जीवन यात्रा सबको हुन्छ छुट्टाछुट्टै प्रकृतिको
आफ्नो कर्म, आफ्नै भाग्य अरु बाँकी समष्टिको
मेरो जीवन, मेरो भोगाइ अनि मेरो स्मरण
यसैमा नै भयो मेरो सृजनाको अंकुरण।
मनमा कुरा खेलाउँदै विकट पहाड चढ्दै गर्दा
च्वाँस्स दुख्यो मेरो मुटु मानवतामा प्रहार हुँदा
अनायसै जीवनको छुट्टै अर्थ खोज्न पुगें
भावनामा बहकिई फेरि अर्को पाना भरें।
जब सुनें मैले तिनको कारुणिक कथा व्यथा
सोचें मैले उतार्दिने तिनीहरूको जीवन गाथा
चाहें मैले सृजनामा भावनाको बाढी पोख्न
देखे जति सबै दृश्य शब्दभित्रै कैद गर्न।
लक्ष्य मेरो रचनामा ती दुखीका पीडा बोल्ने
उनीहरूका जीवनभोगाइ शब्दमा नै समेट्दिने
कल्पनामै तिनका सारा संघर्षका कथा लेख्ने
सपनामै सही बरु, तिनका खुसी मुहार हेर्ने।