बा दिवसले हरेक वर्ष उसलाई उसका बाको सम्झना आउँछ।
हुनत, बा सम्झन कुनै दिवस त चाहिने होइन, कुनै पर्व पनि आउनुपर्ने होइन, तर पर्व र विशेष दिनले भने उसलाई बाको सम्झना बहुतै आउँछ। करिब ५ वर्षको थियो ऊ। उसका बा दमले बिते। अहिलेजस्तो उपचार गर्ने ठाउँ भएको भए बा बित्दैन थिए पनि होलान्, उसलाई अहिले लाग्छ।
ऊ हरेक अप्ठ्यारोमा बाको तस्बिर सम्झिन्छ, कुनै दिन त बाले काँधमा हात राखेर नरोन कान्छा म छु नि भने हुनेजस्तो उसलाई हरेक पटक लाग्छ। कामबाट थाकेर आएको बेला, कुनै अप्ठ्यारो परिस्थितिमा बाले आएर उसलाई सुझाव दिए पनि हुने, खुसी र दु:खमा आएर थुमथुमाए पनि हुने उसलाई अझै लाग्छ।
ऊ कहिलेकाहीँ एक्लै बसेर धुरूधुरू रून्छ। कहिलेकाहीँ बाको तस्बिर हेरेर उसलाई प्रेरणा मिलेकोजस्तो पनि लाग्छ। कहिलेकाहीँ ऊ जीवनबाट हार मानेकोजस्तो गर्छ, अनि कहिलेकाहीँ उसलाई तिनै बाको तस्बिरले ऊर्जा दिएको जस्तोको लाग्छ अनि ऊ फेरि काममा फर्किन्छ नयाँ जोश, जाँगर र ऊर्जाका साथ।
हुन त, वर्षौंदेखि भित्तामा टाँसिएको उसको बाको तस्बिर प्रष्ट भने छैन। लामो कालो जुँगा फोटोमा प्रष्टै देखिन्छ, तर अनुहार पूरै धुमिल छ, कुहिरोले छेकेको घामजस्तो। उसलाई बाको फोटो समेत प्रष्ट नभएकोमा साह्रै चित्त दुख्छ। उसले सानोमा एकपटक आमालाई सोधेको पनि थियो, यो भित्तामा राखेको फोटो कसको हो? यस्तो फोटोवाला बा होइन, मलाई त रामेको जस्तै माया गर्ने, काँधमा बोकेर गाउँ डुलाउने, हरेक दसैंमा सहर गएर कपडा किनिदिने बा चाहियो। यो फोटोको बाले त मलाई माया गरेनन् आमा। आमा त्यत्तिबेला अवाक् भइन्, उनी के बोलून्? उनीसँग दु:खमा समुन्द्र थिए, तर उनी समुन्द्रजस्तै शान्त बसिदिन्थिन्, मानौं उनलाई बा मरेर केही असर नै परेन। उनलाई ६ वटा सन्तान एक्लै हुर्काउनु थियो।
तर, उसलाई बाल्यकालमा बुवाले काँधमा बोकेर गाउँ घुमाएको भने याद आउँछ। बाको काँधमा चढेर गाउँ घुम्दाको यादले उसलाई भित्रभित्रै डस्छ, अहिले पनि बा हुन्थेँ भने। ऊ फेरि टोलाउँछ।
कहिलेकाहीँ उसको सपनामा पनि आउँछन् बा। तर, फोटोमा जस्तै धुमिल बा होइनन्, उनी देख्दै वीर पराक्रमीजस्ता देखिन्छन्। गोलो आकृतिको अनुहार, अग्ला मान्छे, शानका साथ ढाँटिएर हिँड्छन्। हो तिनै बा सानोमा पनि सपनामा आएका थिए।
