हो साथी
आज पनि म चुपचाप लेखिरहनेछु
तिमी क्रान्तिका कुरा गर
विकासका
जातीय भेदभाव उन्मुलनका
थिचाइका, पेलाइका
सुख, शान्ति, समृद्धिका कुरा गर
अनि भर्याङ बनाइ हामीलाई
माथि पुग्ने काम गर
तैपनि साथी
म चुपचाप लेखिरहनेछु।
पल्लाघरे माइला दाइले
आफ्नो पसिनाको मोल खोज्दा
तल्लाघरे साइली दिदीले
आफ्नो सहिद छोराको सपनाको कुरा गर्दा
ती कैयौं सपूतहरूले
आफ्नो रगतको मोल खोज्दा
तिमी सत्ताको हालिमुहालीमा रमेर
तिनै जनताहरूलाई
दुःखको आहालमै
आँसुको धारामै डुबाऊ
तैपनि साथी म चुपचाप लेखिरहनेछु
हो साथी
म लेख्नेछु
म लेखिरहनेछु
पहाडका कन्दराहरूमा गुन्जने
ती चेलिका मनै निचोर्ने चित्कारहरू
आत्मसम्मानका खोजिमा रहेका
दोर्जे दाइका ती निहुँरिएका शीरहरू
आफ्नै खेतमा अन्न फलाई
साहुहरूको चङ्गोलबाट फुत्किने साइला दाइको रहरहरू
हो साथी
सब लेख्नेछु
हो त्यो युगको कुरा लेख्नेछु
जब माइला दाइ आफ्नो भाग्यको रेखा आफै कोर्नेछन्
साइली दिदी आफ्नो सहिद छोराको सपना पूरा भएको देख्नेछिन्
सहिदका रगतका मोल मिल्नेछ
सबैले आफ्नो आफ्नो गाथा आफै लेख्नेछन्
तब म लेख्नेछु
जनताको विजयको कथा
जनताको सफलताको कथा
जनताको आफ्नै कथा
हो, साथी म लेखिरहनेछु।