हिजो तिमी सानी हुँदा
आमा तीज आयो
मामल जाने न भन्दै
मेरो च्यातिएको पेटिकोट समातेर रोएको दिन
तिम्रो बाबाको आधा पैताला च्यातिएको जुत्ता टिपेर
बाबा मामल जाने न है भनेको दिन
सम्झन्छु छोरी तीज त त्यतिबेला पो थियो।
न त शरीर ढाक्ने लुगा नै हुन्थे
न त पैताला नबिझाउने जुत्ता नै थिए
तिमीलाई काँधमा बोकेर म पछि पछि
अनि पल्ला घरबाट पैचो मागेको माली गाईको दूध
रातभरि लगाएर पकाएको कुराउनी
ऊनी धागोले बुट्टै बुट्टा बनाएर सिलाएको झोलाभरि बोकेर
तिम्री आमा अघि अघि
मामल जाँदा पो
तीज तीजजस्तै हुन्थ्यो छोरी
तिम्रा बाबाले काँधमा बोकेर ल्याएकी सानी तिमीलाई
मेरी नातिनी कति ठूली भइछ भनेर
तिम्रा हजुरबुबाले
मेरो त वास्तै नगर्दा पनि
अनि तिम्री हजुरआमाले
सावाको भन्दा ब्याजकै माया बढी लाग्छ है भन्दा पनि
म खुसी र हर्षले भित्रभित्रै रोएकी हुन्थे
तिम्रा बाबा पनि खुसीले गद्गद हुन्थे
त्यो दिन साँच्चै रमाइलो हुन्थ्यो
अनि पो तीज तीजजस्तै हुन्थ्यो छोरी
न त फोन नै थियो ऊ बेला
कुवाघरे साल्दाजुलाई
नास्पाति बेच्न बजार गएको दिन भेटेर
तीजमा माइत जा अरे भन्दिनु है भनेकै भरमा
सासू-ससुरालाई खुसी पारेर
तिम्रा बाबालाई घण्टौं रोएर मनाएकी म
रातमाटेको ओरालोमा ठेस लागेर लड्दा
पिडौलामा ढुङ्गाले दर्फराएको घाउ
बुढीऔँला फुटेर रगतै रगत भएको खुट्टा
घण्टौं हिँडेर थकित भएको शरीर
तिमीलाई काखमा बोकेर बुबाआमा खुसी भएको देख्दा
सबै पीडाहरू फिक्का लाग्थे मलाई
मैले बोलाउँदा पनि हजुरआमासँगै टाँसिएर
आँगोको झिल्काले दुलै दुला भएको मजेत्रोले
मुख छोपेर तिमी लुकेको दिन
सम्झन्छु छोरी त्यो तीज पो तीजजस्तै हुन्थ्यो।
तर छोरी
आज तिमी ठूली भएकी छौ
तिम्रा हजुरबाले अंशमा दिएको माली गाई
अनि तिम्रा बाबाले थरी बासँग
वर्षेनी धान बुझाउने सर्तमा ऋण लिएर
मेरो विवाहमा बनाइदिएको
चारआनाको तिलहरि बेचेर
तिमीलाई कन्यादान दिन पाउँदा
हामीले संसार जितेका थियौं
बाबूआमाको कर्तव्य पूरा गरेकोमा
अनगिन्ती हर्षका आँसु बगाएका थियौं
अब त तीजमा हामी तिम्रो मामल जानेभन्दा पनि
तिमीलाई बाटैभरि हेरिरने आशमा
धेरै वर्षहरू बिते छोरी
सम्झन्छौं अब त तीज पनि तीज जस्तै रहेन।
बिहे गरेको वर्ष जब तिमी माइत आयौ
हामीले न त मिठो खान दिन सक्यौं
न त तिमीलाई बिदाइ गर्दा
भनेजस्तो उपहार दिन सक्यौं
तैपनि माया र ममता त दिएकै थियौं छोरी
तर आज
हाम्रो नाति पनि ठूलो भइसक्यो अरे
कुराउनीभन्दा पनि आइसक्रिम खान्छु भन्छ अरे
गाईको दूध गनाउँछ अरे
गाडीकै दूध मिठो मान्छ अरे
मामल भनेको चरा हो कि कुखुरा भन्छ अरे
हजुरबा भनेको त घरका बा मात्र चिन्छ अरे
हजुरआमा पनि हुन्छन् र भन्छ रे
छोरी,
तिम्रा छोराले तीज भनेको
डान्सबारमा नाच्नु मात्र जान्दछ रे
मासु र ह्विस्कीमा लठ्ठ परेर
छोरासँगै तिमी पनि तीज मनाउँदै छौ भनेको सुन्दा
तिमीलाई अन्माउँदा आएका आँसुलाई धिक्कार्दै
हामी पनि तीज सम्झिरहेका छौं छोरी
तर यो तीज तीजजस्तै रहेन।
डाँडाघरे अन्तरेले यो सबै नसुनाएको भए
तिम्रा श्रीमान् र ससुराले
माइत जान दिएनछन् भनेर
तिमीलाई सम्झँदै दर खाँदै हुन्थ्यौं होला
तिम्री सासूले अकालमा ज्यान नगुमाएको भए
तिम्रा छोराले पनि मामल देख्थ्यो होला
नाति आउँछ भनेर तिम्रा बाले
सप्तमीबाट किनेर ल्याएको सफारी शूट
अब त सजाउन मात्र मिल्छ छोरी
एउटा मखमलको बर्की किनेर तिमीलाई
पर्खिएको पनि वर्षौं भइसक्यो
खोला बढेर तर्न सकिनँ बुबा भनेको सुन्ने
अब त यी कानले पनि सक्दैनन् होला
अहिले त घरमा मुडुली गाईले पनि धेरै दूध दिन्छ
कुँडेभरि ढकने पकाएर तिम्रै बाटो हेर्दै
भोलि पञ्चमीको व्रत बस्ने आशमा
तीज त मनायौं छोरी
तर यो तीज तीजजस्तै रहेन छोरी
जब तिमीले महंगा गहना
अनि घुडा च्यातिएका पाइन्ट लगाएर
कहिले आधा शरीर देखाएर
अनि मिठो खाना र ह्विस्कीहरू
सिसाका ग्लासमा उम्लिएको फिजसँगै चस गरिरहँदा
खिर र ढकने बिर्सिएर बिरयानी र बर्गरसँगै
आलु र तामाको तरकारीभन्दा
धराने कालो बंगुरको सेकुवा खाँदै
तीजका गीतहरूभन्दा पनि
मुन्नी आई तेरे लिए भन्दै उफ्रिरहँदा
कता कता तीज तीजजस्तै लाग्दैन छोरी