प्राचीन तिलौराकोट राजदरबारदेखि उत्तरपूर्वी भेगमा जगदीशपुर ताल थियो। तालभित्र विभिन्न प्रजातिका जलचरहरू एकआपसमा मिलेर बसेका थिए। ती जलचरहरू माछा, कछुवा, भ्यागुता, गङ्गटा, घुँगी र पानी सर्प थिए। जलचरहरूमध्ये कछुवा सबैभन्दा बुढा र माछाका भुराहरू साना उमेरका थिए।
कछुवा साह्रै नै बुद्धिमान थियो। तालमा आइपर्ने सबै समस्याको हल प्रायः कछुवाबाट नै निकालिन्थ्यो। कछुवाले आफ्नो बुद्धि विवेकको प्रयोग जलचरहरूको हकहितको निम्ति गर्थ्यो। एकदिन माछा र माछी तालमा आहारा खोज्दै थिए। स-साना भुराहरू अघिपछि गर्दै थिए। परिवारका सबै सदस्य खुसी देखिन्थे। एकअर्काको सामीप्यतामा रमाएका थिए। माछा र माछीबीच तालझैं गहिरो प्रेम थियो। अभिभावक र भुराहरूबीच गज्जबको माया थियो।
यो सुन्दर परिवारमा अकस्मात् एक अकल्पनीय घटना घट्यो। तालभित्र माझीले जाल फिँजायो। जाल बाहिर झिक्दा जालमा ठूलो माछा फस्यो। पहिलो प्रयासमै ठूलो माछा देखेर माझीले भन्यो। 'ओहो! कत्रो ठूला माछा फस्यो। वर्षौंपछि, आज साँझ घरमा भोज चल्ने भयो।'
माझीले सावधानीपूर्वक डालीमा माछा राख्यो। प्रसन्न हुँदै घर फर्कियो। प्रफुल्लित मुद्रामा श्रीमती र दुई छोरीहरूलाई माछा देखायो। माछामा नजर पर्दा नानीहरूले एकै स्वरमा भने 'ओहो! कत्रो ठूलो माछो।'
'यो त अझै जीवित रहेछ,' श्रीमतीले भनिन्।
साँझपख माछालाई काट्ने तरर्खर भयो। माछा साह्रै ठूलो थियो। जिउँदो माछा काट्न माझीलाई अप्ठ्यारो लाग्यो। उसले माछालाई दुई पटक ठूलो ढुङ्गामा बजार्यो। असह्य पीडाले माछा रन्थनियो। तेस्रो पटक पुनः माछालाई ढुङ्गामाथि बजारियो। अब माछाले हलचल हुन बन्द गर्यो। लामो श्वास लियो। त्यसपछि निष्प्राण भयो।
'माछा मर्यो, माछा मर्यो' नानीहरूले ताली पिट्दै भने।
अब माझीले माछालाई सहजै काट्न पायो। माछा क्षणभरमै थुप्रै टुक्रामा परिणत भयो। ठूलो माछाको परिकारसँगै माझी परिवारमा उल्लास छायो। साँझ परिवारका सबै सदस्य माछाको स्वादमा रमाए।
खानपिनपछि माझीले श्रीमतीलाई अर्को दिनको योजना सुनायो, 'म भोलि पनि त्यही तालमा जाल फिँजाउन जान्छु। त्यहाँ प्रशस्तै माछा पाइने सम्भावना छ। किनकि त्यहाँ वर्षौंदेखि कसैको जाल परेको छैन।'
यता माझी परिवारका सबै सदस्यहरू गफैगफमा निदाउँदै थिए। उता तालभित्र अशान्त थियो। माछी रुँदै स्वयम्सगँ प्रश्न गरी, 'आज अचानक यो के भयो? उहाँ तालबाट कहाँ बिलाउनु भयो?'
भुराहरूले पनि आमालाई प्रश्न गरे, 'आमा, बाबा खोइ? बाबा कहाँ हुनुहुन्छ? बाबा कहिले घर फर्किनु हुन्छ?'
