जीवनको कालखण्डका
अस्पटतालाई बीचमै छोडेर
स्पष्टतामा जिउनु छ
असीमित खुसी र
हाँसोहरू
उद्वेलित भएर बगाउनु छ
मिठा रहरका असीम छालहरू
प्रवाहित गर्नुछ
अनि
पुरानो सार मेटाएर सृजना गर्नुछ
नवीनतम पाइलाको
नयाँ जिन्दगी।
वर्षातको भेलमा रुझेका
मेरा रहरहरू
निष्प्रभावी, उदेश्यविहीन र
निरर्थक यात्रालाई रोकी
खोज्नुछ
जिन्दगीका बेग्लै
आयामहरू।
कलमको टुप्पोले लेख्नुछ
मेरो स्वर्णिम पलहरू
विधाताको अक्षर मेटाइ
कोर्नुछ मिठो अनि
सुनौलो भविष्य।
समाजको बन्धन तोडेर
सुरुआत गर्नुछ
आफ्नै प्रथा
मनको मैलो हटाएर
छाप्नुछ उम्दा इतिहास
अनि सजाउनुछ सुन्दर
स्मृतिहरू।
क्षितिज पारिको त्यो
अग्लो पहाडमा
बसाउनुछ सुन्दर बस्ती
प्रेमिल बनाउनुछ हृदय
र
स्थापित गर्नुछ प्रेमको
नयाँ स्तम्भ।
छेक्नेहरूको पर्खाल भत्काउनुछ
पर्खनेहरूलाई चौतारी बनाउनुछ
दुखाउनेहरूलाई हीनताबोध गराउनुछ
दृश्यलाई हटाएर अदृश्यलाई चिन्नुछ
अनि
आत्मीय मान्छेलाई हृदय समर्पण गर्नुछ।
नवीन उर्जा भरेर शरीरमा
हरेक क्षण स्वप्निल बनाउनुछ
क्लेश, ईर्ष्या र रीतिलाई
छाडेर
एउटा महान संकल्प गर्नुछ
र
मलाई
नयाँ उमंग, उत्साहको साथ
तयार गर्नुछ एउटा
अद्भूत आधारशीला
जहाँबाट
रङ नै रङले भरिएर
नयाँ शिराबाट सुरु हुनेछ मेरो
नयाँ जिन्दगी!