जुन बेलादेखि मैले बा भन्न जानें, त्यो बेलादेखि मात्र बा मसँग खुसी हुनुभएको रे! आमाले भन्नु भएको। किनकी म तीन भाइ मध्येको कन्छो सन्तान। पहिले नै दुई छोराहरू भएपछि एउटी छोरी भैदिओस् भन्ने बाको चाहना, प्रकृतिले के बुझोस्! अंश लगाउँदा थोरै भागमा परे तीन भाइलाई गुजारा चलाउन हम्मे पर्छ भन्ने बाको चिन्ता। ठिकै न हो त्यतिबेला, छोरी भए अंश दिनुपरेन। बिहे गर्यो पठाइदियो। खेतबारी दुई भाइलाई अंशमा पनि पुग्ने। बा गलत हुनुन्न थियो।
भगवान पनि निर्मम भए, ठूलो दाजु १६ को हुँदा टपक्क चुँडेर लगिहाले। दुईभन्दा तीन हुनै पाएनौँ। बाआमा विक्षिप्त हुनुभयो। देखेकाले अझै नि भन्छन्, तिम्रा ती बितेका दाजु असाध्यै राम्रा थिए भनेर। बाको उमेर आधा शताब्दी घर्किएपछि मात्र म जन्मेको हुँ। उमेर पुगेको छोरो गुमाउनुको पीडा अनि बुढेसकालको बचेरो कहिले हुर्काउनु बढाउनु भन्ने अर्को चिन्ता।
धेरैले सुनाउँथे बालाई, 'बुढेसकालको छोरोले कहिले कमाउने होला र खुवाउला, पाल्ला।'
बा जवाफमा मौनप्रायः हुनुहुन्थ्यो। बोलिहाले पनि 'भै त हाल्यो, हुर्केला नि जसोतसो' यस्तै यस्तै भन्नुहुन्थ्यो। म केही मेसो पाउँथें त्यतिबेला पनि। आजकल म त्यो बेलाका केही पात्रहरूलाई अझै पनि भेट्दछु। सायद उनीहरूका छोराहरूले यी बाउहरूलाई खासै सेवा गरेनन्।
त्यो विगत कष्टकर नै थियो। खान र लगाउन जसोतसो पुगेकै थियो, खन्ने खोस्रने जमिन भएकाले पनि। बाँकी त त्यस्तै नै हो, कुनै आर्थिक हैसियत वा पूर्वाधार बन्नैसक्ने अवस्था थिएन। खेतीपातीको आम्दानीले खेतीपातीकै ऋण तिर्न ठिक्क। पैसा देख्न र देखेको पैसा बचत गर्न सपनाजस्तै मान्नुपर्थ्यो। बँचे पो बचत।
आमाले बाको लागि बनाइदिनु भएको जेसुकै खाजा होस्, मलाई औधि मन पर्ने। आफ्नो सकेर बाको भागतिर हात लगिहाल्थें। यस्तो थियो कि मन, बाको थालको भात सबैभन्दा मिठो खानेकुरा हुन्छ। त्यो खान नपाइन्जेल गनगन र ठुसठुस।
म असाध्यै पछ्याउँथें रे बालाई, आमाले भन्नुभएको। कहिले काँधमा त कहिले अघिपछि लिएर हिंड्नु हुन्थ्यो। बाको अनगिन्ती घरायसी धन्दा सक्नै पर्ने। त्यही भएर आमालाई हप्काउनुहुन्थ्यो- 'यसलाई लैजाऊ त। मेसै दिएन, हिंड्नै पाइएन।'
म चाहिँ यसो फुत्कियो कि बाको छेउ पुगिहाल्थें। हिउँदमा चरनको बेलामा म बासँगै फाँटमै हुन्थेँ दिनैभरि, गाईवस्तुको अघिपछि। अलिपछि स्कुलको बानी लाग्यो। अक्षर सिकाइले थकाउने भएर होला सुतिहाल्थें। मट्टितेलको बत्तीले हावा धान्दैन थियो अनि हावा धान्ने र छेक्ने घरको भित्ता थिएन। टुकीको धुवाँ नाकमै लाग्थ्यो। किताब, कापी र स्कुले ड्रेस आमाले विशेष जतन गर्दिनुहुन्थ्यो। बाले पढाउनुहुन्थ्यो, बुझ्दिन थिएँ। आमा त्यही सिकाउनुहुन्थ्यो तर बुझ्दथें। बा ठट्टा गर्नुहुन्थ्यो, 'तैं भएस यसको मास्टर्नी।'
सावाँ अक्षर राम्ररी सिकाउनुभयो आमाले र गन्ती बाले।
म बढ्दै थिएँ, बा पुरानो हुँदै जानुभयो। बाहिरको काम बालाई खासै थिएन। खेतीपातीमा हामी दाजुभाइ नै सकेको गर्थ्यौं। बाको भान्सा मिठो हुन्थ्यो। २५ वर्षसम्म कलकत्ताको बसाइ, खानको सौख र बनाउन पनि पारखी। बाको बिहान चाँडै नै उठ्ने बानी, ममा त्यो बानी ठ्याक्कै आयो। छिटो निद्रा खुल्छ।
मैले एसएलसी पास गरें राम्रै अंकले। साइन्स कलेज भर्ना भएँ। पढ्न पर्छ भन्ने चाहिँ मनमै थियो। क्याम्पसबाट फर्कने बित्तिकै किताब कापी खोलेर बसिहाल्थें। बा ठट्यौली पाराले सुनाउनुहुन्थ्यो, 'यसले अफिस खोल्यो अब। चिया ल्याइदेऊ।'
आमा दिनु हुन्थेन- 'चिया दिए भात खान्न फेरि यसले।'
मेरा मोटामोटा किताबहरू पल्टाएर खुब हेर्नुहुन्थ्यो बा। म चित्रहरू कोर्दै जान्थें अप्ठ्यारा अप्ठ्यारा अनि बा एक तमासले हेरिरहनु हुन्थ्यो। एकदिन माइक्रोस्कोपको चित्र दुरुस्त बनाएको देख्नुभयो।
'यो त गोबर जाँचमा फलाको डाक्टरले हेर्थ्यो, त्यही होइन र कान्छा?'
