असफलताको कालो पहाडमुनि
निराशाको पाताल प्रवासतिर
म हराएको छु
म बिलाएको छु
कहिल्यै नफर्कने गरी
अनिश्चित दिशाविहीन यात्रामा
मलाई नपर्ख प्रियसी।
खुसीका गुलाबहरू फुलाउने रहरमा
दिलाएर भरोसा तिमीलाई
पार गर्दै सात समुन्द्र
उमंग र उत्साह बोकेर
बिदाइका हात हल्लाउँदै गरेका वाचाहरू
अधुरा हुनेछन्
अपूरा हुनेछन्
परिबन्दको पिँजडाभित्र
म कैद छु
जघन्य अपराधको अपराधी जस्तो
अँध्यारो त्यो कालकोठरीभित्र
लामा र पट्यारलाग्दा दिनहरू
निरस र निद हराएका रातहरू
विवशतामा बितिरहेका छन्
मलाई नपर्ख प्रियसी।
ओठको मिठो मुस्कानमार्फत्
अभिव्यक्त पल्लवीत सपनाहरू
वसन्तको गुलाबजस्तै
फक्रिएका रहरहरू
सती पठायौ भने
यो अन्याय हुनेछ
यो अक्षम्य हुनेछ
बिर्सेर अतीतका पलहरू
विवशताको कठघरा टुटाउँदै
जिन्दगीको आँखिझ्यालबाट
नियाल्दै सुन्दर संसार
मातृभूमिको न्यानो काखमा
रंगिन बगैँचा बनाउँदै
अनवरत यात्रामा अघि बढ
मलाई नपर्ख प्रियसी।
नियतिको बर्बरताले
कुल्चिएको हृदयभित्र
कसरी सजाउन सक्छु
अनुपम प्रेम कहानी
कसरी उदाउन सक्छु
सुन्दर सुनौलो बिहानी
उडेर मुक्त आकाश छिचोल्दै
चियाइ हेर पर कतै
पर्खेको छ आगमन तिम्रो
विधाताको रोजाइले
मलाई नपर्ख प्रियसी।