प्रसूतिगृहमा डाक्टर कुरेर बसेका हामी नै अन्तिम जोडी थियौं। 'प्रिया उपाध्याय!' नर्सले बोलाइन्। म र प्रिया उनको पछि पछि डक्टरको परीक्षण कक्षमा छिर्यौं।
भर्खर तिसको उत्तरार्ध उमेर, श्याम वर्णकी युवा चिकित्सक प्राची श्रेष्ठ, निकै हँसिली, राम्री थिइन्। उनको ओपिडीमा पालो पाउनु पनि युद्ध जितेजस्तै हुने। किन नहोस्, प्राची पेसागत दक्षता सँगसँगै विनम्र महिला तथा प्रसूति रोग विशेषज्ञ थिइन्।
'ल ऊ त्यो बेडमा पल्टनुस् है,' मायालु पाराले भनिन्।
प्रिया बेडतिर गइन्। नर्सले हरियो पर्दाले बेडलाई घेरिदिइन्।
'बच्चाको पोजिसन, पाठेघरको मुख र योनीद्वार सामान्य नै देखिन्छ। तर यतिबेला बच्चा उल्टो बसेको छ। हुन त अझै दुई हप्ता बाँकी नै छ, फेरि बच्चा घुम्दै तल फर्कन्छ। अब ढुक्क भए हुन्छ, तपाईं सामान्य रुपमा बच्चा जन्माउन सक्नुहुन्छ। अब चाहिँ अलि फिजिकल एक्सरसाइज बढाउनु नि है। अहिले त केटोले राम्रो वेट गेन गरेको छ, लगभग चार केजि जन्मन्छ होला। ला, मैले त छोरो जन्मँदै छ भन्ने कुरा फुत्काएँ,' उनी हाँसिन्।
डाक्टर प्राचीको कुरा सुनेपछि मेरो मन केहीबेर शान्त भयो। लगभग आठ महिनादेखि मनमा गढेको एक तमास डर भागेर गयो। मन अलि हलुङ्गो भयो। प्रिया उठेर आइन्। उनको अनुहारमा पनि मेरोजस्तै खुसी र विजयको भाव प्रष्ट देखिन्थ्यो।
'विनोद दाइ, तपाईंहरू सही हुनुहुन्थ्यो। भाउजूमा त मलाई पनि नभएको विश्वास थियो। डर लागेको पनि थियो भाउजूले यो उमेरमा बच्चा बनाउने! ओहो, तर हेर्नुस् त सामान्य रुपमा कुनै जटिलताबिना आठ महिना पूरा गर्नुभयो।'
मैले के प्रतिक्रिया जनाउनु, विस्तारै हाँसें।
'लौ भाउजू, बधाई छ। मेरो फुच्चे भतिज दुई हप्तामा काखमा आउनेछ। आज त म लड्डु खुवाएर पठाउँछु।'
प्राचीले आफ्नो कार्यालय सहायकलाई लड्डु लिन पठाइन्। हामी मुखामुख गरेर एक अर्कासँग मौन गफ गरिरह्यौं। पुलकित बनिरह्यौं।
अघिल्लो वर्ष प्रिया र मेरो भेट एउटा कार्यक्रममा भएको थियो। उनी प्राध्यापन गर्थिन्, म चिकित्सक। नेपाल मेडिकल कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत महिलामा हुने पाठेघर सम्बन्धी क्यान्सर रोगको जनचेतना तथा निःशुल्क उपचार गर्ने कार्य गर्थ्यो। चेतना अभिवृद्धि कार्यक्रमक अन्तर्गत विद्यालय तथा विश्वविद्यालयका छात्राहरू केन्द्रित कार्यक्रम विशेष र प्रभावकारी थियो।
हाम्रो टोली छात्रा चेतनाको लागि प्रियाले अध्यापन गर्ने कलेज पनि पुगेको थियो। प्रिया कार्यक्रमको सहजकर्ता थिइन्। सहजकर्ता हुनाले प्रियासँग उठबस र बोलचाल अलि धेरै नै भयो। टोली प्रमुख भएको नाताले मेरो सानिध्यता अलि बढी नै थियो, भयो। तीन दिनको कार्यक्रमभरि प्रिया प्रायः हामीसँगै हुन्थिन्। उनी निकै सुन्दर थिइन्, उनको आचरण र बोली वचन अझ बढी सुन्दर थियो।
