मोबाइलमा नयाँ नोटिफिकेसन आएको छ। इमेल रहेछ। मलाई इमेलहरू पढ्न सदा अल्छी लाग्छ। कोही किन यति धेरै फर्मल बन्छ इमेलमा। मलाई सधैं लाग्छ इमेलको सट्टा बरू कसैले चिठी लेखोस्।
मलाई कसैले चिठी लेखेको छैन आजसम्म। मैले पनि त लेखेको छैन। म चाहन्छु कसैले त लेखोस्। इमेल खोल्छु नाम छ संस्कृति। को संस्कृति? कहाँकी संस्कृति.... म चिन्दिनँ। हुनसक्छ ऊ कोही मैले नचिनेकी हो। इमेल खोल्छु ..........
प्रिय विज्ञान,
म तिमीलाई सञ्चै छौ भन्दिनँ। मलाई लाग्छ आज पनि कुनै घाटछेउ तिमी आफ्नै क्यामरामा मस्त छौ। हामी एकअर्काका लागि बेमेल मानिसहरू थियौ र पनि सबैले सोचेझैं हामी एक अर्काका बाट पर..... रहिरहन सकेनौं।
समयसँगै हामीले एकअर्कालाई अपनायौं। हामीसँग दूरी धेरै थिए। नदीका दुई किनाराझैं मलाई लाग्थ्यो हाम्रो मेल कहिल्यै हुनेछैन।
तिम्रो र मेरो जीवन दुई क्षितिजको यात्रा थियो। दुई क्षितिजको मिलन चाहेर पनि सम्भव थिएन। न तिमी मलाई अपनाउन तयार थियौ, न म तिम्लाई। मलाई सधैं लाग्थ्यो तिम्रो उपलब्धि केबल एक क्षणिक भ्रम हो। संसार तिमीले सोचेझैं सपाट छैन। बाँच्नको लागि विश्वासको आवश्यकता छ।
तर तिमी मानव शरीरमा यति लिप्त थियौ कि तिमी मृत शरीरमा पनि रासयनिक मिश्रण मात्र भेट्थ्यौ ।
तिमीलाई सधैं लाग्थ्यो म विश्वासको नाममा भ्रम फैलाउँछु। मेरो सोचाइ केवल एक नशाको तालमा बोलिएको बकबकझैं हो। म चाहेर पनि तिमीझैं परिर्वतनशील बन्न सक्दिनँ।
तिमीले सधैं परिवर्तनमा विश्वास गर्यौं र तिमीलाई सधैं लागिरह्यो म तिमीझैं छैन। तिमी र मबीच सोचाइका बेमेलहरू धेरै छन्। तिमीले चाहेर पनि मलाई आफूझैं बनाउन सक्दैनौ। थाहा छैन हामी किन दुईविपरित ध्रुवझैं भयौं। चाहेको भए हाम्रो मेल हुन पनि सक्थ्यो कि! तर सधैं लाग्यो त्यो सम्भव छैन।
एक दिन अचानक तिमीलाई भेटेकी थिएँ। तिमी क्यामराका लामा लेन्सहरू लिएर पशुपति मन्दिर नजिकैको आर्यघाटमा आफ्नै लयमा मस्त थियौ।
म त धर्म कमाउन गएकी थिएँ। तिमी ती मृत शरीरका अन्तिम अस्तुहरूलाई नियाल्दै फोटो खिच्दै थियौ। मलाई तिमी अनौठो लाग्यो मृत देहको खरानीमा किन तिमी त्यतिधेरै जिज्ञासु छौ।
म त मृत्युलाई सत्यको एक अंश त मान्थें तर मृत शरीरको जैविक प्रक्रियामाथि मलाई न कुनै चासो थियो न कुनै जिज्ञासा। तथापि तिमीबारे सोच्न बाध्य भएँ। कसरी तिमी मृत्युबारे यति सरल भैदियौ? त्यो नै तिमीलाई बुझ्न चाहने पहिलो कारण थियो।
त्यस दिन यता तिमीझैं म पनि सदा पशुपति जान थालेँ। सायद म तिमीबारे जिज्ञासु थिएँ त्यसैले। तिमी लगातार तिम्रा लेन्सहरूमा व्यस्त रहन्थ्यौ। म सधैं तिमीमा। मलाई भिडले कहिल्यै लोभ्याएन। तिमी त्यो भिड थिएनौ। तिमी त समुन्द्रको एक छेउ सुस्ताइरहने टापुझैं थियौ। थाहा छ पानीको बीचमा सम्बन्धका रेखाहरू खोज्न सहज छैन। तथापि एक लहडीझैं मैले ती सब गरेँ।
