चकमन्न सुनसान रातमा
बतासको बेगको साथमा
ए पियारी, किन घरीघरी आउँछ्यौ?
मन खुम्च्याउछ्यौ
आँखाबाट स्मृति खन्याउछ्यौ
अन्धकारमा बालिएको लाइटको प्रकाश झैँ
सबैले थाहा पाउने गरी।
प्रभातको प्रकाशले कुत्कुत्याई सक्यो
मलाई गहिरो निद्राले बसमा पारिसक्यो
आँखाहरू खुल्दैन
आमाको अभावमा रोएको बालक झैं
किन तिम्रा स्मृतिहरू एकै पल पनि भुल्दैनन्?
अहिले आएर बुझ्दैछु
रातमा तिम्रै स्मृतिको लतमा भिजेपछि
सुकाउन आवश्यक पर्ने सूर्य
अहिले यो अन्धकारमा रात्रिमा कहाँबाट पाउने मैले?
त्यसैले त म स्मृति सुकाउन
सपनाहरू लुकाउन
हरेक रात
स्मृति ओढेर सुत्ने गर्छु।