भुराहरूका प्रश्नले माछी निःशब्द भई। गला अवरुद्ध भयो। आँखाबाट टिलपिल टिलपिल आँसु बग्यो। धेरै बेरसम्म आफ्ना र सन्तानका पेचिला प्रश्नका उत्तर खोजिन् तर अनुत्तरित भईन्।
'यी अनुत्तरित प्रश्नका उत्तर कहाँ पाइएला?' पुनः स्वयम्सगँ प्रश्न गरिन्।
कहाँ जाने? के गर्ने? अलमलमा परिन्। अन्ततः तालकै जलचरहरूमध्ये सबैभन्दा बुद्धिमान जलचर कछुवालाई भेट्ने निधो गरिन्। कछुवाको दैलोमा पुग्दा, सबैजसो जलचरहरू त्यहाँ जम्मा भइसकेका थिए। ताल भित्रको महत्वपूर्ण सदस्यलाई अचानक गुमाउनुपर्दा जलचरहरूमा अत्यासलाग्दो निराशा छाएको थियो।
माछीले रुँदै कछुवालाई सोधिन्, 'हजुर, मेरो श्रीमान् तालबाट कहाँ हराउनुभयो? उहाँबिना घरआँगन निरस भएको छ। जीवन अधुरो अपूरो भएको छ। म एक्ली भएकी छु। भुराहरू अनाथ, असहायझैँ भएका छन्।'
माछीको मार्मिक कुरा सुनेर कछुवाको मन भारी भयो। आफ्नो छेउमा बसेका भ्यागुताहरू तिर हेर्दै प्रश्न गर्यो, 'हे भ्यागुता हो, तिमीहरू वर्षौंदेखि यस तालभित्र र बाहिर दुवै स्थानमा बस्छौ। आज ताल बाहिर कसैलाई देखेका थियौ?'
एक जोडी भ्यागुताले एकै स्वरमा जवाफ दिए, 'हामी दुवैले तालबाहिर माझी र उसको जाल देखेका थियौँ। माझीले तालभित्र एकपटक जाल हानेको थियो। जालको आवाज सुनेर हामी बेस्सरी तर्सियौं। डरले दुवै जना काप्न लाग्यौं। ज्यान जोगाउन हतारमा दुलोभित्र छिर्यौं। त्यसपछि बाहिरी खबरबाट बेखबर भयौँ।'
'माझीले तालभित्र जाल हानेको मैले पनि देखेको थिएँ,' सर्पले थप्यो।
कछुवाले भ्यागुता र सर्पका कुरा ध्यानपूर्वक सुन्यो। त्यसपछि माछीतिर हेर्दै भन्यो, 'तालबाहिर माझी देखिनु, तालभित्र जाल हान्नु र ताल भित्रबाट तिम्रो श्रीमान हराउनु। यी तीन घटनाहरू अवश्य पनि एकआपसमा जोडिएकै हुनुपर्छ। तिम्रो श्रीमान् माझीको जालमा परेजस्तो छ। त्यसैले तिम्रो श्रीमान् अब उपरान्त तालमा फकिर्ने सम्भावना निकै कम छ।'
कछुवाको कुरा सुन्नासाथ माछी मुर्छित भई। निराश मुद्रामा आफ्नो बासस्थान फर्किई। भुराहरू आमाकै पछि-पछि लागे। माछा, कछुवा, भ्यागुता, गङ्गटा, घुँगी र पानी सर्प सबै आ-आफ्ना बासस्थानतिर लागे। अर्को दिन पनि माझी त्यही तालमा आइपुग्यो। पहिलो र दोस्रो प्रयासमा खास्सै उपलब्धि भएन। तर तेस्रो प्रयासमा ठुलै उपलब्धि हासिल गर्यो। उसले माछीलाई जालमा फसायो। माछी जालमा पर्नासाथ माझी हर्षित भयो। माझी खुसीले गद्गद् भयो।
उसले माछीलाई डालीमा हाल्यो। खुसी हुँदै घर फर्कियो। घरका जहान र दुई छोरीलाई माछा देखायो। परिवारमा खुसी छायो। माझीले माछीलाई तीन पटक ढुङ्गामा बजार्यो। माछी क्षणभरमै निष्प्राण भई। माछीलाई टाउकोदेखि पुच्छरसम्म टुक्राटुक्रा बनाई काटियो। माझीले माछाका टुक्रा गन्न थाल्यो-
'एक...दुई...तीन...चार...पाँच...दश...बीस...बाइस...चौबीस। कस्तो संजोग हो! हिजो पनि चौबीस, आज पनि चौबीस। न एक टुक्रा कम, न एक टुक्रा बढी, ठ्याक्कै चौबीस।'
श्रीमतीले साँझ माछाको नयाँ परिकार बनाइन्। परिवारका सबै सदस्यहरू माछाको रसमा रमाए। खानपिनपछि सुत्ने बेलामा माझीले श्रीमतीलाई भन्यो, 'प्यारी, मलाई हिजो र आज पुगेको ताल निकै फाप्यो। म भोलि पनि उही तालमा जान्छु है!'