तिमीले मलाई पहिलो पटक धर्मको नाममा एकोहोरो विश्वास बोक्ने एक लहडीको उपमा दिएका थियौ। त्यस बखत मलाई लाग्यो लहडी त तिमी हौ। मरेर गएकाको खरानीको फोटो खिच्नेलाई लहडीबाहेक अरू केही भन्न सकिँदैन। तिमीलाई लाग्थ्यो तिमी जे गर्दैछौ त्यसले मानव विज्ञानलाई केही दिनेछ। मलाई त्यो तिम्रो लहडी यात्रामात्र लाग्थ्यो।
तिमी र मबीच धर्म र विज्ञानको नपुरिने खाडल थियो। तिम्रो लागि मन्दिर केबल एक मूर्ति राख्ने घर थियो। मेरो लागि सम्पूर्ण संसार। मलाई आज पनि अचम्म लाग्छ एक नास्तिकसँग म कसरी जोडिन पुगेँ। मृत शरीरसँगको तिम्रो सम्बन्ध विज्ञानको आधारमा अडिएको एक प्राज्ञिक यात्रा थियो।
मेरो लागि विश्वासको एक अन्तिम बिम्ब तथापि किन म तिमीसँग नजिकिन चाहेँ म अचम्मित छु। मलाई थाहा छैन हाम्रो अस्तित्वको दुई ध्रुबलाई केले जोड्न पुग्यो। कसरी दुई असमानान्तर विचार बोकेका दुई मानव शरीरलाई लाग्न थाल्यो हामीबीच त्यति धेरै तात्विक भिन्नता छैन।
मलाई थाहा छ तिमीलाई अझै लाग्ला म को हुँ मैले त्यसबखत तिमीलाई मेरो नाम मिरा भनेकी थिएँ। हो म त्यही मिरा हुँ। जसलाई तिमीले पशुपतिका ती उराठ साँझमा भेटेका थियौ। तिमीसँग एकखाले उत्साह थियो। तिमी मृत देहबाट निस्केका धुमिल छायाहरूलाई सजिलै क्यामरामा कैद गर्थ्यौ। मरेर जानेहरूको खरानीलाई सजिलै बोटुल्थ्यौ। मलाई लाग्थ्यो ती तिम्रो कठोरता हो। तर यो होइन कि म तिम्रो कठोरताले पग्लेकी हुँ। आज पनि मलाई तिमी कठोर नै लाग्छ।
दुई युवा मन आकर्षित हुन त्यति कठिन हुन्छ भन्ने मलाई लाग्दैन। थाहा छैन त्यो कुनै युवायुवतीलाई एक अर्कालाई देखेपछि लाग्ने झिनो आकर्षण पो थियो कि!
थाहा छैन म आफैंलाई नकारेर होइन भन्न पनि सक्दिनँ। तर लगातार तिम्रा लेन्सहरूलाई हेर्नु मेरो दैनिकी बन्यो। मैले बिर्सन थालेँ तिमी त्यही व्यक्ति होै जसलाई धर्म र अफिम एकै हो भन्ने लाग्छ।
पशुपति घाट नजिकै मन्दिरमा टेकेको मैले तिमीलाई कहिल्यै भेटिनँ। तिमी त्यति अधार्मिक कसरी बन्यौ म अचम्मित छु।
तिम्रो लागि सायद म तिम्री आमाझैं एक आदिम मानव थिए। जसले विश्वासको नाममा आज पनि बिना प्रमाणका चिजहरू पत्याइदिन सक्छ। एक दिन तिमीले भनेका थियौ, ‘थाहा छ मिरा मलाई किनकिन लाग्छ मेरी आमा र तिमीमा उमेरको मात्र भिन्नता छ। तिमी कसरी मेरी आमाझैं भयौ’।
मैले अचानक भनेकी थिएँ, ‘सायद तिम्रो उपस्थितिले, सायद तिम्रो सोचाइले, तिमीले चाह्यौ भने मलाई अझै भिन्न मान्न पनि सक्छौ।’
सायद त्यो दिन मैले भनेको तिम्ले बुझेनौ वा बुझ्न खोजेनौ। तिमी चुपचाप फेरि आफ्नो क्यामरामा नै मस्त हुन थाल्यौ।
