सपना हुनु जीवनका पीडाका एण्टिबायोटिक हुनु हो। राजेशले जागिरको अनेकौं जोखाना हेर्दै, पार्टीका झन्डा फेर्दै, जिन्दावाद र मुर्दावाद गर्दै कयौं स्थानीय नेतालाई अबिर माला पहिरायो आफ्नो उमेर ओछ्याएर स्वागत गर्यो।
समयको धुँवा बनाएर पुज्यो हरेकलाई। विवाह उसको सानैमा भयो, सपना थियो सफलतापछि मन परेकी राधालाई भित्र्याउने तर सपना समयले ताछ्यो तर उस्का आदर्शहरू झन् तिखारिँदै गए,अग्लिँदै गए आँगनको बासझैं राजनीतिका तरंगित भाषण सुन्दा ऊ जोडले ताली बजाउथ्यो। उसका मैला हातका तालीको गुन्जायमानमा अगाडि नेता झन् उत्तेजित हुँदै मुठी उचाल्थे आफ्ना सुकिला सपना पूरा गर्न देश कायापलट बनाउने काइदाका सपनाहरू छरेर टाप ठोक्थे, हार्ने पनि जित्ने पनि, जुवाको खालमा जुवाडेहरूले तास छोडेझैं।
उसको मोबाइलमा प्राय: सबै नेताको नम्बर सेभ छन्, बेला बेला साथीहरूलाई लाउडस्पिकरमा आफ्नो संवाद सुनाउँछ त्यसपछि उसको अनुहार बलेको हुन्छ शिरको टोपी कुनै हुचिल (चिल) जस्तै वर्षौंदेखि टाउकोमा बसेकोजस्तो छ, त्यो विरलै खोल्छ उसले।
जागिरको लागि कुनै कसर बाँकी नराखी ऊ अधमरो सापझैं घ्रिसिरहको थियो गाउँमै।
नेताहरूले आफन्त र आसेपासे सबै ठाँउमा भर्ति गरिसकेका थिए। उसका उग्र आदर्श, बथान छुटेका पाठाझैं टिट्याइरहेका थिए उसमा उसका आदर्शहरू ब्याकफायर भैरहेका थिए। मानिस महत्वपूर्ण हो कि उसको आदर्श ऊ प्रश्न आफैंलाई सोध्थ्यो र उत्तरहरू झन् अप्ठ्यारा प्रश्नहरू जन्माउथे। ऊभित्र बेनामी आधी उम्रिरहेको थियो उसकै विरूद्ध।
उसले एक्कासि हजुरबुवाले पढ्ने गीता निकाल्छ, हेर्छ त्यहाँ पनि क्रान्ति नै भेट्छ तर कर्मको क्रान्ति आफ्नो आदर्श हजुरबुवा पनि थिए, उसका, जो गरिब रहेर पनि हरेक गाउँलेका मनमा बसेका थिए।
ऊ निरन्तर किताब पढेको देखेर गाउँ लोक सेवा आयोगको तयारीमा रहेको भानमा थियो। ऊ केही न केही गर्ने निर्णयमा पुग्यो र बोइलर कुखुरा पाल्ने निर्णय गर्यो।
सेता बोइलरका कुखुरा उसका सपनाका फूलभन्दा गोरा थिए।