माझीलाई हौस्याउँदै श्रीमतीले भनिन्, 'भैहाल्छ नि, हजुर। त्यहाँ त अन्तभन्दा, ठूल्ठूला माछा पाइने रहेछ। जहाँ ताल त्यहाँ माछा, जहाँ माछा त्यहीँ माझी भन्छन्।'
हिजो माछा, आज माछीको ज्यान गयो। भुराहरू दुई दिनमै अनाथ भए। ताल भित्रका सबै जलचरहरू यो घटनाले दुखी र निराश भए। तालमा माझीको आगमनले जलचरको जीवन सङ्कटग्रस्त बन्यो। यस सङ्कटको घडीमा तालका सबै जलचरहरू कछुवाको आँगनमा जम्मा भए। यो अकल्पनीय सङ्कटबाट मुक्ति पाउन कछुवाको जुक्ति खोजेँ।
'भोलि हामीमाथि पनि माछा र माछीझैँ सङ्कट आउने त होइन?' गङ्गटाले कछुवालाई सोध्यो।
'कछुवा बा, हामीमाथि ठूलो सङ्कट आइपर्यो। ताल भित्रका सबै जलचरहरूको अस्तित्व सङ्कटमा पर्न थाल्यो। हामी माझीबाट असुरक्षित भयौँ। हामीलाई यस सङ्कटको घडीमा भरपर्दो सल्लाह सुझाव दिनुहोस्। हामी तालभित्र सुरक्षित बासस्थान चाहन्छौँ,' घुँगीले भन्यो।
सय वर्ष पुरानो कछुवाले यसअघि यस्तो विपदका घटना कहिले सुन्न परेको थिएन। 'ताल भित्रको गम्भीर समस्याको हल कसरी गर्ने होला?' केही क्षण सोचमग्न भयो।
सम्पूर्ण जलचरहरूलाई एकसाथ सम्बोधन गर्दै कछुवाले भन्यो, 'प्रिय जलचर भाइबहिनीहरू, आज तपार्इंहरू मेरो आँगनमा किन आउनुभएको हो? मलाई राम्ररी थाहा छ। हाम्रो समस्याको मूल जरो, माझी हो। ऊ हिजो र आजजस्तै भोलि पनि हाम्रो तालमा आउन सक्छ। तपार्इं हामीहरूमध्ये कसैलाई पनि सजिलै शिकार बनाउन सक्छ। यस्तो विषम् परिस्थितिमा सम्पूर्ण जलचरहरू एकताको सुत्रमा बाँधिनुपर्छ। एकअर्कालाई सहयोग गर्नुपर्छ। माझीलाई तालबाट धपाउन साझा प्रयास गर्नुपर्छ।'
भ्यागुता अधैर्य हुँदै कछुवालाई भन्यो, 'म तालको सुरक्षाको निम्ति जस्तोसुकै सहयोग गर्न तयार छु। तालबाट शत्रुलाई धपाउन आतुर छु।'
भ्यागुताको भनाइ सुनेपछि कछुवाले माछा, गङ्गटा, घुँगी र पानी सर्पतिर नजर घुमायो। माझीलाई धपाउने नौलो जुक्ति सुनायो, 'प्रिय जलचर भाइबहिनीहरू, मसँग माझीलाई धपाउने एउटा योजना छ। यो योजना सफल बनाउन, हामी सबैले आ-आफ्ना जिम्मेवारी पूरा गर्नुपर्छ। के तपाईंहरू आ-आफ्ना जिम्मेवारी पूरा गर्न राजी हुनुहुन्छ?'