करिब पन्ध्र साँझ हामी दुवैले पशुपतिका छाटहरूमा बितायौं। त्यो मेरो लागि जीवनका अति सुन्दर साँझहरू थिए। थाहा छैन तिम्रा लागि के थिए। तिमी सधैं भन्थ्यौ अबको केही दिनमा तिमी मलाई यहाँ पाउने छैनौ। मलाई लाग्थ्यो तिमी ठट्टा गर्दैछौ तर त्यो होइन रहेछ। एक दिन अचानक तिमी ती साझँहरूबाट.... एकाएक हरायौ।
मलाई लाग्थ्यो अन्तिम दिन तिमीले मलाई यो अन्तिम दिन हो भनेर भन्नेछौ। तर.... तिमीले कैद गरेका खरानीका कणहरूझैं.... तिमी एकाएक हरायौ। मलाई तिमी हराएकोभन्दा पनि नभनी गएकोमा गुनासो छ।
एक साँझ तिमीले मलाई भनेका थियौ, ‘तिमी र ममा खोज्दै जाँदा बेमेलहरू मात्र भेटिन्छ र पनि किन किन म तिम्रो उपस्थितिमा रमाउन थालेको छु। यो मेरो यस्तो पहिलो अनुभूति हो।’
पन्ध्र दिनमा तिमीले र मैल धर्म र विज्ञान तर्कहरू गरेनौ।
तिम्रो र मेरो सम्बन्धमा विचार र विश्वासहरू हाबी भैदिएको भए हामी दुवैसँग कटुतामात्र बाँकी रहने थियो।
आजकल किनकिन लाग्छ हामीसँग भिन्नताहरु थिए तर हामी भिन्न थिएनौं। सायद तिमीले जान्छु नभनी जानुको कारण त्यही थियो।
तिमीलाई लाग्यो हामीबीच भिन्नतामात्र छ। सायद ठिकै गर्यौ। तर किनकिन तिमीसँग राम्रो बहिर्गमनको म कल्पना गर्दथें।
तिमीलाई भन्न अरू केही छैन। नभनी जानेहरूको नाममा यो मेरो पहिलो डिजिटल पत्र हो। थाहा छैन यो पत्र तिमीले पढ्छौ वा पढ्दैनौ। पढिहाल्यौ भने बुझ्नु यो एक आस्थिकले नास्तिकको लागि लेखेको पहिलो मायालु पत्र हो।
संस्कृति
इमेलले अनौठो चस्का दिएको छ। यो त्यस्तो डिजिटल चिठी हो जसको पर्खाइ मलाई वर्षौंदेखि थियो। र पनि म खुसी छैन। मिराबाट यस्तो सुन्दर इमेलको कल्पना मैले कहिल्यै गरेको थिइनँ।
पशुपति आर्यघाटका ती पन्ध्र दिनहरू मेरा लागि सुन्दर दिनहरू थिए। उसले सोचेझैं मेरो लागि पनि मृत्यु त्यति सहज चिज पक्कै होइन।
एक विज्ञानको विद्यार्थीको हिसाबले यो मेरो काम हो। म मेरो कामप्रति इमानदार छु। मैले वर्षौंवर्ष विभिन्न घाटहरूमा बिताएँ तर कोही युवतीसँग नजिकिन पुगिनँ। ऊ त्यस्तो पहिलो युवती हो जसलाई मैले घाटमा भेटेँ। सायद म उसको सामिप्यता मन पराउँथें। तर हामी बीचका भेदहरू जसलाई मलाई लाग्छ हामीले कहिल्यै मेट्न सक्नेछैनौं।
उसले सोचेझैं, मलाई हामी बीचका भिन्नताहरूले पिरोल्यो र मैले सम्बन्धलाई त्यही अन्त्य गर्न चाहेँ। एक अपरिचितकै रूपमा। सायद त्यो मेरो गल्ती थियो वा मान्छेको रूपमा मेरो एक कमजोरी।
म कमजोरी भरिपूर्ण छु...उसले सोचेझैं सपाट छैन। उसको लागि मैले अर्को पत्र लेख्नुपर्ने भएको छ तर विज्ञानले मलाई यति कठोर बनाएको छ सायद लेख्दै गर्दा पनि म उसको आस्थामाथि कुठाराघात गर्नेछु।