बुबाको मिल्ने साथीको श्रीमतीको निधन भएछ। उहाँको साथीको भने केही वर्षअघि नै मृत्यु भैसकेको रहेछ। हाम्रोभन्दा निकै टाढा छ उनीहरूको घर। बुबाको स्वास्थ्य स्थिति खराब भएको कारण मलामी जान सक्नु हुँदैन थियो। बाले मलाई छोरा त मलामी जा भन्नुभयो।
म योभन्दा अगाडि कहिल्यै मलामी गएको थिइनँ, तीमाथि म अलि डराउने स्वभावको मान्छे। त्यसैले मैले प्रतिकार गरेँ, 'म जादिनँ, अब हजुरको साथी न मैले चिन्नु। त्यहाँमाथि मान्छे पोलेको हेर्न सक्दिनँ। भो म जान्नँ।'
बाले मेरो कुरा भुइँमा खस्न नपाउँदै भन्नुभयो, 'जा न बाबु जा, मेरो सुखदुःखको मिल्ने साथीकी श्रीमती हुन्। सकेको भए म आफै जान्थेँ। म नगए नि छोरो आएको छ भन्ने त हुन्छ, जा न। देखा परेर आइज, अस्तु सेलाउन्जेलसम्म बस्नु पर्दैन, पुगेर आइज। त्यताका साथीहरू पनि छन् हैन तेरो? तिनीहरू पनि आउलान् नि त।'
अब बाको वचन धेरै नकार्न सकिनँ, जान तयार भएँ। हिँड्ने बेला बाले भन्नुभयो, 'ए सुन् त, मलामी गएर आएपछि सिधैं घर नछिर् है, सुनपानी छर्किनु पर्छ। ममी वा घरको कोहीलाई बोला आएपछि।'
हस् भन्दै म निस्किएँ। अँधेरी खोला भन्ने ठाउँमा म पुग्दा एकछिन अगाडि लाससहित धेरै मलामीहरू पुगिसकेका रहेछन्। त्यहाँसँगै पढेको साथी पनि आएको रहेछ। पार्थिव शरीर भुइँमा राखिएको थियो। मानिसहरू दाउराले चिता बनाउँदै थिए। सबै मानिसहरूमा दुःखको भाव देखिन्थ्यो, यो स्वाभाविक नै थियो।
छोराबुहारी आफूलाई सम्हाल्न सकिरहेको थिएनन् अनि छोरीहरू आँखाबाट आँसुको धारा बगाइरहेका थिए। छोराबुहारी यति भाव विह्वलमा देखिन्थे कि उनीहरूको जति माया आफ्नो आमाबुबा, सासूससुरालाई अरु कसैले गर्दैनन्। त्यहाँ यस्तो माहोल बनिरहेको थियो कि कोही प्रतिष्ठित मान्छेको मृत्यु भएको छ, पार्थिव शरीरलाई फूलमाला र दोसल्लाले सजाइएको थियो।
सबै विधि पूरा गरी चितामा लास राख्ने काम भयो अनि चितामा छोरो जसले सेतो कपडा लगाएको र कपाल खौरिएको थियो उसले आगो लगायो। त्यस समयमा यतिसम्म भयो कि जल्दै गरेको लासमा 'आमा हामीलाई छोडेर नजानु' भन्दै पटक पटक छोरो आगोमा होमिन गइरहेको थियो। अरु मानिसहरू उसलाई सम्हाल्दै थिए। मलाई त्यो दृश्य हेर्न गाह्रो भइरहेको थियो।
साथीलाई 'अलि उता गएर केही कुरा गरौँ न' भनेँ।
'कति भाग्यमानी हुनुहुँदो रैछ है उहाँ! कति धेरै माया गर्ने छोराबुहारी रैछन्! कति धेरै माया पाउनु भयो होला जीवित हुँदा!,' मैले भनेँ।
साथीले लामो सुस्केरा हाल्दै भन्यो, 'त्यो त समाज अनि मलामीहरूको अगाडि आफूले आमालाई धेरै माया गर्छु भनेर देखाउन अनि दुनियाँले के भन्छन् भनेर नाटक गरेर गोहीको आँसु झारेका हुन्। जिउँदो हुँदा सुखको सास फेर्न दिएनन्, मरेपछि चटक देखाउँछन्। यति माया ज्युँदो छँदा गरेको भए ती आमा अझै बाच्थिन्। मलाई यिनीहरूको बारेमा सब थाहा छ।'
अरे! म अचम्ममा परेँ। त्यहाँको माहोल र साथीले भनेको कुरा नितान्त फरक थियो। मैले सोधेँ, 'भन न मलाई सबै कुरा।'
उसले बेलिविस्तारमा भन्न थाल्यो-
'हरिनारायण, आमाको श्रीमान। उनी जिउँदो हुँदा परिवारलाई दुःखको कुनै आभास हुन दिएनन्। एउटा मात्र छोरो अनि दुई छोरी उचित लालनपालन र शिक्षा दिएर धुमधामसँग सबैको बिहे गरिदिए। छोराबुहारी, नाति अनि दुई जना बुढाबुढी सँगै बस्थे। हरिनारायण हुँदा केही न केही गरेर घरको लागि थोरै भए नि आर्थिक सहयोग पुर्याउथे। त्यसैले नि होला छोरा बुहारीले राम्रो व्यवहार गर्थे। जब उसको मृत्यु भयो, ती आमा एक्ली भइन्।
