प्रिय मायालु,
म टिकटक हेर्दै थिएँ, अचानक तिम्रो भिडिओ आयो- 'मैले माया पाइनँ' भनेर ग्वाँग्वाँ रूँदै हालेकी रहिछौ। यसैयसै मन खुम्चिएर आयो। खै, मैले त सक्दो माया गरेकै छु जस्तो लाग्छ। तिमीसम्म पुग्दा परिस्थितिले हो वा अपरिपक्वताले हो, त्यो मायामा के अवरोध आउँछ, म बुझ्न सक्दिनँ।
निकैबेर सोचेँ। हाम्रो सम्बन्धमा यस्तो वैमनस्यता नबढोस् भन्ने भित्री चाहना छ। त्यसैले आज पहिलो पटक तिमीलाई म मेरो हविगत बताउने चेष्टा गर्दैछु।
तिम्रो र मेरो कति झगडा परेको, सोच्दै छक्क पर्छु। हैन मैले के चाहिँ त्यस्तो गल्ती गरेँ, भनेर म धेरै घोत्लिन्छु तर निष्कर्षमा पुग्दिनँ। अनि एकछिनमा सबै बिर्सन्छु। मेरो बिर्सने बानी घातक छ। तिम्रो बर्थ डे बिर्सिएको थिएँ एकपटक। ज्वालामुखीजस्ता राताराता आँखाले तिमीले मलाई निलुँला जसरी गाली गरेको चाहिँ कहिल्यै बिर्सन्न।
मलाई कसैको बर्थ डे याद हुँदैन, न कसैको एनिभर्सरी। तिमी जसरी १२-१२ बजेसम्म जागेर १० वटा फोटो हाल्दै, १२ हात लामो ‘विस’ लेख्न पनि म जान्दिनँ।
मलाई त्यस्तो केही गर्न आउँदैन, मन पनि लाग्दैन। तर मैले बिर्सिएँ भनेर तिमी साह्रै दुखी भयौ।
तिमी 'शेरलोक होल्मस' नै रहिछेउ, म हात जोड्छु। हरेक ससाना कुरा याद हुन्छ तिमीलाई। कुन दिन, कुन बार, गर्दागर्दै घडी, पला, नक्षत्र सबै मुखाग्र हुन्छन्। त्यस्ता ससाना कुरा याद गर्ने तिम्रो विराट मस्तिष्क हो, म सलाम गर्छु। मलाई भने त्यस्ता ससाना 'डिटेल्स' निरर्थक लाग्छन्।
तिम्रो भावनालाई ठेस पुर्याउने मेरो केही चाहना होइन। फोनमा रिमाइन्डर राखेर भए पनि म हरेक कुरा सम्झने जमर्को गर्दैछु।
तिमी र म फरक छौं। धेरै फरक छौं। बुद्धिमता, परिपक्वता, यिनीहरूमा मभन्दा अगाडि नै छौ होला। तर हामी प्राकृतिक रूपमा निकै फरक छौं।
हामीले सोच्ने, बोल्ने, काम गर्ने ढंग फरक छ। सायद यो नबुझेरै पो हो कि, चोकचोकमा गल्लीगल्लीमा तिमीजसरी धेरै मायालुहरू मजस्ता साथीहरूसँग रूष्ट छन्।
अस्ति अफिसबाट फर्किंदै थिएँ। फुटपाथमा पुस्तकहरू बेच्न राखेको थियो। झट्ट आँखा एउटा किताबमा पर्यो जोन ग्रेको, 'मेन आर फ्रम मार्स, वोमेन आर फ्रम भिनस', अर्थात् पुरूष मंगल ग्रहबाट र स्त्री शुक्र ग्रहबाट आएका हुन्।
मैले दुई पटक यो किताब पढें अनि अलिकति बुझे जस्तो आभास भयो। किन तिमी यति विक्षिप्त छौ।
एकपटक तिमी कस्ती छौ आफैं मूल्याङ्कन गर। असाध्यै माया गर्छौ तर असाध्यै सोच्छौ पनि। म सोझो किसिमले एउटा कुरो सोच्छु तिमी घुमाउरो पारामा त्यही कुरा मनन गर्छौ।
म पटक-पटक सोध्छु , ‘के भयो तिमीलाई ?’
