई टिकिया किनी ल्याकी छु भन्ने
लक्ष्मी न्यौपानेको गीत रेडियोमा बज्थ्यो र पो तीज आउँथ्यो।
हरेक वर्ष वेदनाको पोको भन्ने नयाँ एल्बमको क्यासेट
पानासोनिक रेडियोमा बजाइन्थ्यो र पो तीज आउँथ्यो ।
आँगनीको डिलको झेक्रामा लगाएको झालमा
लटरम्म घिरौला, चिचिन्ना, लौका, बोडी फल्थे र पो तीज आउँथ्यो।
तीजका लागि नयाँ कपडा किन्न फलानो दिन जाने भनी
गाउँभरी हल्ला हुन्थ्यो र पो तीज आउँथ्यो ।
तीजको लागि भनी पसलमा नयाँ सामान आउँदा
फेयर एण्ड लभ्ली किनी वर्ष भरलाई पुर्याइन्थ्यो पो तीज आउँथ्यो।
तीजको दिनलाई भनी साँचेर राखेको बारीको घाँस
दुई दिनलाई पुग्ने एकै दिन काटिन्थ्यो र पो तीज आउँथ्यो।
तीजमा दर खाने भनी ताजा घिउ संगालेर
रातको १२ बजे उठेर दर खाइन्थ्यो र पो तीज आउँथ्यो।
नयाँ चुरा आए रे भन्ने हल्ला गर्दै पसलभरी
चुरा लगाउने दिदी बहिनीको भिड हुन्थ्यो र पो तीज आउँथ्यो।
तीजको दर सँग खाने भनी
आमाले घुइँयाको पाप्रोको गाँठा पार्नुहुन्थ्यो र पो तीज आउँथ्यो।
मामाघरमा जान छ भनी स्कुल पढ्ने बच्चाले
प्रधानाध्यापक सँग मध्यान्तरमा बिदा माग्थे र पो तीज आउँथ्यो।
साथीहरू सबैले कपडा किनी सके भनी मैले कहिले किन्ने भनी
घरमा बुवा आमासँग रोइन्थ्यो र पो तीज आउँथ्यो।
बारीमा मकैका डाँठ समाइ घाँसको शितले कपडा भिजाउँदै
चार्ज गर्ने लाइट हातमा समातेर तीजको नाच हेर्न गइन्थ्यो र पो तीज आउँथ्यो।
पाकेका बेलौतीका बोटमा चढेर ब्रत बसेको बेलामा
फलफूल खान केही हुँदैन भनिन्थ्यो र पो तीज आउँथ्यो।
बुवाले भैंसी दोएर ताजा दूधमा साबुदाना पकाएर
आमालाई खुवाउनुहुन्थ्यो र पो तीज आउँथ्यो।