नम्र, सुस्त र तर्कसंगत मिठास बोली उनको सिग्नेचर विशेषता थिए। यस्तो लाग्थ्यो, कुनै पनि विशेष र महत्वपूर्ण कुरा प्रिया बिना पूरा हुँदैन। कुनै प्रमाण नै आवश्यक नपर्ने मत, उनी कलेजको मस्ट पपुलर र डिमाण्डिङ फ्याकल्टी थिइन्। कलेजका प्रायः सबैजना उनलाई दिदी भन्थे। दिदी भनेको सुन्दा मलाई अचम्म लागेको थियो। मेरो सोझो हिसाबी दिमागले लगाएको अनुमानमा उनको उमेर त्यस्तै तिसको हाराहारी हुनुपर्छ, निर्क्यौल गरेँ।
मनमा एउटा प्रश्न चाहिँ घुमिरहन्थ्यो, किन दिदी भनेका होलान्? निकै अनौठो लागेको थियो। उनी कार्यक्रमको सहजकर्ता अनि म टोली प्रमुख, परिस्थितिले हामीलाई फेबर गर्यो, उनीसँग म केही बढी निकट भएँ अनि नजिकबाट चिन्ने मौका पाएँ। हुन त कार्यक्रममा हामीँसंग व्यक्तिगत कुराकानी गर्ने समय र अवसर हुँदैन थियो तर पनि किन किन सामीप्यता रोमान्चक थियो। कलेजका विद्यार्थी, कर्मचारी तथा प्रशासनलाई हाम्रो कार्यक्रम निकै मन परेछ। कार्यक्रम राम्रो भएको प्रतिक्रिया पाउँदा हामी हर्षित थियौं।
'फेरि अर्को सेसन पनि गर्नुपर्छ कि?' समापन कार्यक्रममा कलेजका प्रिन्सिपलले कुरो कोट्याए तर यस विषयमा खासै अरु कुरा बढेन। समापन कार्यक्रमको केही दिनपछि सहजकर्ता प्रियामार्फत फेरि कलेज प्रशासनले रोग पहिचान तथा उपचारको कार्यक्रमका लागि औपचारिक अनुरोध गर्यो। 'मैले नै निर्णय गर्न त सक्दिनँ तर सहजीकरण गर्न सक्छु, पहिले मलाई मेरो कलेज प्रशासन र चिकित्सकको टिमसँग कुरा गर्न दिनुस् अनि बल्ल के हुन्छ निर्णय दिउँला' मैले आफ्नो कुरा प्रष्ट भनेँ।
समय र परिस्थिति अनुकूल भए पक्कै यहाँहरूलाई गुड न्युज दिउँला नि भनेर हामी बिदा भयौँ। त्यसैबीच समाचार आदानप्रदान सहज होस् भनि प्रिया र मेरोबीच एकअर्काको मोबाइल नम्बर पनि साटासाट भयो।
मेडिकल स्कुल फर्केपछि केही दिन क्लास, रिसर्च र प्राक्टिसले फुर्सद नै मिलेन। त्यसैबीच एउटा नयाँ क्यान्सरको बिरामीको गर्नु पर्ने शल्यक्रियाको सल्लाह गर्न मेडिकल र सर्जिकल टोली फेरि एकसाथ बस्यौँ। फुर्सदमा आगामी जनचेतना र निःशुल्क उपचार कार्यक्रमको पनि कुरा उठ्यो। मैले प्रिया र कलेज सम्झेर फेरि एक पटक रोमान्चकता अनुभव गरेँ। बिरामीको चाप कम भएको बेला छोटो सेसन तर धेरै ठाउँमा समानान्तर रुपमा चलाउने सहमति बन्यो। त्यस निर्णयपछि केही दिन उपचार र शल्यक्रियाको व्यस्ततामा बित्यो।
एक दिन मलाई आफन्ती भेटघाटको लागि प्रियाको कलेज नजिकै जानु पर्ने भयो। प्रियालाई सम्झेँ र फोन गरेँ, 'म यतै नजिकै छु, मिल्छ भने सँगै कफी पनि खाऔँ अनि आगामी सेसनको बारेमा पनि कुरा गरौँ न हुन्न?'