मैले मुन्टो हल्लाउँदै हाँसेँ मात्र।
'तँ डाक्टरी पढ्ने होस र केटा?'
म बाको अगाडि किंकर्तव्यविमूढजस्तै भएँ। आमाले बोल्नुभयो, 'भन्न त भन्छ नि, केको जेथाले पढाउनु र! जति पढ्ला पढ्ला, जसरी पढ्ला पढ्ला।'
बा अझै त्यही चित्र हेरेर बोल्दै हुनुन्थ्यो- 'सरकारी क्याम्पसले पढाउला नि।'
आमालाई सम्झाएँ क्यालकुलेटर किन्नुपर्ने कुरा। थान्कोमान्को सकेर आज यी झुतेलाका मकै सबै नङ्ग्याउँछु र भोलि छोडाउँछु अनि किन्लास्। त्यो रात आमाछोराको गन्थन आधा रातसम्मै चल्यो र झुतेलाका मकै पनि तयार भए। भोलिको दिन शनिबार भएकोले दिनभरमा मकै पनि छोडाइयो। मैले नयाँ साइन्टिफिक क्यालकुलेटर पाएँ। खुब तयारी गरें आफ्नो पढाइको।
पुसको चिसोले निकै दुःख दियो। बिहानै साइकलमा कलेज, लगभग १२ किलोमिटर जान अनि आउन उति नै। चप्पलले कति छेक्थ्यो र जाडो? एक जोर नयाँ जुत्ताले पैताला छोपियो। अबको रफ्तार सहज भयो। आमाले जोहो गर्नुभएको त्यो जुत्ता किन्ने पैसा कर्जाको ब्याज चुक्ता गर्नुपर्ने। बालाई ढाँटेर मलाई दिनुभाको। सायद बालाई हाम्रो त्यो बदमासी कतै थाहा भएन। नपुग हिसाब आमाले जसोतसो मिलाइदिनु भयो।
मैले क्याम्पस सुरु गरिरहेको थिएँ। दाजुको एकजना साथी र मेरो पनि बातचित मिल्थ्यो उहाँसँग। एकदिन मजाकमा भन्नुभयो- 'मास्टर बन्ने हो तपाईं?'
