ऊ मेरो बाल्यकालको साथी। ऊ भनेको अनन्त। चितवन राष्ट्रिय निकुञ्ज नजिकैको सानो सुन्दर गाउँ जगतपुरको धुलो सडकमा हामी सँगै खेल्दै हुर्कियौँ। ऊ सधैं उदास देखिन्थ्यो। उदास देखिए पनि जीवनसँग सन्तुष्ट र खुसी देखिन्थ्यो। हामी कक्षा ९ मा पढ्दा घटेको एउटा घटना म सधैं सम्झन्छु।
विज्ञान पढाउने सरले गुरुत्वाकर्षणको बारेमा पढाउँदै थिए।
'एकपटक न्युटनले एउटा स्याउ जमिनमा खसेको देखे। यो सामान्य र दैनिक घटनाले पनि उनको मनमा जिज्ञासा पैदा गर्यो। स्याउ किन माथि गएन, किन तल झर्यो भन्ने प्रश्न उनले आफैंसँग गरे। उत्तर खोज्ने क्रममा उनले पृथ्वीको गुरुत्वाकर्षण पत्ता लगाए। यसको अर्थ पृथ्वीले हरेक वस्तुलाई आफूतर्फ आकर्षित गर्ने वा तान्न सक्ने शक्तिलाई गुरुत्वाकर्षण भनिन्छ।'
शिक्षकले यसबारे व्याख्या गर्दागर्दै अनन्तले प्रश्न गर्यो, 'सर, हामीमा गुरुत्वाकर्षण छ कि छैन?'
सरले मिठो पाराले भने, 'तिम्रो बुवालाई यस बारेमा राम्रोसँग थाहा छ, घर गएर सोध ल!'
त्यो दिन स्कुल सकिएपछि हामी सँगै घर फर्कियौं। अनन्तले यसबारे आफ्नो रोमान्टिक बुबासँग सोध्यो।
उनले भने, 'हो, हामीसँग गुरुत्वाकर्षण छ। जस्तो कि, मैले तेरी आमालाई आकर्षण गरेर ऊ मप्रति आकर्षित भई। सधैं याद गर्नु कि यही आकर्षण गर्ने र आकर्षित हुने क्षमता मानव गुरुत्वाकर्षण हो। अर्थात् मानव गुरुत्व हो।'
अनन्तले जिज्ञासाका साथ आफ्नो बुबालाई विज्ञानको भाषामा सोध्यो, 'यदि मैले आकर्षण गर्न र आकर्षित हुन सकिनँ भने के हुन्छ?'
'तैँले गरी खाँदैनस्। गुरुत्व नभएको मान्छेले केही गर्न सक्दैन र ऊ जीवनमा कहिल्यै पनि खुसी हुँदैन।'
समय बित्दै गयो र समयको उडानसँगै हामी जवान भयौँ। हामी दुवैले एसएलसी पास गर्यौं। हामी क्याम्पस भर्ना भयौं र विज्ञान पढ्न थाल्यौं। अनन्त विज्ञान पढ्न चाहँदैनथ्यो तर बुबाको दबाब झेल्न सकेन।
'बुबा, ममा विज्ञान पढ्ने गुरुत्वाकर्षण छैन।'
'तैँले गुरुत्व विकास गर्नैपर्छ।'
'किन?'
'मेरो प्रतिष्ठाको लागि।'
'अनि मेरो खुसीको कुरा के हो?'