उसले भौतिकवाद र अध्यात्मावादको मिश्रणबिना देश उभो नलाग्ने भन्दै सम्पूर्ण गाउँलेलाई पार्टीका दासविरूद्ध आफ्नै टिम तयार गर्न लाग्यो। यो पाच्य थिएन, राजेशको प्रगतिले गाउका टाठा बाठालाई जलाइरहेको थियो।
एकदिन उसको बोइलर पालेको घरमा आगो लगाइदिन्छन् र उसका सपनाका फूलहरू खाग हुन्छन्। ऊ धेरै ठाउँ धाउँछ न्यायको लागि, उसले फेरि अर्को कुरा थाहा पाउँछ न्याय गरिबको लागि हैन, यो त हुने खानेकै लागि मात्र रैछ।
यहाँ खराबहरूको समूहमा असल हुनु नै खराब रैछ। आमा भन्दै पहिलो पटक ऊ रून्छ आमा र श्रीमतीको अगाडि। अगेनाको नजिक उसलाई माया गर्ने आमा र श्रीमती झन् डाको छोडेर रून थाल्छन्। यतिकैमा रूवाइ मिसिएको बोलीमा ऊ फेरि भन्छ,
‘किन यति धेरै दु:ख मानेको राजेश तँ जिउँदै छ नि कुखुरा पो मारेका हुन् कुकुरहरूले’
राजेश र उसका सपना अझै उम्रिन्छन्, आगलागीपछि खर उम्रेझैं खरबारीमा त्यो रात ऊ निदाउँदैन, रात मजाले घुर्छ अँध्यारो।
गाउँभरि हल्ला छ, खोर खाग भएको, ऊभन्दा पछाडि पार्टीमा लागेका मान्छेहरूले घर घडेरी जोडिसके सहरमा, उसले अहिलेसम्म आदर्शको गीत गाएकै छ भन्ने निष्कर्षमा टुंगिन्छ, हरेक छलफल। समाजको अलिखित आदर्श हो यो, हरेकले यो गर्नै पर्छ यदि कसैले सफलताको तराजुमा पासाङ्क ल्याउने हो भने, चिन्तै चिन्तामा आफूलाई मार्नु त किस्ताबन्दीमा आत्महत्या गर्नु हो। ऊ सोच्छ- क्रान्तिको पक्षपाति, संघर्षबाट भाग्नु कायरता हो, उसले श्रीमती र आमाले भन्ने गरेको विदेश जाने विरूद्ध अझै केही गर्ने गाउँमै भनेर सुनाउँछ। विदेश नजानु उसको आदर्शको पहिलो च्याप्टर हो, आमा मधुरो स्वरमा भन्छिन्, ‘हामीलाई कहाँ रहर छ तिमीलाई विदेश गएको हेर्न, तर गाउँमा केही गर्न दिँदैनन् नभए हरेक घर किन खाली हुन्थ्यो।’
फेरि उसले भन्छ, ‘यहाँ न्यायको लागि आवाज उठाउने फेरि मबाहेक को नै छ र?’
‘छोडदिनुस् त्यस्ता कुरा, दुनियाँले कति प्रगति गरिसके, मान्छेले कानमा गलामा हेर्न नमिल्ने गरी सुनले छापेर हिँड्छन्, धेरै भो अब सोच्नुस है’ भनेर श्रीमती माज्दै गरेका भाडाहरू बेस्सरी बजार्छिन् भुइँमा।
राजेश पहिलोपल्ट श्रीमतीको सशस्त्र आवाजले एकछिन अन्यौल हुन्छ र भन्छ, ‘भनेपछि, सबैको आम माग म विदेश जानु रैछ, हैन?’