मेरो फोन उनले निकै चाँडो रेस्पोन्स गरिन्। हाम्रो भेट भयो। नजिकै काठमाडौँको परिचित र प्रख्यात हिमालयन जाभामा कफी पिउन गयौँ। मैले आगामी कार्यक्रम दुई दिनको हुने र म स्वयम् पनि आउने कुरा सुनाएँ। प्रियाको अनुहारमा खुसी सञ्चारित भएको प्रष्ट देखियो। हाम्रो भेटघाट र बोलचाल हुने बहाना थपियो। विस्तारै हामीबीच परिचय फराकिलो र गाढा बन्दै गयो। उनको र मेरो सामान्य परिचय विस्तारै प्रगाढ साथमा परिवर्तन भयो।
सामाजिक संजालमा हुने लामा लामा कुराकानी, फुर्सद हुने बित्तिकै भेट्ने, समय मिल्दा सँगै घुम्ने, एकअर्कालाई उपहार दिने कार्य गर्न थाल्यौँ। म पर्स नबोक्ने मान्छे, उनले दिएको उपहार नकार्न नसकी पर्स बोक्न थालेँ। प्रायः काठमाडौँको धुलोले हुने आँखाको एलर्जीलाई वास्ता नगरी उनको रातो स्कुटी पछाडि बसेर सहर अवलोकन गर्न मन पराउने भएँ।
प्रिया चालिस वर्षीय अनि म पैतालिस वर्षीय। दुवै अविवाहित, अचम्मको संयोग। मलाई किन किन लोभ पलायो। उनी सुन्दर त थिइन् नै त्योभन्दा बढी सुन्दर हाम्रो उमेर र परिपक्वता थियो। सेकेन्ड ट्वेन्टी आहाँ! त्यो पो निकै सुखद् संयोग थियो। म भित्रको पुरुष मन बहकियो, उनी राम्री लाग्न थालिन्। एक हिसाबले भन्नु पर्दा उनीसँग मेरो माया बस्यो। मेरो तर्फको प्रेम, तर अव्यक्त।
उनी अलि अन्तर्मुखी स्वभावकी, मैले जसरी खुलेर कुरा नगर्ने बानी। तैपनि उनको सहज र सरल व्यवहारले मलाई नजिकिन र उनलाई बुझ्न सजिलो बनायो। रमाइला पल र यात्राले हामीलाई निकै नाजिक्यायो अनि अभिन्न बनायो। हाम्रो उमेर नै प्रेम गर्ने कहाँ थियो र मैले सोझै विवाहको प्रस्ताब राखेँ। खै! मेरो प्रस्तावले उनलाई दोधारमा पारेछ कि क्या हो, तत्कालै केही उत्तर दिइनन्।
मैले गरेको विवाहको प्रस्तावपछि केही दिन हाम्रो सम्वाद बन्द भयो। आ-आफ्ना काममा व्यस्त हुनाले हो या मेरो प्रस्तावको असर खुट्याउन सकिनँ। मेरो मनमा चिसो चाहिँ थियो, कतै मैले गलत गरेर राम्रो साथी गुमाउन लागेँ कि। एकदिन अचानक मेरो फोनको घन्टी बज्यो। प्रियाले मेरो प्रस्तावमा स्वीकार जनाइन्।
दुई परिवारबीच संवाद भयो अनि हामी विवाहको तयारीमा लाग्यौं। कुनै औपचारिक कार्यक्रम बिना केही साथीसंगी र आफन्तको जमघटमा सामान्य वैवाहिक कार्यक्रम भयो। विवाहको केही समय त आनन्दी पल समेट्दै हामी उल्हादित रह्यौँ। प्रेमील साथको रस्वादनपूर्ण दिन बिते। विस्तारै व्यक्तिगत र व्यवहारिक कुराका उठान बढ्यो। धेरै कुराका साथै सन्तानका कुरा पनि उठे।
हामीलाई बच्चा बनाउने रहर त थियो तर प्रियाको उमेर बच्चा बनाउन सामान्य थिएन। हामीबीच धेरै छलफल भए। अहँ! प्रियालाई सम्झाउन सकिनँ। उनी जसरी पनि आमा बन्ने जिद गरिरहिन्। अन्ततः मैले प्रियालाई एक पटक मात्र प्रयास गर्ने सर्तमा झारेँ। हामी नयाँ तयारीमा लाग्यौं।