'विज्ञानको आकर्षण नै खुसीको आकर्षण हो। '
विज्ञानमा प्रमाणपत्र तह पूरा गरेपछि मैले स्नातक तहमा विज्ञानलाई निरन्तरता दिएँ तर अनन्तले साहित्य पढ्ने निर्णय गर्यो।
'तैँले किन साहित्य पढ्न खोजेको?,' मैले ठट्टा गर्दै सोधेँ।
'खुसीको लागि,' उसले प्याट्ट बोल्यो।
ब्याचलर पढ्दा हामी तीन वर्षको लागि रुममेट भयौं। उसले साहित्य र दर्शनको आनन्द कहिलेकाहीँ गर्वका साथ सुनाउँथ्यो। साहित्य पढ्ने र लेखक बन्ने सपना पूरा गर्ने मौका पाएकोमा आफू खुसी भएको बताउथ्यो। मलाई पनि ऊ खुसी छ जस्तो लाग्थ्यो तथापि उसको महत्वाकांक्षाले अर्कै कुराको संकेत दिन्थ्यो।
नारायणी नदी किनारामा टहल्दै पढेका हामीले यसको बहाव र प्रवाह रोकिएको र रोक्न सक्ने कोही कहिल्यै देखेनौँ। हाम्रो जीवनको प्रवाह पनि त्यही नारायणीजस्तै रहेछ। स्नातक गरेपछि म गाउँ फर्किएँ र हाई स्कुलमा विज्ञान र गणित विषय पढाउन थालेँ तर अनन्तले पढाइ जारी राख्यो।
मैले अनन्तले भनेको हेराक्लिटसको एउटा सुन्दर पंक्ति त सधैं सम्झन्छु, 'एउटै मान्छेले नदीमा दुई पटक पाइला राख्न सक्दैन, किनभने यो एउटै नदी होइन र ऊ एउटै मान्छे होइन।' यस्तो लाग्छ जीवनका तमाम खुसीका खोजहरू निरन्तर परिवर्तनको प्रवाहमा छ। यस्तो लाग्छ खुसी पनि नदीको प्रवाह हो- न रोकिन्छ, न रोक्न सकिन्छ।
म गाउँ ओर्लिएँ किनभने मेरो बाबासँग अरु बढी पढाउने आर्थिक पक्ष बलियो थिएन। अर्को कुरा म बच्चाहरूलाई पढाउने, उनीहरूसँगको संगतबाट अनुभवको शिक्षा लिने साना कुरामा खुसी खोज्न चाहन्थेँ। म खुसीका यस्तै साना-साना डोजमा रमाउन थालेँ। सायद अनन्तले अनन्त खुसीको लागि 'ह्याप्पिनेस प्रोजेक्ट' बोकेर काठमाडौं उक्लियो। अर्थात् खुसीको लागि काठमाडौंको गुरुत्वाकर्षणले तान्यो।
हामीले खुसीका आ-आफ्नै बाटो समात्यौँ। समयले हामीलाई यो बिन्दुमा जीवनप्रति फरक दृष्टिकोण बनाइदियो। तर हाम्रो फरक दृष्टिकोणले अनन्तको भाषामा हाम्रो मित्रवत व्यवहारलाई कहिल्यै कमजोर बनाउन सकेन। एउटा कुरा ठिकै रैछ जस्तो लाग्छ अहिले, मित्रताको थाङ्नोमा सुत्नुभन्दा मित्रवत् व्यवहारको हरियो चौरमा पल्टिन धेरै मजा हुँदोरहेछ।
एकपटक साहित्य र दर्शनमा स्नाकोत्तर सकेपछि ऊ गाउँ ओर्लिएको थियो। त्यतिबेला मैले उसलाई 'यो उपलब्धिबाट खुसी छ कि छैन?' भनेर सोध्दा, उसले भनेको थियो, 'पूरै भएको छैन। क्याम्पस पढाउन सुरु गरेको दिन खुसीको वर्षात हुन्छ।'
मैले भनेँ, 'वर्षात त केही समयमा बन्द हुन्छ।'
उसले भन्यो, 'वर्षातको पानि जीवनको पोखरीमा जम्मा गर्छु।'
खुसी जम्मा हुने पानी होइन, सुकी जाने आँसु हो भनौँ कि जस्तो लागेको थियो तर भनिनँ।
पछि उसले क्याम्पस पढाउन पायो तर भन्यो, 'निजी कलेजमा पढाएर कहाँ खुसी भइन्छ, सरकारी कलेजमा पढाउन पाएको दिनदेखि पूर्ण खुसी हुनेछ।' म उसका कुरामा अन्योलता भेट्थेँ र आफैसँग सोध्थेँ, 'पूर्णताले खुसी दिने हो कि खुसीले पूर्णता?
समय र नारायणीको प्रवाह रोकिएन। अनन्तको प्रवाह पनि बढ्दै रह्यो। केही समयपछि उसले त्रिभुवन विश्वविद्यालयसँग सम्बोधन प्राप्त पाटन क्याम्पसमा पार्टटाइम जागिर पायो र पछि स्थाई पनि भयो। स्थाई जागिरको खुसी बोकेर ऊ गाउँ फर्कियो। लाग्यो मान्छेलाई खुसी साट्न पनि गाउँ चाहिन्छ र आफ्ना मान्छे चाहिन्छ जसको डोज मैले दिनहुँ गाउँमै पाउथेँ।
ऊ गाउँ झरेको भोलिपल्ट हामी राप्तीको किनारै किनार निकै हिँड्यौँ। मलाई सूर्यास्तको सुन्दरता मनपर्छ र राप्ती नदीको किनारमा रहेको मेरो गाउँबाट देखिने यसको अलौकिक सौन्दर्यको रसास्वादन गर्दा खुसीले मन पुलकित हुन्छ।
त्यो दिन अनन्तले प्रकृतिको त्यो यात्रा र सौन्दर्यलाई समयको बर्बादीको रुपमा लियो। उसले भन्यो, 'तँलाई केही थाहा छैन, तेरो सीमित पढाइ र गाउँको बसाइले तलाई कुवाँको भ्यागुतो बनाइसक्यो। तैँले अलि बढी पढ्नुपर्छ र संसार हेर्नुपर्छ।'
मैले बहस गरिनँ किनकि मलाई स्पष्ट भइसकेको थियो कि उसलाई 'ह्याप्पिनेस प्रोजेक्ट'ले अन्धो बनाइसकेको थियो। मैले सोचेँ, खुसीलाई प्रोजेक्ट सोच्नेहरूले यसलाई पैसामा मात्र देख्दा रहेछन्। अनन्तको प्रगतिको गति त बदलियो तर उसको खुसीको मतिमा बदलाब आएन।
मैले कुराकानीको विषय बदलेँ, 'सरकारी स्थाई जागिरले त खुसीको पोखरी भरिस् होला नि?'