समाजको, देशको, परिवारको सबैको एकछिन अँध्यारो सन्नाटाले चुपचाप गोद्छ राजेश र उसको आदर्शलाई, केही नबोलेपछि आमाले सन्नाटा चिर्दै थप्छिन, ‘तैंले केही त गरेकै छस् तर विदेश नगई हामीले सोचेजस्तो र अरू गाउँलेले हिने जस्तो हामी हिन्न सग्दैनौ’ त्यो रात पहिलो पटक राजेश कुनै उत्तर नदिएर सुत्न जान्छ।
बिहान सबेरै निस्किन्छ गाउँ, बुहारी केही बोल्दिनन्, रिस अझै नसकिएको जस्तो चुपचाप बस्छिन्। माथिको सल्ले डाँडाझैं।
घरमा बढी समस्या थपिँदै जान्छ। सामूहिक कृषि फर्म पनि असफल हुन्छ, यसले घरमा एउटा कानुन लागू हुन्छ। ‘विदेश जाने भए जे पनि बेच्दा हुन्छ। मानवीर फेरि विदेश जाने तरखरमा छ।
राति कुरा गर्दै मानवीर भन्छ, ‘जाऊ के भो एकपटक हेरिन्छ विदेश केही सिकिन्छ अनि कमाइन्छ पनि, म डिप्लो गरेको मान्छे त गएँ, देशमा स्थिति त तपांईंलाई थाहै छ।’
यसो भन्दै गर्दा मानवीरकी श्रीमती मस्किँदै थप्छिन, ‘गैस्यो एक पटक, के भोर यता भाउजु र म मिलेर काम गरौंला नि’
मानवीरले सहरबाट लभ म्यारिज गरेको हो। उनको हातमा स्मार्ट फोन छ। बेला बेला स्यार स्यार गर्दै हेर्छिन्।
तर समस्या विदेश जाने खर्च? खर्च कताबाट जुगाड गर्ने भन्ने प्रश्न भुइँमा नखस्दै, श्रीमतीले भन्छिन, ‘हजुर विदेश जानु हुन्छ भने मेरो माइतीबाट पनि सहयोग गर्नु हुन्छ रे’
राजेशले उतर दियो, ‘गजब’ र मनमनै सम्झ्यो अस्ति कुखुरा पाल्न ऋण खोज्दा कसैले पनि एक सुक हातमा थुकेन। विदेश जाने कुरामा पूरा दुनियाँ तयार छ पैसा दिन। यो मनोविज्ञान क्या कमाल छ। पाकेटमा नागरिकता, हातमा पासपोर्ट, मुखमा देश दिमागमा विदेश पूरा मान्छेहरू दिमागमा विदेश पालेर देश कसरी विकास हुँदो हो त? यस्तै सोच्दै, तयारी गर्छ विदेश जान। श्रीमतीलाई सुन, स्मार्टफोन, आमालाई आत्मगौरवको आफ्नै ढलानवाला घर, छोरा छोरीलाई बोर्डिङ, सहरमा कतै घडेरी अनेकौ छन् सपना। आधा समाजका अनिवार्यजस्ता आधा आफ्नै जस्ता सपना, गुलिया र अमिला।
मानवीरले एक महिनामै भिसा झार्यो। कतै कुनै दलाललाई खुवाउनु परेन। यो पनि एक बाजी जिते जत्तिकै हुन्छ। भिसा पाउनु कतै नलुटिएर, देशमा। काम राम्रो कम्पनीमा, महिनाको आम्दानी पनि राम्रै, जे सुकै राम्रो भए पनि आफ्नो खास सपनालाई आगो लगाएर, ऊ आफैंलाई पोलिरहेको थियो सेकुवाझैं।
विदेश उड्ने दिन पनि तोकियो, विदेश जाँदा काठमाडौंसम्म जाने कुराले घरमा राजेशको र मानवीरको श्रीमतीको तयारी झन् बेजोड थियो। गाउँमा राजेश विदेश जाने कुरा एक रहस्यमय थियो।
धेरैले विश्वास गरेका थिएनन्। धेरैले यस कुरामा बाजी लगाइरहेका थिए दसैं-तिहार सकेर, मंसिर १ गते घरबाट हिँड्ने दिन आइपुग्यो।
अघिल्लो रात कोही सुतेन घरमा। आमाले आधा खुसी, आधा चिन्तामा तयार गरिन् चिल्ला रोटी। छिमेकीहरू पनि निस्किए बिहानै आँगनमा कहिल्यै नबोल्ने मान्छेहरू पनि आइपुगे।
