सानो हुँदा
आमाले भन्नुभयो-
कान्छो छोरो ठूलो भएसी
बाआमालाई पाल्छ
बच्चा म केही नबुझ्ने
मनमनै सोचेँ
मेरो सपना ठूलो भएसी बाआमालाई पाल्नु हो
आँखामा दुई थोपा खुसीको आँसु देख्नु हो।
स्कुल जान थालेँ
कपुरी क, खरायो ख
दुनोट खरखरी भन्न सक्ने भएँ
सरहरूले भन्नुभयो
तिमी ठूलो भएसी
डाक्टर इन्जिनियर बन्नुपर्छ
हामीहरूको मेहनतको फल
तिमीले जिन्दगीभरि
सम्झेर हाम्रो नाम उँचो बनाउनु पर्छ
कलिलो दिमागमा छाप बस्यो
डाक्टर इन्जिनियर नै मेरो जीवनको सपना हो
किनकी सरहरूको छाती गर्वले फुलेको हेर्नुछ
मेरो नाम शानले लिएर
यो मेरो विद्यार्थी हो भनेको सुन्नु छ।
स्कुल सकियो
एसएलसी सकियो
मार्कशीटमा ठूलो-ठूलो अङ्क आए
साथीहरू खुसी भए
अनि भने
तिमीले हामीहरूको नाम राख्नुपर्छ
सोचेँ मेरो सपना
साथीहरूको ममाथिको विश्वासलाई मूर्त रुप दिनु हो
बालापनको मिठा यादहरूलाई
समेट्दै यो मेरो साथी हो
भन्दै गर्व गरेको
अनि आफ्ना बालबच्चालाई चिनाउँदै
खुसी बाँडेको
हेर्नु हो।
हातमा मार्कशीटको थैलो बोकेर
मनमा रहरहरूको पोको बोकेर
सपनाको सहर छिरेँ
कैयौं मानिसहरूको भिड
अनि सपनाहरूको बीचमा
मेरो सपनाहरू फुच्छे देखियो
केही मूल्य नभएको सस्तो बन्दा झैं
एकै ठाउँम थन्किरहेको
मूल्यहीन सपना
तब दाइहरूले सम्हाल्दै भन्नुभयो
हामीहरूले पूरा गर्न नसकेको
समयले पूरा गर्न नदिएको
हामीहरूको सपना अब तैँले पूरा गर्नुछ
कच्चा दिमागले सोच्यो
मेरो सपना दाइहरूको सपना पूरा गर्नु हो
समयले कच्याककुचुक पारेको
कैयौं सपनाहरूलाई एकतृत गरेर
उहाँहरूको अनुहारमा चमक देख्नु
नै मेरो सपना हो।
तहहरू थपिँदै गए
सर्टिफिकेटका चाङहरू थपिँदै गए
साथीहरू थपिँदै गए
रहरहरू थपिँदै गए
रहरहरूको काम नै के छ र?
थपिँदै जानु त हो
रहर अनि सपना के एकै हुन् त?
किताबहरूको थुप्रो अगाडि बसेर
सर्टिफिकेटमा नम्बरहरूको भिड हेर्दै गर्दा
म डाक्टर त बनेँ
साथीहरू खुसी भए
सरहरू गर्वले छाती फुलाउँदै
मेरो विद्यार्थी भन्ने पनि हुनुभयो
बाआमाको आँखामा खुसीको
आँसु पनि टिल्पिलाए
दाजुहरूको सपना पनि पूरा भए
तर
म
मेरो सपना?
मेरा सपना के थिए
के बन्ने थिएँ
के हुने थिएँ
कता पुग्ने थिएँ
किताबहरूको भिड अगाडि बसेर सोच्दै छु
के थिए त मेरा सपनाहरू
के छन् त मेरा सपनाहरू
मेरा खुसीका पन्नाहरू के छन् त?
सपना
मेरा सपना?
अनि सोच्छु
बाआमाको खुसी
दाजुहरूको हाँसो
साथीहरूको साथ
अनि बाँकी जीवन
अरु के नै चाहिन्छ र जीवन जिउन
खुसी हुन
अनि मुस्काउँदै भन्छु
सबैलाई खुसी बनाउनु नै मेरो सपना हो
सबै खुसी देख्नु नै मेरो सपना
एकमात्र सपना!