तिमी बनावटी मुस्कान देखाएर ‘केही भको छैन’ भन्दै टार्छौ।
म पटकपटक सोध्छु, 'किन रिसाको? नरिसाऊ न'।
‘छैन रिसाको’, भन्दै तिमी झनझन रिसाउँछौ।
हेर, म लप्पनछप्पन जान्दिनँ। मलाई समस्या समाधान गरेर फाइदा हुन्छजस्तो लाग्छ, तिमीलाई समस्या केलाएर। सबैचोटि यस्तो नहुन पनि सक्ला। अपवाद छैन म भन्दिनँ। तर तिमी र मैले विश्वलाई हेर्ने दृष्टिकोण नै फरक रहेछ। तिमी मभन्दा धेरै संवेदनशील छौ। सानासाना कुराले मन दुख्छ तिम्रो।
त्यो म बुझ्ने कोसिस गर्दैछु।
अस्तिको एउटा घटना सम्झन्छु। म बाटोमा थिएँ तिमीले फोन गर्यौ।
'कता छौ'?
मैले सिधा उत्तर दिएँ, 'म साथीहरूसँग फुटसल खेल्न जाँदैछु'।
तिमी यसै आक्रोशित भयौ।
'जहिले फुटसल,जहिले फुटसल, केही काम छैन अरू तिम्रो' ?
कटक्क मन दुख्यो। मैले झगडा गरिनँ।
'पछि कुरा गरौंला है, म कल गर्छु'।
मैले दिनभर फुटसल खेलेँ। साथीहरूसँग रमाएँ।
घर पुग्दा थाकेर लखतरान भएको थिएँ। यसो सिरानीमा टाउको के राखेको थिएँ,भुसुक्कै निदाएछु। तिमीलाई कल गर्न बिर्सिएँ।
बिहान उठ्दा १५ मिस कल, म्यासेन्जरमा महाकाव्य नै थियो। म पनि उस्तै त हो, सर्सर्ति पढें 'ए रिसाइछे ' बुझेँ। तिमीलाई फकाउनतिर लागेँ।
त्यहाँ त्यो म्यासेजमा तिमीले आफूलाई साह्रै चित्त नबुझेका हप्तौं देखिका दु:ख पोखेकी रहिछौ। मैले जानिनँ, बुझिनँ। अस्ति नै केही भाको छैन,भन्दै दबाएका आँसु,यी शव्दमा पोखिएछन्। म के जान्दो हुँ र!
अनि मलाई लाग्यो समस्या सम्बन्धमा होइन संचारमा छ। तिमीले र मैले व्यक्त गर्ने, बोल्ने, बुझ्ने तरिका मै भिन्नता रहेछ। जोन ग्रेको किताब पढ्दै गएँ। मेरा समस्या त मजस्ता अधिकांश साथीका रहेछन्। अनि सोचें, यसको समाधान त खोज्नै पर्छ।
प्राकृतिक र मनोवैज्ञानिक हिसाबले नै हामी फरक छौं।
धेरै समय अघिको कुरो तिमीलाई याद पक्कै होला। तिमी ओडारभित्र बस्दा म भाला, चक्कु लिएर कन्दमुल जुटाउन बाहिर निस्कन्थें। जंगली जनावरसँग कुस्ती खेल्नु पर्थ्यो, कहिले अर्को मान्छेसँगै सिँगौरी खेल्थें। मेरो आदि यस्तो छ। मेरो अस्तित्व भन्नु नै स्वाधीनमा बसेर, आफ्नो जिम्मेवारी आफैं लिएर समस्या समाधान गर्नुमा छ। मैले यो गर्न नसक्दा जीवन नै सार्थक छैन जस्तो लाग्छ। यो प्रवृत्ति अहिलेसम्म पनि छुटेको छैन।
त्यसैले हत्तपत्त दु:ख पोख्न आउँदैन। पहिले आफैं पो हल निस्किन्छ कि भनेर म कैयौं समस्याका शिकारमा एक्लै निस्किरहन्छु।
तिमी दिनभरका गुनासाको पोको बेलुकी खोल्छौ। फलानोले यो गर्यो, ढिस्कानोले त्यो गर्यो।
म सुन्छु तर वास्तविक भाला लिएर नै जुध्नुपर्ने जस्तो समस्या देख्दिनँ। कहिलेकाहीँ समाधान भएका समस्या सुनाउँछौ।
'मलाई मेरी साथीले चित्त दुखाई'।
म भन्छु,'त्यस्तो हैन,तिमी बढी सोचिराकी छौ,त्यस्तो नसोच'।
तिमी चर्किन्छौ,'हो हो मेरै गल्ती हो। सबै जना ठिक।'
मैले त केवल समाधान दिन खोजेको थिएँ। तिमीले समस्या सुनाउँदा, समाधान नै त खोजेकी हौली जस्तो लाग्छ अनि सुझाव दिन हौसिन्छु। त्यस्तो होइन रहेछ।
तिमीले गनगन गर्नु त तिम्रो ‘कोपिङ मेकानिजम’ रहेछ।
तिमीले गुनासो गर्दा मन हल्का हुँदो रहेछ। केही सुझाव, टीका टिप्पणी नदिइकन, सुनिदिरहने कान खोजेकी रहिछौ। टाउको भारी हुँदा भार बिसाउने काँध खोजेकी रहिछौ। मैले बल्ल बुझेँ।
अर्को पालि गन्थन गर्दा म टाउको हल्लाउँदै, 'ये, अह्, तेसो पो, हैठ' भन्दै ज्ञानी भर सुन्ने प्रयास गर्छु है?