विदेश यात्राको कामना गर्न। राजेशलाई बल्ल लाग्यो मैले ठिक काम गर्दै छु। बल्ल सामजिक हुँदैछु।
मानवीर र उसकी श्रीमती पनि आइपुगे ठाटिएर। राजेशले सबैको आशीर्वाद गुटमुट्यायो झोलामा र आमालाई ढोग गर्यो दुई थोपा आँसु चुहाएर खुट्टामा।
आमाले दुई हात जोडेर भगवानसँग मनमनै प्राथना गरिन्। र भनिन, ‘धेरै कोसिस गर्यो गाउँमै केही गर्न, नेताहरू जितायो, माननीय बनायो यो त बिचरा मूलबाटोको आसी उध्याउने ढुंगाझैं सबैलाइ तिखार्यो, उनीहरूले आ-आफ्ना भारी पूरा गरे। यो रित्तै थियो, बल्ल आफ्नो बाटो लागेको छ। कुल देउता दाहिना रहून् अरू क्या भनुत, बा’ यति भनेर गला अवरूद्ध भयो आँखाबाट आँसु निरन्तर झरिरहेका थिए।
उसले गाउँलेको लाजले जंगलको बाटो जाने निर्णय गर्यो। यता गाउँभरि हल्ला भो राजेश पनि हिँड्यो भेडा चराउन, कुखुरा गोलखाडी बनाएर चल्यो केटो खाडीतिर हाहाहा गाउँका चिया पसल गुन्जायमान भए।
केही दिन उनीहरू जंगलको बाटो बस पाउने ठाउँसम्म पुग्न करिब एक दिन पूरा लाग्थ्यो। अगाडि राजेश र मानवीर हिँडिरहेका थिए, पछाडि उनीहरूका श्रीमतीहरू, मानवीरकी श्रीमतीले एयरपोर्टमा छुट्टिने बेला भिडिओ बनाउनु पर्छ, अँगालो हालेर छुट्टिएको भनेर गाइड गरिरहेकी थिइन्।
राजेशकी श्रीमती भने आफूले यस्तो काम उजेलोमा कहिले नगरेको भनेर हाँस्दै बाटो काटे।
नाइट बसमा राजेश र मानवीर सँगै बस्ने र श्रीमतीहरू सँगै बस्ने भनेर राजेशले भने तर, मानवीरकी श्रीमतीले मानिनन्। उनले हाँस्दै भनिन, ‘अब केही दिनमै हामी छुटिने जोडी जोडी बस्नु पर्छ है’ राजेशले पनि हुन्छ भने उता उसकी श्रीमती टाउको निहुर्याएर लजाइरहेकी थिइन्। नाइट बसमा उनीहरू सँगै भए पनि, खासै कुरा केही भएनन्, राजेशलाई विदेश जान लागेको हो कि होइन? भन्ने फोन आइरहेको थियो।
उसले एकचोटि हो फर्केर फेरि गाउँकै सेवा गर्ने हो यसो घुमफिर पनि हुन्छ भन्ने रेडिमेट उत्तर फर्काइरहेको थियो।
राजेशलाई उत्तर फर्काउँदा, फर्काउँदा आफैं फर्किऊ कि झैं हुन्थ्यो तर ऋण र सपनाहरूले चिमोठ्थे।
काठमाडौं पुगेकै दिन धेरै ठाउँ घुमेर फोटो पनि खिचे मानवीरले उडानको कागजी काम गरे।
विदेश जाने दिन बिहान एयरपोर्ट जान मानवीरकी श्रीमती पूर्ण मेकअपमा थिइन्। राजेश र उसकी श्रीमती विवाह गरेदेखि छुट्टिएका थिएनन्। आज चाहिँ अलि नर्भस जस्तो देखिन्थ्यो राजेश।
पहिलोपल्ट ऊ छोड्दै थियो देश, आफ्ना प्रिय मान्छे। भित्रभित्र श्रीमतीको, छोरा छोरीको आमाको न्यास्रो एकै पटक लागिरहेको थियो। घरि ट्वाइलेट जान्थ्यो। खाने कुरा पनि खाएको थिएन उसले। एउटा अनौठो हतास, उकुसमुकुस उसले पहिलो पल्ट महसुस गरिरहेको थियो।
