तिम्रै आदेशमा
तिमीलाई विश्वास गरी
सबै रैती हुन्छन् भन्ने आशले
समानताको मनसा लिएर
प्रजातन्त्रका लागि रगतको खोलो बगायौं
यसले पुगेन भन्यौ
प्रजासँग राजा रह्यो भन्यौ
शब्दापत्ती गर्यौं
हामीले स्विकार्यौं
फेरि समानताको आशमा
लोकतान्त्रिक आन्दोलनमा सरिक भयौं
सयौंको कुर्वानीले
लोकतन्त्र ल्यायौं
यसले पुगेन
दरबारभित्र बस्ने
सेतो हात्ती पाल्नु हुन्न भन्यौं
सबै फसादको जड त्यही हो भन्यौं
हामीले पत्याएर
ल त ल भन्दै
गणतन्त्रका लागि छाती तन्कायौं
हात लाग्यो शून्य झैं
परिवर्तन सम्भव भएन
प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र
जे व्यवस्था ल्याए पनि
इतिहासमा
ज्यू हजुरी देखेकाहरू
ज्यू हजुरी खोज्न थाले
दाम राखेर ढोकेकाहरू
दामको खोजीमा लागे
समयसँगै
महाराज सडकमा आए
दुर्भाग्य
महाराज हुने मनसा त्यही छुट्यो
हामीले शब्द फेर्न सक्यौं
विधान फेर्न सफल भयौं
तर फेर्न सकेनौं
कुशासन
फेर्न सकेनौं
लोभ
फेर्न सकेनौं महाराज हुने मनसा
त्यसैले त अहिले
इतिहासलाई सम्झेर
दरबारको नाकैनिर रहेको
टाउको गिडेको सालिकअघि उभिएर
समानताको आन्दोलनका
सहिदलाई
चिच्याएर सोध्न मन लागेको छ
रैती कहिले हुन्छन् महाराज?