कविता
मेरो कविता सधैं आफैंमा आफ्नो गीत बनोस्
शब्द शब्दहरू मिलेर आफ्नै भाकाहरू बनोस्
कहिले आफ्नै गाउँमा अनि कहिले सहरहरूमा
बेलाको बोली भएर आफ्नै मन आवाज बनोस्
मेरो कविता शब्दहरू मिलेर मनबगान बनोस्।
मेरो कविता आज आफैंमा आफ्नो वेदना बनोस्
आफ्नै शब्दहरू मिलेर नयाँ जीवन गाथा बनोस्
कहिले आफ्नै गाउँमा अनि कहिले सहरहरूमा
वेदना भुलाउने आधार बनेर मधुर संगीत बनोस्
मेरो कविता शब्दहरू मिलेर जीवन गीत बनोस्।
मेरो कविता शब्दहरू सँग आफ्नै एकता बनोस्
शब्द शब्दहरू मिलेर आफ्नाहरूको बल बनोस्
कहिले आफ्नै गाउँमा अनि कहिले सहरहरूमा
शान्तिको आवाज भएर विकासको मूल बनोस्
कविता शब्दहरू मिलेर देशको समृद्धि बनोस्।
मेरो कवितामा शब्दहरू आफैंमा प्रेमिल बनोस्
शब्दहरू मिलेर आफैंमा प्रेमिल जीवनरंग बनोस्
कहिले आफ्नै गाउँमा अनि कहिले सहरहरूमा
प्रेममय कहानी विकासको आधारस्तम्भ बनोस्
मेरो कविता मेरो युगको रसमय प्रेमकथा बनोस्
मेरो कविता आफैमा कहिले आफ्नै आँसु बनोस्
शब्द शब्दहरूमिलेर कहिले आफ्नै ब्यथा बनोस्
कहिले आफ्नै गाउँमा अनि कहिले सहरहरूमा
दुःख वेदना भुलाउन सक्ने गोधुली साँझ बनोस्
मेरो कविता आँसु बोक्ने कसिलो सागर बनोस्।
मेरो कविता कहिले आफ्नै निम्ति अक्षर बनोस्
मन भित्रका कैयन् भाकामा कथा बनोस्
एउटा युगको कथामा मानव जीवनशैली बनोस्
कहिले आफ्नै गाउँमा अनि कहिले सहरहरूमा
समूल जीवनको एउटा सार्थक कहानी बनोस्
मेरो कविता कहिले आफ्नै युगको दर्पण बनोस्।