समयको विडम्बना भनुँ या के भनुँ, भाग्यको लेखा मेटाउन नसकिँदो रहेछ। जब श्रद्धा कक्षा ६ मा पढ्थिन्, हरेक दिन विद्यालय जान हतार हुने गर्थ्यो। ४ किलोमिटर टाढा हिँडेर जानुपर्ने हुन्थ्यो। सामान्य रहनसहनमा भएकी श्रद्धाको हातमा घडीसम्म हुँदैन थियो।
ऊसँग भएकी बहिनीले तुरुन्त सोधिहाल्थी, 'कति बज्यो दाइ? कति बज्यो दिदी?'
समय अनवरत रुपमा बितिरहेको थियो। श्रद्धाको कक्षा ७ को पढाइ सुरु भयो। श्रद्धा अर्थात् म। म ७ कक्षामा पढ्दा बहिनी ५ मा पढ्थी। कक्षामा शिक्षिकाले डायरीमा आफ्नो दैनिकी लेख्न सिकाएकोले मैले हरेक दिनका घटना लेखिराख्थेँ।
दिन, महिना यसैगरी बितिरहेका थिए। मेरो र बहिनीको विद्यालय जाने क्रम जारी नै थियो र सधैं झैं बाटोमा हिँड्नेलाई सोधेकै हुन्थ्यौं, 'कति बज्यो?'
समय सोध्ने क्रममै एकजना दाइ हामीलाई समय बताइदिने घडीजस्तै बन्नुभएको थियो। पातलो गोरो वर्णको साइकलमा हिँड्ने उनी हामीभन्दा केही सिनियर वा क्याम्पसमा पढ्ने जस्ता लाग्थे। उनलाई नै बढी ध्यान दिने मेरो बहिनी जहिले पनि उनकै खोजीमा आँखा दौडाउने गर्थी।
समयको रफ्तारसँगै उनी दाइ कता हराए थाहा भएन। बच्चाबच्चीलाई साह्रै माया गर्ने ती मानिस हामीले जतिबेला सोधे पनि साढे नौ भयो भन्दै हाँसिदिन्थे। कहिलेकाहीँ बेलुकापख स्कुलबाट फर्किंदा सोधे पनि साढे नौ बज्यो नै भनेर जिस्काइदिन्थे। हामी पनि उहाँसँगै हाँसिदिन्थ्यौं।
'साँझ पाँच बजे पनि नौ बज्छ र?' भन्दै जिस्किदिन्थी बहिनी पनि। म भने उनीहरूकै कुरा सुनेर मुस्कुराउँथें। ती दाइले घडीमा बजेको कुरा भन्दा बिहान त विश्वास गर्थ्यौं।
समय बित्दै गयो, हामी दुई बहिनीले त्यो अनुहारलाई जति खोजे पनि भेट्न सकेनौं। त्यो मानिसको अनुहारको छाप मेरो कलिलो मानसपटलबाट भने हट्नै सकेन। हाम्रो समय बताउने घडीका रुपमा रहेका ती दाइको अनुहार नभुलेरै म एघार कक्षा पढ्ने भएँ।
११ मा पढ्दा बहिनीले भने बिहे गरी। तर मैले पढाइ पूरा गर्ने अठोट कायमै राखेँ।
घरको आर्थिक अवस्था निकै कमजोर भएकोले मैलै सानै उमेरमा पारिवारिक जिम्मेवारी पनि पूरा गर्नुपर्ने भयो। पढाइलाई निरन्तरता दिन सकिनँ। मैले एउटा सानो प्रोजेक्टमा काम गर्न सुरु गरेँ।
कहिलेकाहीँ यसो फेसबुक हेर्ने गर्थें। प्रविणता प्रमाणपत्र तह पढ्न थालेको तीन वर्ष बितिसकेको थियो। उत्तीर्ण भने हुन सकेकी थिइनँ। एकदिन अफिसमा बसेर फेसबुक चलाउँदै गर्दा अचानक त्यो अनुहार देखियो जुन म र बहिनीलाई विद्यालय जाँदा-आउँदा समय बताउने दाइ थिए।
