प्रिय कोरोना, तिमी प्रत्येक वर्ष रुप रङ्ग बदल्दै आफ्नो वंश विस्तार गर्दै आयौ। जब हाम्रो आँगनमा आयौ सबैभन्दा दुःख त तिमीले हामीलाई नै दियौ, डर, त्रास, धम्की जुन हामी सेतो कोटमै सजिएका स्वास्थकर्मी थियौँ।
तिमीले दिएको सास्तीलाई सहर्ष स्वीकार गर्दै कति जना जितमा उत्साह हुँदै थिए भने कति तिम्रो लडाइँ मैदानमा पल्टिएर छट्पटाई रहेका त कति कहिल्यै नफर्किने गरी मुडा सरी पल्टिएका थिए। न कसैले उठाउने साहस नै गरे न छुने।
तिमीले दिएको दुःख पीडाबाट चिच्याहट भैरहेका बेला रुवाइ सुन्ने कोही साथी थिएन। त्यस बेला तिम्रा सिपाहीले हार स्वीकार गर्दै मानिसहरू जितको खुसीमा रमाउँदै थिए। मानिसहरू तिमीले दिएको दुःखकष्टलाई बिर्संदै जीवनलाई आफ्नै लयमा फर्काउँदै थिए।
कति छिट्टै तिमीले चौथो वंशको पनि जन्म दिएछौ। बिरामीको उपचारकै क्रममा कति बेला तिम्रो वंशले तेस्रो पटक मेरो शरीरको सामीप्यतामा बास बसी अड्डा जमाइसकेछ पत्तै पाइनँ।
विगतमा जस्तो नभई यस पटक भने तिमीसँगको लडाइँमा मानसिक स्वास्थ्यमा भन्दा शारीरिक कष्ट बढी भई उपचारको लागि काठमाडौंको एक अस्पतालमा पुगेँ। बेडमा लडिरहेको मलाई उपचार गर्न सेतो कोटमा सजिएकी एकजना नर्सको आगमन भयो।
नर्सले औषधि लगाई मेरो हातमा सलाइनको डोरी झुन्डाएर अर्को बिरामी तर्फ लागिन्। सुनेको थिएँ नर्सले दिएको औषधि, बोली व्यवहार, स्पर्षले रोग छिट्टै निको हुन्छ। नभन्दै मलाई पनि आरामको महसुस भयो। औषधिको प्रभावले हो वा नर्सको व्यवहारले!
मेरो रगतको नसामा बगिरहेको सलाइनका आँसुजस्तै थोपाहरू हेर्दै थिएँ। मेरो नजर म नजिकको बेडमा लडिरहेको बुबातिर लम्कियो। प्रकृतिले दिएको अक्सिजनको अभावमा छटपटिरहनु भएको बुबालाई नाकमा पाइपको सहयताले कृतिम अक्सिजन जोडिएको थियो। यताउता सबै बेडहरू भरिएका थिए। एक बेडमा दुई जना बिरामी पनि देख्न सकिन्थ्यो। बिरामीको चाप तीव्र थियो।
अस्पतालमा डेङ्गु, कोरोना, दम, ज्वरोजस्ता थुप्रै रोगको घर देख्न सकिन्थ्यो। यत्तिकै एक हुल सेतो कोटमा सजिएर आएका नर्स र डाक्टर सहितको टोली त्यही बुबाको नजिक पुग्यो। उहाँलाई केही गाह्रो भएछ कि कसो, पत्तो पाइनँ। मेरो आँखा भने उही पहिलेकी नर्सकै खोजिमा थियो।
साह्रै राम्री, सानीसानी चिटिक्क परेकी। चन्द्रमा पनि दाग हुन्छ भन्थे तर मैले उसमा कुनै कुरा कमी भेटिनँ। व्यवहारसँगै बोली पनि कति मिठो, आहा! सुनिरहुँ जस्तै। मनमा उनीसँग धेरै कुरा गरुँ, बोलुँबोलुँ। नाम, थर, ठेगाना सोधुँ भन्दै अनेकौं खुल्दुली मनमा खेलिरहन्थे तर भन्न र कुरा गर्न मसँग कुनै माध्यम नै थिएन।