पहिलो पटक प्रसूतिगृहमा परीक्षण गर्न आउँदा डराएकी थिइन् डक्टर प्राची। चार दशक पार गरेकी प्रियालाई आमा बन्न लागेको देखेर/भेटेर उनलाई यति सहज र सामान्य हुन्छ भन्ने लागेको थिएन। 'तपाईं यो उमेरमा आमा बन्दा दुवैको ज्यान खतरा हुन्छ, अबोर्सन गरौँ। भो बरु बच्चा एडप्ट गर्नुस्,' प्राचीले सल्लाह दिँदा प्रियाले मान्दै मानिनन्।
प्राचीसँग पेसागत मात्र नभएर मेरो पारिवारिक सम्बन्ध पनि थियो। उनी मेरो साथीकी बहिनी पनि हुन्। हामी फरक चिकित्सकीय दक्षता र अस्पतालमा भए पनि एउटै प्रोफेसनमा हुनाले निकै नजिक पनि थियौँ। उनी मलाई सम्झाउँदै भन्थिन्, 'दाइ, तपाईं पनि त मेडिकल प्रोफेसनल हो सम्झाउनु नि भाउजूलाई।' तर के गर्नु, प्रियाको जिदको अगाडि हामी हारेका थियौँ।
अहिले चाहिँ हामीलाइ बल्ल विश्वास भयो। प्रिया ठिक थिइन्, हाम्रो बुझाइ गलत साबित भएको थियो। केही सामान्य भलाकुसारीपछि मिठाई आइपुग्यो, हामी मिठाइ खान थाल्यौँ।
'दाइ, मलाई पनि अन्कोलोजीमा फेलोशिप गर्न मन छ, के गरुँ?' त्यहीबीच प्राचीले आफ्ना इच्छा व्यक्त गरी।
'मलाई त योभन्दा खुसी के हुन सक्छ, एउटा यति राम्रो चिकित्सक हाम्रो डिपार्टमेन्टले पाउने भो, लौ यही सेसनमा अप्लाई गर है,' मैले झट्ट उत्तर फर्काएँ।
प्राची वास्तवमै निकै राम्रो चिकित्सक थिइन्। मलाई उनको इच्छाले नयाँ आश पलायो, किनकि मेरो विशेषज्ञता महिलाको पाठेघरमा हुने क्यान्सर सम्बन्धी हुनाले उनी निर्विकल्प मेरो टिममा हुने थिइन्।
'दाइ, तपाईंको त्यो पछिल्लो पाठेघरको क्यान्सर सम्बन्धी अनुसन्धान थियो नि, त्यो पेपरमा मैले एमडीको क्लासमा त्यही थिममा प्रोजेक्ट प्रेजेन्ट गरेकी थिएँ नि,' प्राचीले त्यही कुरा फेरि दोहोराई जुन कुरा अघिल्लो भेटमा पनि भनेकी थिइन्।
नेपाली समाजमा साँच्चीकै त्यो अनुसन्धानले ठूलो योगदान गरेको थियो। मैले त्यस बापत पुरस्कार, सम्मान र प्रशंसा निकै बटुलेको थिएँ। मिठाई खाँदै गर्दा केहीबेर प्रोफेसन र नयाँ मेडिकल रिसर्चका बारेमा भलाकुसारी गर्यौं। नक्कली चिकित्सकको इष्यु र यसले मेडिकल प्राक्टिस्नरलाई भएको सामाजिक, शैक्षिक र व्यवसायिक असर, प्रोफेसर गोविन्द केसीको अनसन र यसले चिकित्सासास्त्र अध्ययन तथा अस्पतालमा हुने विकास या विनाश, नयाँ मेडिकल इन्ट्रान्स, मेडिकल काउन्सिलको परीक्षाको कठिनता र नयाँ चिकित्सा नियमावली यसले चिकित्सकहरूको बीच ल्याएको ध्रुवीकरणका पक्ष-विपक्षमा अनेकन तर्क भए।
प्रियाको फरक प्रोफेसन अनि अलि अन्तरमुखी स्वभावकी हुनाले हामीलाई चुपचाप सुनिरहिन्।