मेरो मनमा स्थायी रुपमा बसोबास गरिसकेको उनको अनुहार अचानक फेसबुकमा देख्दा मैले स्कुल जान भएको जस्तो हतार गरेर उनको फेसबुकवाला प्रोफाइल खोलिहालेँ। पहिले अलि अन्योल भए पनि उनको अनुहारसँग मिल्ने एकजना दिदीको अनुहार देखेपछि मलाई ठम्याउन गाह्रो परेन।
उनको बहिनी काठमाडौं बस्ने रहेछिन्। नाम रोशनी शर्मा। अनि उनको दाजुको नाम भने हिमाल शर्मा रहेछ। स्कुल जाँदा-आउँदा हाम्रो घडी बनेका ती दाइको नाम थाहा पाउने अवसर भने फेसकुबले नै जुराइदियो।
सुर्खेतको वीरेन्द्रनगरमा घर रहेछ। हिमालको अध्ययन बायोलोजीमा एमएससी भइरहेको रहेछ। उनकी बहिनीको एमबिबिएस अध्ययन चलिरहेको रहेछ। यति जानकारी पाउँदा फेसबुकलाई धन्यवाद दिन मन लाग्यो। मनमनै धन्यवाद पनि दिएँ।
ती दाइलाई फेसबुकमा भेटेको दिन मेरो मनमा प्रश्न पनि उब्जियो, मेरो दिमागमा उसको तस्बिर कसरी रहिरह्यो? यतिका वर्षसम्म उनलाई मैले किन सम्झिरहेँ?
प्रश्न मात्र उब्जिए, जवाफ पाइएन। मेरो मनभित्र उब्जिएको आन्तरिक प्रश्नको जवाफ अरु कसैसँग माग्ने कुरा पनि भएन।
उनलाई फेसबुकमा साथी बन्ने अनुरोध पठाएँ। भोलिपल्ट मात्र फ्रेन्ड रेक्वेस्ट एसेप्ट भयो। किन हो कुन्नी म उनलाई पठाएको अनुरोध स्वीकार हुँदा निकै खुसी भएँ। म्यासेन्जरमा बोल्ने प्रयास गरेँ, विस्तारै विस्तारै कुराकानी पनि हुन थाल्यो।
म रहने यो दुनियाँमा धरै मानिसहरू भटेकी थिएँ। तर ती दाइलाई जस्तो गरी कुनै मानिसको अनुहार वर्षौंसम्म सम्झिएकी भने थिइनँ।
हिमालसँग हरेक दिन कुरा हुने गर्थ्यो। उनी एमएससी पढ्न जापान गएका रहेछन्। नेपाल आउने कुरा निश्चित थिएन। उनले आफूले सकेसम्म जापानबाटै विद्यावारिधी गर्ने सोच भएको बताउँथे।
हरेक दिन हरेक कुरा साटासाट हुन्थ्यो। मलाई लाग्थ्यो यो संसारमा कोही राम्रो मानिस छ भने उनी मात्र हुन्। करिब एक वर्षसम्म हल्का कुरा भए पनि पछि निकै नजिक भइसकेका थियौं हामी। उनलाई अनलाइनमा देख्दा पनि प्रत्यक्ष देखिरहेको छु भन्ने आभास हुन्थ्यो।
यतिका वर्षसम्म पनि भेट्न र देख्न पाएकी थिइनँ मैले। म एनजिओमा काम गर्ने भएकाले कामको सिलसिलामा काठमाडौं जाने अवसर जुट्यो। पुस महिनाको जाडो थियो। कोटेश्वरमा म र मेरा सहकर्मीहरूको बसाइ थियो।
काठमाडौं बस्दै गर्दा मलाई हिमालसँग भिडिओमा कुरा गर्ने रहर भयो। दिनभरको कार्यक्रम सकेर म खाना खाएर कोठामा गएँ। हामी दैलेख, सुर्खेत, बर्दीया, दाङ, मकवानपुर, कास्की, काठमाडौं र काभ्रेका महिला साथीहरू एउटै कोठामा भए पनि उनीहरू सबै रमाइलो गर्न हलमा गएका थिए।
