बिहानै उठ्छ
पत्रपत्रिका छापिएको समाचारको
पहिलो पृष्ठमा
उसले लोक सेवाको परीक्षा शीर्षक पढ्छ
भौतारिँदै हिँडेको पागलजस्तै
लामो दारी, जिङ्ग्रिङ्ग कपाल
सहरको एक गल्लीको घरमा
बासी खाना खाँदै
ऊ पढ्छ मात्रै
ऊ के पढ्छ?
जन्ममिति कसैका छोड्दैन
नेपालको उत्पत्तिदेखि
एटलान्टिक समुद्रसम्म
बुद्धको जीवनीदेखि
एडिसनको बाल्यकालसम्म
उसको संसार त्यही लोक सेवा
ऊ पढ्छ मात्रै
ऊ परिवार भुलेर भए पनि
पढ्छ मात्रै
युवाको जमात
राहदानी बनाउँदै गर्दा
उसले राहदानी लोक सेवालाई बनाएको छ
कहिले थाक्दैन ऊ
उसको उमङ्ग हराएको वर्षौं भइसक्यो
हुन त ऊ आफैमा त्यागी हो
उसले परिवार नभेटेको महिनौं भइसक्यो
उसले सत्कार भुलिसक्यो
मानौं उसको साक्षात्कार त्यही
लोक सेवासित हुँदो हो
ऊ लोक सेवाको परीक्षार्थी हो
लोक सेवाको मुद्दा परेको बारे
ऊ जानकार त हुन्छ
विश्वस्त पनि उत्तिकै हुन्छ
किनकि ऊ मेहनती हो
ऊ पढ्छ मात्रै
थाक्दैन कहिल्यै
उसले यो पृथ्वीलाई
हजारौं पटक फन्को लगाइसके जस्तै
भूगोलको पिताजस्तै जब्बर छ
ऊ सफल हुन्छ/हुँदैन थाहा छैन
तर ऊ पढेर कहिल्यै थाक्दैन।