अहिले पनि आउँछन्। उसलाई ढाडस दिन्छन्। सानोमा उसलाई बोकेर कुदाउँथें। गाउँ घुमाउँथें। बन्दुक किन्दिन्थें। दसैंमा उसलाई नयाँ कपडा किन्दिन्थेँ, अनि ऊ पनि त्यही कपडा लगाएर गाउँ घुम्थ्यो, फुरूक्क पर्थ्यो, अरूलाई सोध्थ्यो मेरा बाले यस्ता कपडा किन्दिए, तेरो खोई? अचेल पनि उसको सपनामा बा आउँछन्। तर, अहिले फरक तरिकाले आउँछन्।
उनी अहिले ऊ जीवनबाट विचलित हुन खोज्दा, केही कुरामा ढाडस दिनुपर्दा, केही कुरामा खुसी हुँदा उसका बा सपनामा आउँछन् उसको काँधमा हात राखेर भन्छन्, कान्छा जीवन त संघर्ष गर्दै जिउनुपर्छ, हरेश नखा अघि बढ। उसलाई बाका यी शब्दले बहुतै आँट आउँछ, साहस बटुलिन्छ, फेरि ऊ जुर्मुराउँदै उठ्छ, अनि काममा लाग्छ।
उसलाई सानोमा पीडा त्यतिबेला हुन्थ्यो, जब ऊ आफ्ना बालाई भित्ताको तस्बिरमा मात्रै भेट्थ्यो। बाले निभाउने दायित्व, बाको अभिभावकत्व, बाले सुम्सुम्याएका उसका पाखुरा र बाका स्नेहिला हातको स्पर्श अनुभूति गर्न नपाएको ऊ धेरै दुखी हुन्छ। सानोमा सबैको घरमा बा बजार गएपछि दसैं आउँथ्यो। तर, उसले थाहा पाएपछि न उसका बा थिए, न बजार गए। आमाले बजार गएर नयाँ लुगा ल्याउने, मीठा खानेकुरा ल्याउने फुर्सद न पाइन् न उनीसँग पैसा नै थियो।
हो, त्यत्तिबेलैबाट ऊ बाको खुब खोजी गथ्र्यो। गाउँका रामे, हर्केका जस्तै बोकेर गाउँ डुलाउने बा खोज्थ्यो, तर उहिल्यै अलग बाटो रोजिसकेका बा कहिल्यै फर्केनन्।
ऊ आमाको मातृत्वमा हुर्कियो, आमाले सक्दो माया पनि दिइन्, मेलापात जाँदा अर्काले दिएको खाजा पोल्टामा राखेर खुवाइन् पनि। तर, उसलाई जति गर्दा पनि बाको अभाव भने खड्किरह्यो। कहिलेकाहीँ उसलाई तस्बिरमा देखेको जस्तै जुँगे मानिस देख्यो भने बा भन्दै दौराको फेरो समाएर कुद्न मन लाग्थ्यो। ऊ कतिपटक झुक्किएको पनि छ अपरिचित मान्छेसँग। उसलाई कोही बाजस्तो लाग्ने मान्छे झोला बोकेर उसको घरको उकालो बाटो आए पनि मरिसकेका बा पनि फर्केकीजस्तो लाग्थ्यो।
एकपटक उसले बा भनेर नचिनेको मानिसलाई सम्बोधन पनि गरेको छ। उसले नबुझ्दासम्म ऊ सबैका बा आउँछन्, हाम्रा बा किन आउँदैनन् आमा दसैंमा पनि? कति निष्ठुरी है हाम्रा बा भनेर आमालाई भन्थ्यो।
उसलाई कयौंपटक बाले आएर टाउको सुम्सुम्याएर, यो तेरो लागि लुगा, अब राम्ररी पढ है भने पनि हुनेजस्तै लाग्थ्यो। त्यही भएर ऊ रामेको घरमा जान्थ्यो। रामेलाई उसका बाले काखमा लिएको देख्दा बहुतै जलन हुन्थ्यो। रामेका बाले कहिलेकाहीँ उसलाई बजार घुमाउन लैजान्थे, एकपटक काठमाडौं लगेर सिनेमा पनि देखाएका थिए।