भ्यागुता, गङ्गटा, घुँगी र पानी सर्पले स्वरमा स्वरमा मिलाउँदै भने, 'हामी आ-आफ्ना जिम्मेवारी पूरा गर्न राजी छौँ। हाम्रा जिम्मेवारी के-के हुन्? झट्टै भन्नुहोस्।'
जलचरका अभूतपूर्व एकता देखेर कछुवा खुसी भयो। जलचरमाझ माझीलाई धपाउने योजना सुनायो, 'प्रिय जलचर भाइबहिनीहरू, महाविपदको यस घडीमा तपाईंहरूको अभुतपूर्व एकता देखेर म निकै हर्षित छु। माझीलाई यहाँबाट खेद्ने हाम्रो महान् प्रतिरोधात्मक योजना यसप्रकार रहेको छ:-
१) भ्यागुतो र सर्प भोलि दिनभरि तालबाहिर बस्ने।
२) माझीलाई देख्नेबित्तिकै भ्यागुता तालभित्र पसेर सबैलाई माझी आएको सूचना दिने।
३) माझी आएको सूचना पाउनासाथ सम्पूर्ण जलचरहरू गङ्गटा र माछाको दुलोभित्र बस्ने।
४) माझीले पटक पटक जाल हान्दा जालमा केही नपरे ऊ निराश र हताश हुनेछ। ठिक त्यही समयमा विष नलाग्ने सर्पले माझीलाई डस्ने।
५) यो टोकाइले उसको ज्यान त जाने छैन। तर ऊ यति भयभित हुनेछ कि तालमा कदापि फर्केर आउने छैन।'
कछुवाको पाँच बुँदे योजना सुनेपछि सम्पूर्ण जलचरहरू आ-आफ्ना जिम्मेवारी बहन गर्ने प्रतिवद्धता गरे। जलचरहरूको रात्रिकालीन विशेष भेला यहीँ सकियो। जलचरहरूको भेला सकिनासाथ सबै आ-आफ्ना बासस्थानतर्फ लागे। बासस्थान फर्कने क्रममा सर्प र भ्यागुतो अत्यन्त हर्षित देखिए। हर्षित पनि किन नहोस् र? यी दुई जलचरहरूले अन्य जलचरहरूभन्दा विशेष जिम्मेवारी पाएका थिए।
तेस्रो दिन पूर्वयोजना अनुसार नै सर्प र भ्यागुता तालबाहिर निस्किए। माझी पनि तालमा झुल्कियो। माझीलाई देख्नासाथ भ्यागुताले तालमा डुबल्की मार्यो। सबै जलचरहरूलाई माझी आएको सूचना गरायो। यो सूचना सुन्नासाथ जलचरहरू गँगटा र माछाको दुलोभित्र लुके। कछुवा पनि सुरक्षित स्थानमा लुक्यो।
'आज पनि पहिलो प्रयासमै ठूलै माछा फस्छ कि?' माझीले अपेक्षा गर्यो। तालको माछा फसाउन माझीले जाल फिँजायो। पहिलो, दोस्रो, तेस्रो, चोथौ, पाँचौं, छेटौं, १० औं, २०औं हुँदै २३ औं पटकसम्म जालमा माछा परेन। २४औं प्रयासमा समेत हातमा लाग्यो शून्य। केही समय अघिको हर्षित मुद्रा, क्षणभरमै निराशामा परिणत भयो।
माझीको अनुहारमा हतास र थकान देखियो। ऊ अधैर्य हुँदै गयो। 'यति धेरै प्रयासमा पनि किन माछा नफसेको होला?' माझीले स्वयमसँग प्रश्न गर्यो। प्रश्नको चित्तबुझ्दो उत्तर नपाउँदै उसलाई सर्पले डस्यो।
माझीले सर्पलाई देख्यो तर प्रतिकार गर्न असमर्थ भयो। उसको खुट्टाबाट रगत बगिरहयो। सर्पको टोकाइले भयभित भयो। यस्तो परिस्थितिमा माझीले ज्यान जोगाउन मनासिव ठान्यो। ऊ सासै नफेरी घरतिर कुलेलम ठोक्यो।
'अब उपरान्त सर्पले डस्ने यस तालमा कहिल्यै फर्केर आउदिनँ,' माझीले भन्यो।
माझीले भनेको कुरा एक कान, दुई कान, मैदान हुँदै, तालभरि फैलियो। माझीको भनाइ सुनेर जलचरहरू खुसीले गद्गद् भए। कछुवाको कुशल योजना, भ्यागुता र सर्पको भरोसा योग्यसाथ र अन्य जलचरहरूका आज्ञाकारी स्वभावकै कारण माझीमाथि जलचरहरूको महान् विजय सम्भव भयो।