हिमालसँग स्काइपमा कुरा गर्ने अवसर पाएँ। जुन अनुहार मेरो मानसपटलमा स्थायी रुपमा बसेको थियो, त्यो अनुहार करिब आठ वर्षपछि भिडिओमा देख्न पाउँदा मेरो खुसीको सीमा थिएन। मख्ख पर्दै उसको अनुहारमा हेरेँ। हेरिरहुँ लागिरह्यो। बोली अड्कियो एकनास हेरिरहेँ।
मेरो गणित कमजोर थियो। म हरेक समस्याहरू उसलाई पठाउथेँ। हिमालले त्यसको हल गरेर पठाउने गर्थे। यसरी नै दिनहरू बितिरहेका थिए।
कहिलेकाहीँ अफिसमा कुनै कुरामा मन दुखेमा उनलाई रुँदै सुनाउथेँ। आफ्नो आँसुको थोपामा पनि हिमालको अनुभूति गर्थेँ। जब म संवेगलाई नियन्त्रण गर्न नसकेर भावुक हुन पुग्थेँ, उनलाई म्यासेज लेख्थेँ। उताबाट बारबार स्माइलको स्टिकर पठाएर हाँस्न बाध्य बनाउने उनको कलाले म क्षणभर दुःख भुलेर सँगै हाँसिदिन्थें।
मेरो हाँसोमा उनी पनि खुसी बन्थे। उहाँसँग सँधै नजिक हुने सोच बनिसकेकोले घरमा विवाहको कुरा निक्लिदा म विभिन्न बहानामा टार्थें। मस्तिष्कमा केवल हिमालको मात्र तस्बिर थियो।
हिमालप्रति मेरो माया गाढा भइसकेको थियो। जापानको विश्वविद्यालयमा पढ्ने उनलाई म त्यहाँको हरेक तस्बिरहरू पठाउन आग्रह गर्थें। सधैं राम्रो गर, राम्रो बन भन्दै सकारात्मक बन्न प्रेरित गरिरहने हिमालका शब्दले मलाई अझैं न्यानोपन दिइरहेका थिए। जीवनप्रति कर्मठ बन्न प्रतिज्ञा जगाउने उनलाई म कुनै क्षण पनि भुल्न सक्दिनँ।
अनलाइनमा कुरा हुन थालेको लगभग तीन वर्ष भइसकेको थियो। प्रत्यक्ष भेटघाटको आशा भने अलि कम नै थियो। मलाई लाग्थ्यो, उच्च खानदानका मानिसहरू सामान्य खानदानका हामीलाई कहिल्यै समय दिन चाहँदैनन्। कहिलेकाहीँ म यही शब्द हिमाललाई पनि सुनाउँथें। तर उहाँलाई यो कुरा पटक्कै मन पर्थेन।
समय बित्दै जाँदा मैले मेरो अध्ययनलाई पुनः सुरु गरेकी थिएँ। बिबिएस दोस्रो वर्ष सुरु भएको थियो। दिनभर अफिस, बिहान कलेज, साँझ घरमा। काम र कलेजको पढाइले थाकेर म कहिलेकाहीँ खाना खानेवित्तिकै अनलाइन नबसेर निदाउँथें।
कहिलेकाहीँ एक हप्तापछि मात्र हिमाल र मेरो बीचमा कुरा हुन्थ्यो। एकपटक एक सातापछि हिमालसँग कुरा भयो। सँधै एकैनासको कुरा गर्ने हिमालले त्यस दिन अलि फरक तरिकाले मसँग कुरा गर्न थाले। उनले मलाई के छ नयाँ भनी सोधे। मसँग भन्नुपर्ने नयाँ कुरा त केही थिएन।