उदास हुँदै भन्यो, 'पैसा छैन यार। काठमाडौँको बसाइ महँगो छ। खुसी हुन गाह्रो छ।'
पैसा कमाएर खुसी हुने रहरले गर्दा अनन्तलाई क्यानडाको गुरुत्वाकर्षणले आफूतिर तान्यो। ऊ गएको एक वर्षअघि फेसबुकमा कुराकानी भएको थियो। मेरो उही प्रश्नको सन्दर्भमा उसको जवाफ थियो, 'यहाँ प्रोफेसनल काम पाएको खण्डमा मात्र। यदि मैले मान्यता प्राप्त क्यानडाली विश्वविद्यालयबाट पिएचडी डिग्री गरेँ भने मात्र।'
यो चोटि गाउँले भ्यागुतोले उसको कुरामा ट्वाँरट्वाँर सुन्ने बाहेक केही बोलेन। मेरो गाउँले अनुभवले भन्छ, यदि यस्तो यस्तो भए म खुसी हुन्छु नत्र म खुसी हुँदिनँ भन्ने कुराले कसैलाई कहिल्यै सुखको बाटो प्राप्त हुन सक्दैन। 'यदि' को मनोविज्ञानले मान्छेलाई अल्माल्याउने मात्र गर्दछ।
पाँच वर्षपछि क्यानडाबाट तीन महिनाको लागि अनन्त घर फर्किएको थियो। ऊ थकित र उदास देखिन्थ्यो। रिफ्रेशमेन्टको लागि हामी राप्ती नदीको किनार र नजिकैको जंगलतिर घुम्यौँ र कुराकानी गर्यौं।
'क्यानडाको जीवन र खुसी कस्तो छ?,' मैले सोधें।
'ठूलो प्रोजेक्टको लागि टाइम लाग्छ,' उसले गर्वका साथ भन्यो।
मैले उसको कुरा गराइबाट बुझिसकेको थिएँ कि खुसी न त क्यानेडियन डलरमा छ न नेपाली रुपैयाँमा। क्यानेडियन डलरको सटहीले नेपाली पैसाको दर त बढ्दो रहेछ तर नेपाली खुसी बढ्ने रहेनछ।
नम्रतापूर्वक मैले भनेँ, 'अनन्त, हामी बाल्यकालका साथी हौं र त्यो बाल्यकालको मित्रतामा मलाई केही भन्न देऊ।'
उसले अनुमतिको टाउको हल्लायो।
'एक वर्ष पहिले मेरो भेट एकजना साधुसँग भएको थियो। तँजस्तै उनी पनि 'ह्याप्पिनेस प्रोजेक्ट'ले आक्रान्त भएर हिँडेका रहेछन्। खुसीको लागि आफ्नी श्रीमती र छोरी छोडेर हिँडेका। जीवनमा धेरै भौतारिएका। अनौठो त मलाई त्यतिबेला लाग्यो जब थाहा पाएँ कि उनले लन्डनबाट मेडिकल साइन्समा एमडी गरेका रहेछन्। साथै पूर्विय दर्शनको ज्ञाता पनि। खुसीको सम्बन्धमा केही गहन कुरा उनले मलाई सुनाएका थिए।'
अनन्तको जिज्ञासा बढ्यो, 'के भनेको थियो उसले?'
