कविता
सुललित बालापन गइरहथ्यो पाठशाला!
सुमधुर स्वरमा गाइरहेथे कोइलीहरू!
सुरम्य छटा लिएर मुस्काइरहेथे फूलहरू!
सुगम लाग्थे जिन्दगीका उकाली-ओराली!
सुधामय लाग्थ्यो प्रत्येक थल-प्रत्येक पल!
मेरै खुसीमा खुसी मिसाएर बगिरहेथे नदीहरू!
मेरै सुसेलीमा साथ दिन्थ्यो सल्लेरीको बतास!
मेरै मनसँगै हाँसिदिन्थे आकाश र धरती!
मेरै गायनमा लय मिलाउँथ्यो बाँसुरी र
मेरै नृत्यमा चाल मिलाउँथ्यो मयूर!
ओ प्रिय वर!
म एक श्रमिक, पसिनामा नुहाउँथें हरेक दिन
ठ्याक्कै सूर्यसँगै थियो मेरो प्रस्थान र विश्राम!
मैले पाउने ज्यालामा मिल्थ्यो-
समुद्र मन्थनबाट निस्केको अमृतको स्वाद!
प्रियतमा र सानी छोरीसँग
मेरो खुसीको आयातन कुनै जलधीको भन्दा ज्यादा थियो!
तर, अचानक...अचानक ...
नानीबानुहरूका पखेंटा बन्द हुन पुगे,
कोइलीको गीत सुन्न कोही निस्कन पाएन,
फूलहरूलाई कसैले गरेन स्नेहसिंचित
बन्द भए बाटा अनि यात्राहरू
खण्डित हुनपुगे साँचेका मेरा सपना!
बिस्तारै छाउन थाल्यो भित्र बाहिर
केवल, निश्वास...निश्वास ...
बन्द गर्यो मालिकले-
मेरो पसिनाको मूल्यको भुक्तान!
घरधनीले दुगुना गर्यो ढोका ढकढकाउन!
बज्न छोड्यो सन्चो-बिसन्चो जान्न खोज्ने-
मोबाइल फोनको घन्टी!
छिमेकमा बस्ने सरकारी कारिन्दाले
सुनाइरह्यो कमाइका नविन किस्सा।
निष्प्राण थिए भोकमा जीवनहरू जतिबेला,
ओम्निको छहारीमुनि ओत लागेर मेरो समाजवादी सरकार
भूगोलको नक्सा मुद्रण गर्दैथियो।
अरिंगालहरू राष्ट्रवादको मन्चनमा थिए।
इकारसको उडानजस्तै
उन्मादको धरहरा अग्लिदै थियो!
श्रमलाई नै मेरो ईश्वर मानेको हुँ र
जीवनको धरोहर पनि।
ठेलागाडा सँगै गुडिरहेको
मेरो श्रम र जीवनमाथि
सरकारले नै पासा खेल्न थाले पछि हो-
मेरो आस्था डग्मगाएको !
तर, ओ प्रियवर!
आस्था डग्मगाएको मात्र हो,
म भाग्यमानी पिता हुँ -परीजस्ती छोरीको,
प्रत्येक गोधुलीमा छोरीको दिव्य मुस्कान पाउँछु र,
प्रत्येक प्रभातमा पुन: नवीकरण गर्छु-
मेरो अस्था, अस्तित्व र इन्द्रेणी आनन्दको।
संगालेर स-साना खुसीहरू
परास्त गर्छु युगले दिएका पीडाहरू!