नखोलिएको चिटजस्तै अघोषित प्रेम
बन्द छन् मेरा कमिजको खल्तीभित्र
जहाँ मेरो मुटु बस्छ
र भन्छ
परीक्षाको प्रश्नपत्रसँग चुम्बन गरी छुट्टिएका
दुई होंठ जस्ता
प्रश्न प्रश्नपत्रमा अनि
उत्तर नखोलिएको चिटभित्र
अनमोल बस्दछन्
मिलन यिनको हुनुपर्छ
यो काम पुण्यको हो
जो तँबाटै पूर्ति हुनुपर्छ।
मिलन कर्मको लीला हो
नत्र
कसरी सम्भव हुन्छ र पर्न
जे उत्तर थिए लेखिएका
तिनै प्रश्न सोधिनु पर्न
एकछिन अचम्म हुन्छ मलाई
खुसीले अघोषित भावनाहरू
चिटजस्तै बन्द बस्छन्
मेरो मुर्झाएको खल्तीभित्र
मेरो उजाड दिलभित्र
भगवानले यति उत्कृष्ट
कोर्न कसरी सक्छ कसैलाई
सोच्दै हेर्दा उनलाई
डरले कपकपाहट हुन्छ तर
कि कतै हातबाट
छुटि पो हाल्छ चिट
कतै कसैको हात पो पर्छ
अन्य साथीले के सोच्लान्
निरीक्षक छन् गिद्धका आँखा फेरेका
यताउता
भेट्टाए के भन्लान्
भोग्नुपर्छ सजाय
र
सबैभन्दा ठूलो डर त
कता मेरो भान मात्रै हो
कि माया छ भन्ने
खोक्रो आकर्षण मात्रै पनि त हुनसक्छ
प्रश्न सोधिएको
अर्कै तरिकाले पनि त हुनसक्छ
हुनसक्छ उनलाई प्रेम नभाको पनि
हुनसक्छ, उस्तै लाग्ने अर्कै प्रश्न आको पनि
तर खैर
निरीक्षकले मलाई निरन्तर हेरिरहँदा
कुनै उपाय खोजिरहेछु
हेर्नलाई चिट
भेट्नलाई उनलाई, बोल्नलाई
समय अचेल टोलाइरहँदा
अरु विकल्प छैन
सँच्चाइसँग साक्षात्कार हुनुभन्दा
यसरी सास खेर फाल्नभन्दा
साहस गर्छु
खल्तीबाट निकालेर चिट
राखे बेन्चमाथि जब
हैटहुइट गर्दै निरीक्षक सामु आउँदा
मनको डरको बाँध फुट्यो
प्रेम मेरो असफल रह्यो
पश्चताप चुलियो दिलभित्र
आफैदेखि रिस उठेर
मुर्मुरिदै दिमागभित्र
दोष लगाउँदै दिल दिमागलाई
के दलदलमा फसिस् अब
भन्दै उनको हेरेँ मुहार
हाँसेर 'थ्यांक यू' भन्दै गइन् उनी
निरीक्षकले भन्यो, 'खै पन्चिङ गरौं'
नदेख्ने गरी एडमिट कार्डले
लुकाए बिन्तीपत्र मनमा
जसले थियो हेर्नु, उसले स्पष्ट देखिसक्यो
स्वीकार भो, अस्वीकार भो
रहेन चासो मेरो अब
मेरो मैदानको पालो बिसाइ
खुट्टा फाली, हात उठाइ
मन हलुङ्गो भयो यसरी
बिनाचालको तैरण जसरी
अब पालो उनको रह्यो
चिट असलमा पर्यो परेन
हेर्न बाँकी जुनको रह्यो
म साँचेर मनमा
उनको हाँसो राख्ने भए
चिट लुकाको खल्तीभित्र।