श्रीमानको निधन भएको केही महिना छोराबुहारी सँगै बसिन्। त्यसपछि छोरा बुहारीलाई आमा घाडो लाग्न थाल्यो। विभिन्न बहाना बनाएर बुहारीले ती सासूलाई दुःख दिन्थिन्। बुहारीको, नातिको, छोरोको लुगा धुन्थिन्। आफ्नो श्रीमानलाई गाली गरेको जस्तो बहाना बनाएर ती सासूलाई भन्नु समेत भन्थिन्। त्यति गर्दा नि छोरो सुनेको नसुनै गरेर मात्र बसिरहन्थ्यो। आमालाई यस्तो गर्नु, भन्नुहुन्न कहिले भनेन्, बरू उल्टो आमालाई 'बा बितेको धेरै वर्ष भयो अब सम्पत्ति, घर-जग्गा मेरो नाममा गरिदिनु पर्छ आमा' भन्थ्यो।
दश धारा दूध पिलाएर हुर्काएको छोरो नै आफ्नो जस्तो नभएपछि श्रीमानको श्री सम्पत्ति छोराको नाममा गर्दिन्। अनि ती आमा एक्लै बस्न थालिन्। जति दुःख भए नि, छोराबुहारीले जस्तो व्यवहार गरे नि यस्तो गरे भनेर छरछिमेकीलाई कहिल्यै भनिनन्। सधैं खुसी भएको झैं गर्थिन्।
'एउटा छोरो त हो, किन एक्लै बस्नु परेको होला! मिठो मिठो एक्लै बनाएर खाना बसेकी होलिन् नि' भनेर वरपरकाले कुरा काट्थे। तर वास्तविकता अर्कै थियो। एकल भत्ता आउथ्यो। नुन, तेल, चामल त्यहीले किनेर गुजारा गर्थिन्। काम गर्न सक्दिन थिइन्। छोरोको राम्रै आम्दानी थियो। सँगै नराखेनी, नबसेनी आमालाई के चाहिन्छ? के कुराको अभाव छ? भन्नुको त कुरै छाडौं, सन्चो बिसन्चो सोध्ने फुर्सद थिएन उसलाई।'
साथीले भन्दै गयो, 'छरछिमेकीलाई चाहिँ आमालाई एक्लै बस्न मन पर्छ रे, एक्लै बस्दा खुसी हुनुहुन्छ रे, सँगै बसौँ भनेको मान्नु हुन्न। त्यही पनि हामीले सँगै नबसेनी आमाको सबै आवश्यकता पूरा गर्ने कोसिस गरेका छौँ भनेर दुनियाँको सामु माया गरे झैं गर्थे। ती आमा बुढी हुँदै गइन्, स्वास्थ्य स्थिति पनि बिग्रँदै गयो।
एकदिन साह्रै बिरामी भैछिन्। त्यो बेला तातो पानी तताएर दिने नि कोही भएन। औषधि किनेर खाने पैसा पनि थिएन। भत्ताको पैसाले नुन भुटुनमै ठिक्क हुन्थ्यो। धेरै बिरामी भएपछि छोरासँग गएर भनिन्, 'बाबु, म हस्पिटल जानुपर्यो। धेरै गाह्रो भयो। श्वास रोकिन लागिसक्यो, पैसा सुको छैन केही पैसा दे न। तिमीहरूले लग्नु पर्दैन, म आफै जँचाउन गएर औषधि किनेर ल्याउँछु। भए थोरै देऊ न।'
आमाको कुरा सुनेपछि छोरोले भन्यो, 'नातिको स्कुल फी भोलि नतिरी नहुनी छ। ऋणको किस्ता नि तिर्नु छ। केही समयपछि म आफै लग्दिउँला, अहिले मसँग पैसा छैन। चुप लागेर बसेर आराम गर्नु।'
जुन छोराको लागि खाई नखाई गरेर भए नि हुर्काइन्, उसलाई सानो चोट लाग्दा आमा आफ्नो मन दुखाउथिन्, निद्रा नपुगेर वा सामन्य केही भएर रोइदिँदा मात्र पनि रातभरि नसुती आत्तिँदै हस्पिटल कुदाउँथिन्, आज त्यही आमा छोरोसँग औषधि किन्ने पैसा माग्दा नि छोरो आफ्नै समस्याको पोको देखाउँछ। विचरा आमा रोगले झन्-झन् थला परिन्। छोरोले न वास्ता गर्यो न हस्पिटल नै लग्यो।
अन्त्यमा यी आमा उपचार नपाएर मरिन्। अहिले नाटक गरी गोहीको आँसु झार्छन्। आखिर सन्तान केको लागि? मरेपछि मुखमा एक थोपा पानी हाल्दिन मात्र रैछ!'
जिउदो हुँदा माया, समय, ख्याल नराख्ने अनि मरेपछि स्वर्गमा बास होस् भनी श्रद्धा गर्ने! जिउँदो हुँदा केही खाए कि खाएनन् भनेर वास्ता छैन, मरेपछि चाहिँ पिण्ड खान्छन् भनेर चढाउनु यसले कुनै अर्थ राख्दैन। आफूले सन्तान भएपछि पाउने अधिकार मात्र खोज्ने हैन, आफू सन्तान भएपछि आमाबुबाप्रति आफूले गर्नुपर्ने कर्तव्यलाई नि भुल्नु हुन्न।