'टेक केयर भाउजू, यु आर स्ट्रंग इनफ टू ह्याभ नर्मल डेलिभरी, आइ विश नट टु गो फर सिएस,' प्रियालाई प्राचीका शब्दले थप उर्जा दिएको उनको अनुहारमा आएको मन्द मुस्कुराहटले प्रस्ट देखाएको थियो।
'ल अब जतिबेला पनि व्यथा लाग्न सक्छ, गेट रेडी फर गूड न्युज। बरु भाउजू, अब अफिस बिदा लिनु नि। मैले त सुरुको महिनादेखि नै रेस्ट गर्नु भनेको थिएँ, मान्नु भएन। यु आर वुमन ह्याभिङ प्रसिस्टेन्ट एन पावरफुल विल, लेट मि सलुट यु अगेन।'
यसै त बाहुनीको लामो नाक, प्राचीको प्रशंसाले प्रियाको नाक अझै लामो भयो। मलाई उनको मनोभाव पढ्न मन लाग्यो, एकोहोरो चुपचाप अनुहार हेरिरहेँ। प्रियाले प्रतिक्रिया नजनाई लाजले ठाउको निहुराईन।
'थ्यांक यु' दुवैजनाले एक स्वरमा प्राचीलाई धन्यवाद दियौँ र घरतिर फर्कियौं।
घर फर्किँदा हामी दुईको उर्जा हेर्न लाएको थियो। जीवनमा यति धेरै खुसी कहिले पनि भइएको थिएन होला जति आज थियौं। केहीबेरको मौनतापछि चाँडै नै हाम्रो काख आउने छोराको अनुभूतिले रोमान्चक बन्दै गयौं।
धेरै दिनदेखि छोरोको नामको बारेमा हुने विवाद फेरि सुरु भयो। छोरोको नाम 'आदिभ्य' र 'आगल्भ' बीचको विवाद फेरि सुरु भयो। मलाई मन परेको नाम प्रियालाई नहुने अनि उनलाई मन पर्ने, नाम मलाई नहुने। विवादबीच अर्को नाम खोज्ने सहमति गर्ने कोसिस गरेको पनि हो, निरर्थक सम्भव भएन। न म पछि हटेँ न उनी हट्ने सुर गरिन्। विवादबीच त्यसै ठुस्सा ठुस्सी चलिरह्यो। आर्गुमेन्टको क्रम टुट्यो अनि सुत्न गयौं।
प्रिया अन्तर्मुखी अनि म छोटो रिसवाला। म स-सानो कुरामा रिसाउने। उनी चाहिनेभन्दा निकै कम बोल्ने। अह! सहमति हुने संकेत देखिएन। मलाई रिस उठ्यो, झर्केर असहमति देखाउन बेडको अर्को तिर फर्कें। अइया! ओहो! म खाटबाट खसेछु। चिच्याएँ। म त सपना पो देख्दै रैछु। सपनाको रंगिन संसारबाट अचानक ब्युँझिएँ अनि वास्तविकतामा ओर्लिएँ। खाटबाट खसेको आवाजले मेरी आमाको निद्रा छुटेछ। 'के भयो बाबु?' भन्दै सोध्न थाल्नु भयो।
विस्तारै उठेँ, सामान्य बन्न कोसिस गर्दै भनेँ, 'केही होइन। मेरो ल्यापटप बेलुकी यही बेड नजिकै थियो, खसेछ। त्यही खसेको आवाज हो।'
मिठो सपना देखेँ, सपनामा प्रतिक्रिया जनाउँदा खाटबाट तल खसेँ भनेर कसरी भन्नु? लाजले भन्ने साहस नै आएन। ओहो! कति मिठो सपना थियो। बीचमै निद्रा खुल्यो। सपना पूरा हुनै पाएन। फेरि निदाउन लाख कोसिस गरेँ। अहँ! सकिनँ। मनमा कुरा खेलिरह्यो।
मेरी कल्पनाकी प्रियासँग भेट होला? यो चार दशक पूरा गरेको चिकित्सकले अब सोचेजस्तै उमेर, अनुहार र आचरणको केटी भेट्ने, प्रेम अनुभूति गर्ने, प्रणय सुत्रमा बाँधिने, बच्चाको बाबु बन्ने सौभाग्य पाउँला? यस्तै यस्तै अप्ठेरा प्रश्नसहित मलाई सपनाले नयाँ आशा संचारित गरिदियो।
अनि म स्वप्नयात्री, गन्तव्य विहीन सपनाको हवाईयात्रामा निस्केँ।