कविता
हतौडाले टुकटुक
छिनाले छिन्छिन्
हानेको मूर्ति मन्दिरमा हुन्छ
अनुभवको गह्रंगो घनले हिर्काएर
हरदम तिमीलाई
आर्शिवचन दिने मूर्ति
पलपल तिम्रो साथमा हुन्छ
त्यही मूर्तिको गोप्य नाम हो–बा।
पटक–पटक गुमेको श्वास लिएर
चुँडिएको नशा सिलाएर
रगतलाई पसिना बनाएर
सन्तानको हाँसोलाई
आफ्नो नासो ठान्ने
मन–मस्तिष्कको एउटै नाम हो–बा।
पृथ्वीजत्तिकै भारी
निरन्तर बोकिरहने
ज्वारभाटासँग संघर्ष गरिरहने
वर्षौंदेखि आँधीहुरीमा अडिग
पटक–पटक चट्याङको प्रहारबाट
उठेर
सन्तानलाई स्वर्ग देखाउन चाहने
महामानवको साझा नाम हो–बा।
बा भन्नुहुन्छ–
‘ए फरकफरक विश्वविद्यालयमा
संख्यात्मक उपाधि प्राप्त सन्तान!
जीवनको पहिलो पाठशाला !
खुसीको क्षणमा सुन–
संसारका सयौं विश्वविद्यालयको
सैद्धान्तिक र प्रयोगात्मक परीक्षा
उत्तीर्ण गर्नेको एउटै नाम हो–बुढा बा।’
अन्त्यमा, ढुङ्गा र मूर्ति देखाउँदै
बाले सोध्नुभयो–
‘बिनाचोटको जीवन
चोटसहितको जीवन
के रोज्छस् छोरा ?’
मैले भनेँ–
‘हजुरकै जीवन रोज्छु बा
संघर्ष, समानता र मानवताको।’