सँगैका साथीभाइका जोडी भए डाहा भयो
मलाई पनि तिमीसँग नजिकिने चाहा भयो
१०००/१५०० का पनि कच्छा हुनेरहेछ हजुर
सँगै बस्ने साथीको प्रेममा बसेपछि थाहा भयो।
उनको कमेन्ट संयोग थियो या उदेश्य थाहा भएन तर यसै मुक्तकमा कमेन्ट गरेर मेरो नजरमा परेकी थिइन् उनी। कमेन्ट थियो- 'अरुको किन डाहा गर्नु, आफै लभ गरे भैगो त!'
हामी परिचित नै थियौं र कहिलेकाहीँ कुरा पनि हुने गर्थ्यो। तर खासै चासोका साथ कुरा अगाडि यही दिनदेखि बढेको थियो।
वाणिज्य संकायमा मास्टर डिग्री गर्दै गरेकी उनी राम्रै थिइन् फोटोमा हेर्दा। हुन त यो पहिलो पटक थिएन उनको कमेन्ट। पहिले पनि कमेन्टमै धेरै पटक अन्तरक्रिया भैरहेको थियो तर कमेन्टमै सीमित रहन्थ्यो या कुनै सामाजिक संजालमा सक्रिय साथीहरूद्वारा गरिने सामाजिक कार्यको बारेमा कुरा हुन्थ्यो।
हाम्रो व्यक्तिगत बारेमा कुरा त्यही दिन सुरु भयो जुन दिन उनले मेरो मुक्तकमा कमेन्ट गरिन्। हो, यो कमेन्टले किन किन मेरो मन उनीतिरै खिच्यो। उनको रुचि पनि मप्रति रहेछ भन्ने पछि थाहा भयो जब नजिकिँदै गयौं र सम्बन्ध मायामा परिणत भयो।
त्यतिबेला सामाजिक संजाल फेसबुकमा म निकै सक्रिय थिएँ। धेरैजसो ग्रुपहरूमा रमाइला, प्रेमिल र समयानुकूल विषयमा पोस्टहरू साथै कहिलेकाहीँ गजल, मुक्तक र कथाहरू पनि लेखेर पोस्ट्याउने गर्थें। मुक्तकमा जस्तै डाहा र चाहाले म उनी केन्द्रित भएर गजल मुक्तकहरू लेख्दै गएँ। उनी कमेन्ट तथा म्यासेजमा प्रतिक्रिया दिँदै गइन्। हामी बीचको सम्वाद लम्बिँदै जान थाल्यो दिन-प्रतिदिन।
म परदेशी, ८ घण्टाको कामपछि बाँकी १६ घन्टा सुत्ने र मोबाइल हेर्ने बाहेक अरु केही हुँदैन थियो। उनी आफ्नो अध्ययनसँगै बैंकमा कार्यरत पनि थिइन्। नमिल्दो समयका बाबजुद पनि उनी समय निकालेर मसँग बोल्ने गर्थिन्। दिन बित्दै गयो, माया बढ्दै गयो। एकअर्का सँगसँगै जिउने मर्ने वाचा कसमसम्म खाइयो।
भविष्यको योजनाहरू बुन्दै रमाउँदै गर्थ्यौं। कहिलेकाहीँ दुखी पनि हुने गर्थ्यौं, परिवारले हाम्रो सम्बन्ध स्वीकार नगर्ने पो हो कि भन्ने डरले। किनकि उनी पढेलेखेकी धनी परिवारमा जन्मे हुर्केकी, सहरिया परिवेशमा पढेबढेकी र म गाउँले केटा जसोतसो एसएलसी पास गरी परदेशिएको मान्छे। कहिले दुखी त कहिले खुसी हुँदै समय बितेको पत्तै भएनछ।
हामी नजिकिएको पनि झन्डै झन्डै दुई वर्ष हुन थालिसकेछ। सन् २०१८ मध्यतिर सायद हामी परिचित भएका थियौँ र २०२० को फेब्रुअरी १४ अर्थात् 'प्रणय दिवस' उनीसँगै मनाउने योजनाका साथ म नेपाल फर्किएको थिएँ। खासै स्पेशल त थिएन हाम्रो भेटघाट तर पनि एकदम स्पेशल लाग्दै थियो मलाई। उनलाई खै कस्तो लाग्यो उनी नै जानून्।
पहिलो भेट म उनलाई भेट्न उनकै कार्यक्षेत्र बैंकमै पुगेको थिएँ। त्यो नै हाम्रो पहिलो र अन्तिम भेट थियो। हाम्रो भेट लगत्तै कोरोनाले विश्व नै आतंकित हुँदै थियो। यसको प्रभावबाट हाम्रो गाउँठाउँ पनि अछुतो रहेन। दूरीमै भए नि सामाजिक संजालले हामिलाई नजिकैजस्तो महसुस गराउँदै थियो। दैनिकजसो कुरा त हुँदैन थियो तर हप्तादिन भने कटेको थिएन, बिना सम्पर्क र समयसँगै हाम्रो सम्बन्ध बलियो हुँदै गएजस्तो लाग्दै थियो मलाई।
समय बित्दै गयो, चाडपर्व सुरु भए। जनैपूर्णिमा, जन्माष्टमी हुँदै तीज आयो। तीजसँगै उनको फेसबुक स्टोरीमा फोटो आयो- 'बिहे पछिको पहिलो तीज।'
मेरो प्रतिक्रिया थियो 'अरे यो के मजाक हो?'
न उताबाट कुनै जवाफ आयो न मैले दोहोर्याएर फेरि प्रश्न गरेँ। अझै पनि हामी फेसबुकमा साथी छौँ। बिनाकारण सकिएको सम्बन्ध भएर होला न मैले बोलाउँछु न उनले बोल्ने हिम्मत गरिन्। आफ्नो साहित्य यात्रालाई निरन्तरता दिँदै म हरेक दिन केही न केही लेखेर पोस्ट गर्ने गर्छु र वर्ष दिनपछि उनको रिएक्ट आयो मेरो मुक्तकमा इमोजीसहित।
#मुक्तक
#उनको_प्रगती
हिजो राति सपनीमा बच्चाको भोटो देखेँ
उसको भाग्य सप्रिएको मेरो चाहिँ खोटो देखेँ
तँलाई नपाए मर्छु म त भन्ने भुपू मायाको
छुटेको एक सालमै छोरोको फोटो देखेँ।
उनले दुई दिने छोरोसँग फोटो राख्दाकै दिन मैले यो मुक्तक लेखेर राख्नु संयोग मात्रै थियो। मलाई साँच्चै थाहा थिएन उनी आमा बनेको।