म 'म' नै हुँ अनि तिमी 'तिमी' नै हौ
हाड छालाको यो नश्ल शरीरभित्र म
'म' नै हुनुको एउटा अस्तित्व छ, एउटा संसार छ
विचार छ, सिद्धान्त अनि आदर्श
जसरी तिमी चाहन्छौ, म तिमीलाई केवल तिम्रो नजरबाट हेरुँ
किनकि तिमी 'तिमी' नै हौ
जहाँ तिमीभित्र तिम्रा हरेक चिजले केवल तिमीलाई प्रतिबिम्बित गर्छ
हो, यहाँ म छु
त्यसैले यी संसारका व्यर्थ जालझेलमा मलाई नराख
पुरानो मूल्य मान्यताका आधारमा म हुनुलाई नकुल्चिराख
समाजको आडमा म हुनुलाई तिमी
तिमीतिर नपार
थाह त छ?
एउटा भ्रुणबाट म सम्मको स्तिथिमा आउँदा
एउटा युग फेरिन्छ
कयौं शरद अनि वसन्त ऋतुहरूले सुमसुमाएर हिँडेको हुन्छ
ती फरक हाँसो, रोदन त्यो मभित्रै नै हुन्छ
तिमीभन्दा विल्कुल फरक
सोच त, त्यो म
जसलाई तिमी 'तिमी'तिर ढाल्न खोज्दैछौ
त्यो म नै हराए
यो सुन्दर संसारमा म भित्रको अस्तित्व डगमगाए
म 'म' नै नरहे, बिलाए
के त्यो म नहुनुको अनुपस्थितिमा, तिमी 'तिमी' रहौला र?
तिमीलाई तिमी सम्बोधन गर्ने म रहुँला र?
त्यसैले तिमी बुझ, मनन गर अनि सोच
म 'म' नै हुँ अनि तिमी 'तिमी' नै हौ।