मलाई यो प्रस्तावले एकछिन अलमल्लमा पार्यो। त्यसैले केहीबेर बोलिनँ।
'म भोलि स्कुलमा कुरा राख्छु अनि खबर गर्छु है तपाईंलाई। प्राइमरी लेभलमा साइन्स टिचरको जरुरी छ। म कोसिस गर्छु तपाईंलाई। यु क्यान डु। हामीसँगै काम गरौंला।'
छोटो कुराकानिपछि मित्र जानुभयो। पर्सिपल्ट नै मलाई त्यो अवसर हात लाग्यो र म शिक्षण पेसामा अनुबन्धित भएँ।
मेरो दैनिकी व्यस्त हुन पुग्यो। महिना बितेको पत्तै भएन। जीवनको पहिलो कमाइ बाको हातमा लगेर राखिदिएँ। बाले तलब र खुसीको आँसु आमालाई एकैसाथ देखाउनुभयो। आमा पनि हर्षले पग्लनु भयो। त्यो रात हामी अबेरसम्म बसेर धेरै गन्थनमन्थन गर्यौं। बाको जागिरे जीवनको कुरा अनि कलकत्ता बसाइको आमाको रमाइलो र अनौँठा पलहरू। आमासँग बाले राख्नुभएको व्यंग। वाह प्रेम! बल्ल बुझ्दैछु खुसी हुनलाई बहाना काफी रहेछ, चाहना पालेर त कहीं नपुगिने रहेछ।
करिब दुई वर्ष मैले बालाई तलब हातमै राखिदिएँ। बाले आमालाई 'थन्क्याऊ' भन्नुहुन्थ्यो। 'तँलाई खोइ त?' सोध्नुहुन्थ्यो। म आमासँगै लिन्थें। यतिबेलासम्म त तलबको आकार पनि बढिसकेको थियो। हाम्रो गुजारालाई त्यस्तो हम्मे थिएन। बाँकी पूर्वाधार त के पारा लाग्थ्यो र तर पनि जे छ, त्यो चाहिं व्यवस्थित बनाउने कोसिस थियो नै।
मसँगै बालाई नयाँ कपडा म आफै ल्याउँथें। आमा आफैं जोहो गर्नुहुन्थ्यो, 'तँ जान्दैनस्' भन्नुहुन्थ्यो। बा आफूलाई चाहिएको चिज निर्धक्क भन्नथाल्नु भएको थियो। पुगेसम्मको सबै म जोरजाम पारिहाल्थेँ। खेतीपाती आमा र म भएर सम्हाल्थ्यौँ। बाले पूर्ण रुपमा आराम पाउनुभयो।
बिहानैदेखि म व्यस्त हुन्थें। मैले नखाई आमा भान्सा उठाउनु हुन्थेन। आमाको यो पर्खाइले साँझमा मलाई जसरी भए पनि घर पुग्नै पर्ने आदत बनायो। बालाई दबाइ म आफै खुवाउँथेँ। केही गफगाफ हुन्थे दिनभरिका। आमाको थकाइ, बाको योजना मेरा दिनभरिका नौला कुराहरू। सबै सँगै बसेर हुन्थ्यो।
हामी तीन एकअर्काका श्रोता थियौं। बाको स्वास्थ्यमा खासै ठूलो केही पनि समस्या थिएन। औषधि उपचारमा मेरो निगारानी नजिकैबाट थियो। आहारबिहारको चाँजोपाजोले बा दुरुस्त हुनुन्थ्यो।
यो खुसी दैवले धेरै देख्न चाहेन क्यारे। एक्कासी बालाई चुँडेर लग्यो। आमा र मेरो योजनाको साक्षी अस्ताउनुभयो। छलफलमा प्रश्न गर्ने मान्छे हुनुभएन। मैले सबैथोक गुमाएँ। आमाले एकदमै एक्लो महसुस गर्नुभयो। हामी एक्लो भयौं। म एक्लै एक्लै धेरै रोएँ तर आमाको अगाडि रुन सकिनँ। ममा भन्दा पीडा धेरै आमामा देख्थें। हामी सम्हालिन कोसिस गर्यौं। साँझ परेपछि आमा मेरो पर्खाइमा आँखा बाहिर राख्नुहुन्थ्यो। म दिनचर्या सकेर कसैगरी पुगेकै हुन्थें।
आजकल आमालाई हेर्छु, बालाई देख्छु। बालाई सम्झन्छु आमा देख्छु। बाको र मेरो निरन्तर कुरा हुन्छ सपनामा। जति बेला उल्झनमा हुन्छु, अनिर्णित हुन्छु त्यतिबेलै बासँगको सम्वाद बाक्लिएर जान्छ। आइरहनुहुन्छ, कहिले सवाल लिएर त कहिले समाधान लिएर। म सोधिरहन्छु 'कस्तो छ हजुरलाई?' भनेर। 'राम्रो छ, सुखी खुसी छु' भन्नुहुन्छ।
एकपटक हिजोको दिन म घर छोडेर हिंड्ने निर्णय गर्दा आमाले मलाई छोड्नु भएन। आज म आमासँग छुट्टिने कुराको कल्पना पनि गर्न सक्दिनँ। घरभित्र पस्दा आमा देखिनुभएन भने नितान्त एक्लो महसुस हुन्छ। म बाको भागको माया पनि आमालाई दिन चाहन्छु। बा भौतिक रुपमा त हुनुहुन्न नै तर उहाँको उपस्थिति हामीसँगै निरन्तर नै छ।
एक रात सपनामा बाले अलि फरक कुराले सम्झाउनुभयो जतिबेला आमा बिमारी भएर ओछ्यान पर्नुभएको थियो। मैले महसुस गरें कि सेवामा कमि हुन पुग्यो। मैले अझै बुझें बा के अपेक्षा गर्नुहुन्छ मबाट भन्ने। उहाँको आशीर्वाद मेरो लागि सम्पूर्ण जित हो। शिरमा आशीर्वाद भएपछि के नै चाहिनेरहेछ र?
सधैं बिर्सिएको एउटा कुरा। अबको सपनाको सामीप्यतामा बालाई यो कुरा सम्झिएर सोध्नेछु- 'बा, म हजुरले सोचेको छोरीजस्तै भएँ कि भइनँ?'