उसले एक महिनासम्म गाउँ फर्केर सिनेमा हेरेको कहानी सुनाउँदा पीडा र ईर्ष्याले उसको मुटु झण्डै बाहिर आएको थियो। उसका बा नहुनु उसको लागि मुटुमा बिझेको ठूलो काँडो थियो, जसले उसलाई क्षण क्षणमै पीडा दिन्थ्यो, झस्काउँथ्यो, दुख्थ्यो।
पटक/पटक ऊ सानोमा आफूलाई प्रश्न गर्थ्यो, मेरा बा मात्रै किन छैनन्? किन कुनै चाडपर्वमा पनि आउँदैनन्, किन मलाई आएर माया गर्दैनन्, मेरो छोरो भन्दै सुम्सुम्याउँदैनन्, कति निर्दयी होलान्, मेरा बा ? उसलाई सानोमा धेरै पटक लागेको छ।
सुदूरको एउटा गाउँमा जन्मिएको ऊ। विकट ठाउँ, गरिब परिवार, सानैमा बुवा गुमाएको उसलाई सानैबाट पारिवारिक दायित्व र बोझले थिच्यो। ऊभन्दा माथिका ५ वटा सन्तानलाई आमाले जेनतेन हुर्काइन्।
छोरो पाउने आशमा ऊ अन्तिम सन्तान छोराको रूपमा जन्मियो। उसैले सानैबाट मायाभन्दा बढी दायित्व र जिम्मेवारी बहन गर्नुपर्यो। आमाले सानैमा दिदीहरूलाई टीका लगाएर ज्वाइँको घर पठाइदिइन्। ऊ बुझ्ने हुँदा ऊ र आमामात्रै भए। दिदीहरू वर्षमा एक दुई पटकमात्रै आउँथे। अनि फेरि उसलाई बाकै याद आउँथ्यो।
बुढेसकालसम्म पनि बाले खोक्दै, खोक्दै उसलाई सल्लाह सुझाव दिए पनि हुने लाग्थ्यो। केही काम गलत गर्दा गाली र केही राम्रो गर्दा ताली बजाए पनि हुने लाग्थ्यो।
तर, बा कहिले पनि उसको साथमा भएनन्, त्यही धुमिल फोटो उसको साथमा भयो। ऊ बहुतै संघर्षपछि अहिले सफल बनेको छ। उसको साथमा भौतिक सुखसुविधा सबै छ। तर पनि उसलाई बाको याद आइरहन्छ।
छोराले यति धेरै प्रगति गर्दा बा कति खुसी हुन्थे होलान्, कतिलाई मेरो छोराले यस्तो प्रगति गर्यो भन्दै सुनाउँथे होला लागिरहन्छ। हुन त, उसकी आमाको योगदान पनि उसका लागि कम भने छैन।
पति वियोगमा परेकी उसकी आमाले हरेक दु:ख सहेर उसलाई खुसी दिने प्रयत्न गरिन्। अनेक कष्ट सहेर छोराछोरी हुर्काइन्, गरेर खान सक्ने बनाइन्। बाको समेत माया दिएर हुकाइन्। तर पनि, बाको अभाव आमाबाट मात्रै पूर्ति हुनै सकेन। उसले हरेक सजिला, अप्ठ्यारा र दायित्व बहन गर्नुपर्ने ठाउँमा बालाई सम्झियो। बा नहुँदा भोगेका अभाव, पीडा र समाजमा परेका अप्ठ्यारा सम्झियो।
अहिले ऊ पनि २ बच्चाको बा बनेको छ। आफूले छोराछोरीलाई माया गर्दा ऊ पनि आफ्नै बालाई सम्झिन्छ, विगत सम्झन्छ, दुईथोपा आँसु झार्छ। अनि दिवंगत बालाई सम्झिएर आकाशतिर फर्किदै भन्छ, बा तिमी अहिलेसम्म बाँचेको भए!