छुटिने बेला चुहिएका आँसु अनुहारको मरूभूमिमा अगणित कथाहरू भन्दै बगिरहेका थिए। पहिलो पटक शब्दहरू बिनाको पहिलो महाकाव्य उसले आफ्नो श्रीमतीको अनुहारमा पढेको थियो।
समयको सबभन्दा कुरूप गीत उसले आफ्नो श्रीमतीको गलामा गाँठो परेको देखेको थियो। ओठहरूले थरथराएर थामिरहेका महाभूकम्पहरू देखेको छुटिने बेला पहिलो पटक देखेको थियो।
आफू आत्मा र शरीर बेग्ला बेग्लै भएको पहिलो पल्ट महसुस गरिरहेको थियो। उनीहरू छुटिए, मानवीरको श्रीमतीले भिडिओ बनाइन् तर राजेशकी श्रीमती चुपचाप उभिरहिन ढुंगा झैं ऊ राजेशलाई भित्र छिर्ने बित्तिकै कसैले जोड दिँदै भन्यो।
‘यो हरियो पासपोर्ट आफैं हराए पनि हराउनु हुँदैन। यसलाई जतनले राख्नू’ ड्याम्म कसैले छाप लगायो पासपोर्टमा र मुटुमा आफ्नो श्रीमतीको छाप लगाएर ऊ ठूलो विमान चढ्छ।
ऊ अघि श्रीमती छोड्ने बेला, आमालाई गाउँ छोड्ने बेलाभन्दा बढी भक्कानिन्छ। किन हो कुन्नि फर्केर आउँछुजस्तो लाग्दैन उसलाई।
एकछिन पछि विशाल विमानले भुइँ छोड्छ।
काम सोचेजस्तो हुँदैन तर पनि सब ठिक छ भन्दै, केही महिनापछि अलि अलि खर्च घरमा पठाउँछ। श्रीमतीले भिडिओमा कुरा गर्न मिल्ने मोबाइल पठाइदिन आग्रह गर्छिन, त्यो पनि विदेशमा कसैबाट सापट मागेर पठाउँछ। र भन्छ- फेसबुकबाट अरूसँग बातचित नगर्नू, यसले बिगार्छ मान्छेलाई। मोबाइलमा आमासँग धेरै कुरा उसले विदेश गएपछि गर्छ। र भन्छ, ‘आमा तपाईंलाई गुलियो चियाले मधुमेह भयो मलाई त गुलिया सपनाको मधुमेह होलाजस्तो छ हरेक दिन यस्तै सपनामात्रै देख्छु। ‘उसले ऋण तिर्नु छ। अनि कति कति अरू, तर उता विदेशमा भनेको ठाउँमा जागिर नमिलेर अर्कै ठाउँमा थोरै पैसामा काम गरिरहेका छन् मानवीर र राजेश।
राजेश बेला बेला भन्छ, ‘मेरै भाग्यले तैंले पनि दु:ख पाइस्’ यत्तिकैमा उनीहरूको कम्पनी अवैधानिक रहेको पत्ता लाग्छ। रातारात भागाभाग हुन्छ।
मानवीर र राजेश फरक-फरक ठाउँमा भाग्छन्। राजेश ज्यादै अप्ठ्यारो काममा फस्छन्। काम गर्दागर्दै एकदिन उसको आगलागी हुँदा निधन हुन्छ। त्यो खबर मानवीरले घरमा भन्न सक्दैन। एम्बेसीमार्फत् घरमा खबर आउँछ।
आगलागी हुँदा राजेशको मृत्यु भयो र उसको अस्तु नेपाल पठाइँदै छ। त्यो खबरले एक पटक फेरि सम्पूर्ण गाउँभरिका मानिसलाई भावुक बनाउँछ उसको गुनगान गाइन्छ।
तर घरमा आमा र श्रीमतीको एक सपनाको मृत्यु हुन्छ। श्रीमती केही महिनामै फेरि त्यही एयरपोर्ट पुग्छिन् जहाँ उनले आफ्नो सपनालाई अंगालो हालेको भिडिओ बनाउन पाएकी थिइनन्। त्यहाँ, उनका श्रीमानको नाम कर्मचारीले जोडले लिन्छ र भन्छ- यो अस्तु बुझ्नुस्। एउटा सानो कार्टुनमा श्रीमानलाई अंगालोमा हालेर रूँदै फर्किन्छन् राजेशकी श्रीमती सपनाको अस्तु बोकेर सारा मिडियाले उनको भिडिओ बनाउँछ र प्रसारण हुन्छ देशभर। विभिन्न च्यानलबाट।