म भने तनावसँग भिन्नै किसिमले जुध्छु। आफ्नो समस्या आफैं समाधान गरौंजस्तो लाग्छ। नमागिकन सुझाव स्वीकार्न हत्तपत्त मन लाग्दैन।
जोन ग्रेको भाषामा बेला-बेला मलाई आफ्नो गुफा छिर्नै पर्छ। यो गुफामा बसेर म आफ्नो परिस्थितिसँग सम्झौता गर्न सिक्छु, या समस्या न्यूनीकरणका बाटो खोज्छु वा समस्या नै बिर्सन खोज्छु।
मेरो गुफामा म तिमीजस्तै सिरक ओडेर, 'अनुभ जैन' को गीत सुन्दै रोएर बस्दिनँ।
म चिन्ताबाट पर भाग्न बरू भिडिओ गेम खेल्छु, फुटबल हेर्छु, क्रिकेट हेर्छु। यो गुफामा एक्लै बस्न म रूचाउँछु। केही क्षण एक्लै बस्दा, मैले तिम्रो माया बिर्सिएको पनि हैन, तिमीलाई छाड्न लागेको पनि हैन।
मजस्ता साथीहरू एउटा रबर व्यान्डजस्ता हुन्छौ अरे। नजिक आएपछि रबर जसरी पछि पनि हट्नै पर्छ। पछि नगए नजिक फेरि आउन सकिँदैन।
केही समय यसरी पछि हटेर आफ्नो गुफामा बस्दा तिमी आफूमा ध्यान केन्द्रित गर्नु। तनाव तिम्रो कारणले मात्र हुँदैन। संसार तिमीप्रति मात्र छुद्र छ जस्तो तिमीलाई लाग्छ तर मेरो आफ्नो समस्या कम छैनन्।
सामाजिक वायेरिङ गरिएको छ। म बज्र जस्तो बलियो हुनुपर्छ। म कमजोर, शिथिल, असह्य भएँ भने यो समाजलाई अपाच्य छ। पारिवारिक जिम्मेवारीको भार नचाहे पनि मेरै पोल्टामा पर्ने गर्छ।
मैले रूने कराउने, विचलित हुने लाइसेन्स धेरै ठाउँमा पाउँदिनँ। कहिले पढाइको तनाव हुन्छ, कहिले काम को, कहिले यसै जिन्दगीबाट विरक्त लाग्छ।
तिमीले जसरी इन्स्टाग्राममा दु:खका स्टोरी राख्दै बस्दिनँ भन्दैमा म दुखी नहुने हैन।
मेरो पनि चित्त दुख्छ, मलाई पनि माया चाहिन्छ। नसन्किकन मेरो कुरा बुझ्ने प्रयास गर न है।
प्रतिस्पर्धा गर्न नचाहे पनि म सधैं वरपरका साथीहरूसँग आफूलाई दाँज्छु। अरूले ठूलो प्रगति गरिराख्दा आफू जहीँ को तहीँ पो पर्ने हो कि भन्ने ठूलो पीर परिरहन्छ।
तिम्रो आफ्नै सपना छन्, मेरो आफ्नै। मलाई धेरै कुराको तनाव हुन्छ , तिमीलाई एउटै कुराले धेरै तनाव हुन्छ।
तिमी कोरियन ड्रामा, निकोलास स्पार्क्सका नोभल,रोमान्टिक फिल्म हेर्दै त्यसको हरेक पात्रमा मलाई खोज्छौ। तिमीले खोजेको माया स-साना थोकमा पनि हुँदोरहेछ। म यथार्थवादी छु धेरै पटक, यो सबै जानेको छुइनँ। सिक्ने प्रयास गर्छु। तर मायालु, कोरियन फिल्मका पात्र जसरी माया नगरे पनि, म माया गर्छु तिमीलाई याद राख्नु।