नर्सले झुक्किएर मात्र म तिर हेर्ने गर्थिन्। म तिर हेर्दा मलाई नै हेरेजस्तै लाग्थ्यो। हामी दुईको आँखा जुध्दा बिजुली बलेजस्तै लाग्थ्यो। तर बिजुली भने चौबिस घन्टामा मुस्किलले चौबिस सेकेन्ड मात्र बल्थ्यो। आँखाले छुँदा त बिजुली बल्छ भने मन मुटुले छुँदा के होला? कल्पना गर्दा पनि म अर्कै संसारमा पुग्थेँ जुन संसार यति सुन्दर थियो कि त्यस्तो संसार आजसम्म मैले देखेकै थिएनँ।
जिन्दगीमा आएका कठिन चुनौती पनि सहजै पार गरिदिउँ जस्तै लाग्थ्यो। होइन, अस्पतालको बेडमा लडिरहनुको पीडा निकै भयानक र कठिन हुँदो रहेछ।
जब उनै नर्सले मायालु स्वरले 'चिन्ता नलिनुस् म छु, हामी छौं नि हजुरसँगै हजुरका लागी' भनिरहँदा म आफैँले आफूलाई नियाल्छु। फेरि सेतो कोटलाई नियाल्छु। बत्तीजस्तै बलेको उनको मुहारलाई नियाल्छु। अनि यो मन भन्छ, वास्तवमा सेतो कोट नै मेरो जीवन हो, मनको धेरै खास प्रिय साथी हो।
आफ्नो सारा पीडा र दुःखलाई बिर्सेर बिरामीलाई सधैँ आफ्नोपनको आभास दिने ती नर्सको सेतो कोटभित्र लुकेर रहेको पीडालाई शब्दमा वर्णन गरेर सक्दिनँ। नर्स भनेपछि मानिसहरूको बुझाइ फरक फरक पाइन्छ। सबै नर्स एउटै प्रकृतिका हुँदैनन्। केही नर्सका कारण आज नर्स पेसा र सेतो कोटमा पनि दाग देखाउन पछि हट्र्दैन मानिसहरू।
नर्सका आँखा भरिएर पोखिन नपाएको आँसु र मन भरिएर निस्किन नसकेको बोलीको मूल्य कस्ले बुझ्थ्यो र? केही दिनको अस्पताल बसाइमा नर्सको पेसाप्रतिको जिम्मेवारी, बोली, व्यवहार, रहनसहन, सुख दुःख, भेषभूषा धेरै कुरा बुझ्न मलाई कुनै कठिन भएन। अस्पतालको बसाइको बेलामा उनीसँग बसेर मभित्र उनी र सेतो कोटप्रति आएका भावनाका शब्दहरू बहकिने मन थियो। तर कति छिट्टै नै निको भएछ पत्तै पाइनँ।
सेतो कोट र नर्समा बिरामी निको बनाउने जादु हुन्छ भन्थे यही रहेछ। डाक्टरले लेखिदिएको डिस्चार्ज लेटर मेरो हातमा पर्दै थियो। यतिका दिन बोल्न नसकेको म अन्तिम बिदाइको घडीमा के बोल्न सक्थेँ र? म शब्दमा आज सबै कुरा बयान गर्न सक्दिनँ, उनले मेरा आँखामा हेरेर शब्द र मनोभाव बुझ्न सकिनन्। यही त हाम्रो कमजोरी थियो।
प्रश्न नबुझी लेखिएको उत्तर अनि मान्छेको सोच विचार नगरी बोलिएका शब्द जस्तै भए पनि म समयको भूमरीले कुनै दिन ती नर्ससँग सम्वाद गर्ने कुनै माध्यम बनी भेट हुने मौका मिल्यो भने चिया गफसँगै धित मरुन्जेल मनोभाव व्यक्त गर्ने अभिलाषा बोकी एक बिरामी निको भई घरतर्फ लागेँ। साथै न्यून पारिश्रमिकमा परिवारको जिम्मेवारी र आफ्ना खुसीलाई पन्छाई रातदिन निद्राको प्यासी भई बिरामीको सेवामा लाग्ने हरेक सेतो कोटहरूप्रति मेरो उच्च सम्मान छ।