उनले आफू नेपाल आउने र केही दिनको लागि सुर्खेत आउने कुरा सुनाए। उनी आउने कुराले मेरो खुसी झन् बढ्दै गयो। ढिला नगरी स्वागत छ भनेँ। मेरो मन एकदमै आत्तिरहेको थियो हिमाललाई भेट्न।
माघ ४ गते नेपाल आएका हिमालले १४ गते आफू घरमा भएको कुरा मलाई बताए। मलाई घरमै गएर उनलाई भेट्न गाह्रो लाग्यो। घरै देखेकी छैन भनेर टार्न खोजेँ। माघ १५ गतेको दिन बिहान ८ बजे वीरेन्द्रनगर बजारमा रहेको शितल डेरीमा भेट्ने कुरा भयो।
मलाई भोलि बिहानको आठ बज्न पनि आठ वर्ष बितेझैं लागेको थियो। भोलिपल्ट बिहान हिमाल ठिक समयमा आइसकेछन्। म जाँदा केही ढिलो भइसकेको थियो। जब म त्यहाँ पुगेँ, बाहिर केहीबेर रोकिएँ। मेरा आँखाहरूले चारैतिर उनैलाई खोजेका थिए। म केही सोच्नै सकेकी थिइनँ। कतैबाट 'श्रद्धा' भनेर बोलाएको आवाज आयो।
मन झसंग भयो। पछाडि फर्केर हेरेँ। हिमाललाई देखेपछि मन फुरुंग भयो। तर म एक सामान्य मान्छे, उनको अगाडि अप्ठ्यारो महसुस गरेँ। अनलाइन र फोनमा जति सजिलोसँग कुरा गर्थें, त्योभन्दा धेरै गाह्रो भयो मलाई प्रत्यक्ष भेट्दा।
सँगै बसेर कफी पियौं। सामान्य गफगाफपछि हामी त्यहाँबाट निस्कियौं। मेरो आँखाभरि पानी भएको थियो। उनकै अगाडि मेरा आँसु खस्ला भने डर पनि मनमा थियो।
हिमाललाई भेटेको दिन आफू पूर्ण भएको महसुस गरेँ। वीरेन्द्रचोकबाट उनी छुट्टिए। म पनि आफ्नो घरतर्फ लागेँ। जब म मगंलगढी पुगेँ उनलाई फोन गरेँ। उनी पनि धेरै खुसी भएको र कुनै औपचारिकता निभाइरहन आवश्यक नपर्ने बताए। मैले अर्को पटक फेरि सँगै कफी पिउने वाचा गर्दै फोन राखेँ।
हरेक घटनाहरूलाई क्रमवद्ध लेख्ने मेरो बानी बसिसकेको थियो। लाग्थ्यो, हिमालसँगका तिता अनि मिठा पलहरूले यो डायरी भरिन्छ। मेरो यो सोचाइ सान्दर्भिक र समयसापेक्ष नहुन सक्ने लाग्यो। मेरो अपेक्षा सायद व्यर्थ थियो।
करिब ६ महिना उनी सुर्खेत बसे तर एक कल फोनसम्म गरेनन् मलाई। कहिलेकाहीँ म आफै फोन गर्थें। तर पछि कल गर्छु ल भन्दै राखिदिन्थे।
एकदिन अनलाइनमा कुरा गर्ने अवसर पाएँ। कामको सिलसिलामा धेरै व्यस्त भएको र अब केही दिनमा पिएचडीको लागि फेरि जापान जाने कुरा उनले सुनाए।
मसँग कुनै शब्द थिएन, न त उनको लागि मेरो जरुरी थियो। थियो त केवल मौनता। हामी बीचमा भएका फेसबुक र फोन संवादका आधारमा मैले उनलाई जीवनभर पाउन सक्ने कुरा थिएन। भुल्न पनि सक्दिनँ। हाम्रो जीवनशैली पनि मिल्दैन थियो।
एकदिन अनलाइनमा कुरा भएको पछिल्लो दिन उनको काठमाडौंबाट उडान भएछ।