म आफूलाई
तिम्रो प्रेमको उम्मेदवार घोषणा गर्न
हजारौंको भिड लिएर
बाजागाजासहित
मायाको कार्यालयमा
जाँदै गर्दाको त्यो दिन
आज एउटा मक्किएर लड्नै लागेको
बुढो रुखको फेदमा बसेर सम्झिरहेछु
पुरानो थोत्रो जुवारी कोटको खल्तीबाट
एउटा याक चुरोट निकालेर सल्काइसकेपछि
धुवाँ आकाश तिर फुरररर... छाड्दै
गुनगुनाइरहेछु त्यहीँ पुरानो झ्याउरे भाका
जुन तिमी रोपार भएर धान रोपिरहँदा
म गाउँदै हलो जोतिरहेको हुन्थे
थाहा छैन मान्छे सधैंको लागि गएपछि कहाँ जान्छ
तर पनि विश्वासमा हरेक रात
आकाश तिर फर्किएर जून ताराहरूसँग बात मारिरहन्छु
मलाई त यो पनि थाहा छैन
तिमी त्यो आकाशमा गएपछि
जून भयौं कि तारा!