तिमीले भनेको याद छ,'घर आउँदा बाहिरको तनाव गेटमै छोडेर आऊ'।
मैले जानीनजानी मेरा अन्य तनाव तिमीमाथि पोख्दो रहेछु। त्यो पनि म बुझ्दैछु।
तिम्रो सदाबहार गुनासो हो, 'तिमी पहिले जस्तो रहेनौ, तिमी बदलिएको छौ।'
हुन पनि म बदलिएँ होला। जुन परिवेश वा परिस्थितिमा तिमीसँग पहिलोपल्ट भेटेँ त्यही अवस्था अहिले नहुन सक्छ। उही ऊर्जा, उही चमक नहुन सक्छ। तिमी दुखी हुनु पनि स्वाभाविक नै छ।
तर मैले कोहीसँग गफ गरे, तिमी उग्रचण्डी हुँदै हरेक सामाजिक सञ्जालबाट उसको जन्म कुण्डली निकालेर 'स्टक' गर्नु स्वाभाविक होइन प्रिय।
तिमीले विश्वास गर्न सिक्नुपर्छ। म बुझ्छु, विगतका कैयौं घाउ होलान्। मेरो सानो व्यवहारले पाप्रा उकिएर छरछरती रगत बग्दो हो। अन्जानमा म बुझ्दिनँ, कि अतितका खतहरूले नै वर्तमानमा तिमी पिल्सिने गर्छौ। भविष्यको डरले तिमी राति निदाउन सक्दिनौ।
म बिर्सन्छु, तिमी बारम्बार याद राख्छौ। मलाई हिजोको झगडा आज नलम्ब्याउँ जस्तो लाग्छ, तिमीलाई त्यसैले सताइरहन्छ।
म बल्ल बुझ्दैछु, हामी फरक ग्रहका प्राणी हौं। हाम्रो भावनात्मक भाषा नै फरक छ। तर फरक ग्रहबाट आए पनि हामीले पृथ्वीमा घरसंसार बनाइसक्यौं। न तिमी म बिना बाँच्न सक्छौ, न म तिमीबिना। हामी एकअर्कालाई बुझ्ने प्रयास गरौं है।
तनाव व्यवस्थापन गर्न नसकेरै मैले धुँवाको सहारा लिएको हुँ।
तिमी ढोकैमा राहत दिन उभिए पनि मैले रक्सीलाई अँगालेको हुँ। म बुझ्दै छु, कमजोर हुनु कमजोरी होइन।
तिम्रा कुरा धर्यतापूर्वक सुन्न सके आधा समस्याको समाधान हुने रहेछ। म जमर्को गर्दैछु।
तिमी धेरै आत्तिने नगर। समयसँगै ममा परिपक्वता आउँदै छ। हाँसोमजाकमा कुरा टार्ने बानी छ। बिर्सने बानी छ। साथीहरूसँग हाँस्दाहाँस्दै फोन गर्न बिर्सन्छु। तिमीलाई बिर्सिएको होइन। दुःख लाग्दा गीतका लिरिक्स आफ्नै जीन्दगी ठानेर रूँदै, एक्लै पिल्सिँदै नबस्नु। तिमी फलानो राशीको त हौ, यस्तै त गर्ने हो नि भन्दै ज्योतिषशास्त्र नपढ्नु। समस्यासँगै समाधान गर्ने प्रयास गरौं। जीवनको यात्रा धेरै लामो छ, तिम्रो र मेरो साथ अपरिहार्य छ।
- उही तिम्रो प्रेमी