हेर्दाहेर्दै
यति धेरै आफ्नाहरू
परलोक भए
ती मान्छेहरू कहाँ गए होलान्
मृत्युपछि आत्मा कहाँ जान्छ होला
थाहा नै छैन
सानो छँदा
देहवसान भएका मान्छेहरूको आत्मा
घर नजिकैको नारायणी किनारतिर जान्थे जस्तो लाग्थ्यो
अलिअलि उमेर बढ्दै जाँदा ती आत्माहरू
आकाशतिर नै जान्छन् जस्तो लाग्नथाल्यो
अनि
आकाशका ताराहरूको बीचमा रहेका चम्किला ताराहरू नै
हजुरआमा, फुपूहरू, ठूलो बुबा र पितु बा लाग्न थाल्यो
फेरि
अहिले पनि यस्तै लाग्छ
चम्किरहेका ताराहरूको बीचमा एउटा चहकिलो तारा थपिएको छ
त्यसैमा म बाको मुहार देख्छु
खै! आकाश त दिनैभरि बादलले ढाकिएको छ
मेरो मनजस्तै गरी
र पनि
मेरो बाको मुहार हेर्न म बरण्डातिरैबाट चिहाइरहेछु
आज बादल नलागिदिए हुन्थ्यो अनि पो त मैले
मेरो आदर्शलाई
लाखौं ताराहरूको बीचमा
सहजै खोज्न सक्ने थिएँ
मैले औधि माया गर्ने मेरो बा
तिमी त्यही रहिरहनु
कुनै दिन
म पनि आउने छु
सानो तारा बनेर
तिम्रै आडमा रहन
बा! वर्षदिन बितिसक्यो
खै!
सम्झनाका तरेलीहरूबाट
तिमी ओझेल नै परेनौ!
धेरै याद आयो बा
यादले यादहरू बढायो
जीवन पर्यन्तको तिम्रो जीवन सहज बनोस्
तिमीलाइ विष्णुलोक प्राप्त होस
हार्दिक श्रद्दा सुमन बा!