'उसले भनेको थियो कि खुसी हामीभित्र हुँदो रहेछ। हाम्रो शरीरमा रहेका चार केमिकल- डोपामाइन, अक्सिटोसिन, सेरोटोनिन, र एन्डोर्फिनको लेबलले हाम्रो खुसीलाई निर्धारण गर्दोरहेछ। छोटकरीमा अंग्रेजीका चार अघिल्ला शब्द लिएर उसले यसलाई खुसीको डोज भन्दोरहेछ। यी डोजहरूलाई ध्यान र योगको मार्फतबाट सन्तुलन कायम गर्न सकिने कुरा उनले बताएका थिए। यसका अतिरिक्त व्यक्तिगत जीवन, प्रेम, प्रकृति र समाजसँगको हाम्रो सन्तुलनले खुसी प्राप्त हुँदोरहेछ।
डोपामाइन एक न्यूरोट्रान्समिटर रहेछ। यसलाई जीवनको लागि प्रेरणाको स्रोत मानिदो रहेछ। डोपामाइन शरीरमा घट्नु बेखुसीको एक कारण रहेछ। यसको सन्तुलनको लागि ध्यान र योग अचुक साध्य रहेछन्। यसका अतिरिक्त प्रकृतिमा विचरण गर्नु, आफूलाई मन परेका गीत संगीत सुन्नु, जीवनपयोगी पुस्तकहरू पढ्नु आदिले जीवनमा प्रेरणा थप्ने रहेछन्।
राप्तीमा पौडी खेल्नु, यसको बगरमा लमतन्न पल्टिनु र गोधूलिमा सूर्यास्तको मजा लिनुले डोपामाइन सन्तुलित हुनेरहेछ जुन बिना पैसा उपलब्ध हुन्छ। तँजस्तो विद्वानलाई थाहा छ कि छैन, त्यो त मजस्तो भ्यागुतोलाई थाहा हुने कुरा भएन तर ध्यान र योग परापूर्वकालमा हाम्रा ऋषिहरूले हाम्रै देशमा प्रयोग गरेका खुसीका साध्य रहेछन्। यसको महत्व नबुझ्नेहरू मात्र भौतारिँदा रहेछन्। तेरो क्यानडामा पनि योगलाई 'योगा' भनेर तिमीहरूजस्ता विद्वानलाई बेच्छ रे भन्ने सुनेको थिएँ।
अर्को महत्वपूर्ण कुरा डोपामाइन सन्तुलनको लागि पर्याप्त सूर्यको प्रकाश आवश्यक हुँदोरहेछ। जाडो ठाउँमा बस्ने मान्छेलाई सिजनल इफेक्टिभ डिसअर्डर 'स्याड' हुनेरहेछ जसका कारण जाडोको समयमा मान्छे उदास वा निराश हुँदा रहेछन। मैले सुनेको थिएँ तेरो क्यानडामा त २-४ महिना मात्र घाम देखिन्छ रे।
सेरोटोनिन, खुसीको लागि अर्को महत्वपुर्ण हर्मोन र न्युरोट्रान्स मिटर रहेछ। यसले हाम्रो मूड, निद्रा, भोक, पाचन प्रणाली, सिक्ने क्षमता र स्मरणशक्तिलाई नियन्त्रण गर्न मद्दत गर्दोरहेछ। पर्याप्त सूर्यको प्रकाश, ध्यान र योग यसका स्रोत रहेछन् जुन हाम्रो गाँउमा सजिलै पाइन्छ। तेरो क्यानडामा जस्तो दुई-चार महिना देखिने सूर्यको किरण पनि विकिरण बनेर सनक्रिम दल्नपर्ने स्थिति हाम्रो गाँउमा पटक्कै छैन।
अक्सिटोसिनलाई प्रायः 'प्रेम हर्मोन' भनिँदो रहेछ। यो पारिवारिक सम्बन्धको लागि आवश्यक हुँदोरहेछ। यो हर्मोनले सम्बन्धमा विश्वास, समानुभूति, माया र ममतालाई बढावा दिन पनि मद्धत गर्नेरहेछ, जुन गाँउमा सहजै प्राप्त हुन्छ। अक्सिटोसिनको स्तर सामान्यतया शारीरिक स्नेह जस्तै चुम्बन, आलिंगन र यौन सम्बन्धमा बढ्दो रहेछ।
साधुले आफ्नो परिवार छोडेर खुसी खोज्न हिँडेकोमा पश्चाताप गरेका थिए।
एन्डोर्फिन शरीरको प्राकृतिक दुखाइ हटाउने हार्मोन हो रहेछ, जुन शरीरले तनाव महसुस गर्दा प्रतिक्रिया स्वरुप उत्पादन हुनेगर्छ। योग, ध्यानको अलावा नाच्ने, गाउने र हाँस्नेजस्ता साधारण गतिविधिहरूले एन्डोर्फिन सक्रिय हुँदोरहेछ र हामी खुसी रहन सक्दा रहेछौँ। हाम्रा संकीर्तन र भजन यसका लागि भरपूर औषधि हुन्।'
मैले यी कुराहरू भन्दै गर्दा अनन्तले आफ्नो टाउको निहुँराएको थियो र बोलिरहेको बेला सक्रियतापूर्वक सुनिरहेको थियो। फर्कने दिन उसलाई एयरपोर्ट छोड्न गए। जानेबेला रुँदै भन्यो, 'म चाँडै फर्किन्छु यार।'
मैले राप्ति किनारको बलौटे धाप सम्झिएँ।