मान्छेको मन नै हो, कहिलेकाहीँ सम्भव नहुने कुरालाई पनि आँखाले मिठो र सुन्दर सपना संगाल्न नछाड्ने रहेछ। हाम्रो सम्बन्धमा पूर्णबिराम लागेता पनि यो पापी मन सधैं तिम्रो साथ खोजिरहेको हुन्छ। तिम्रो यादमा मेरो छियाछिया परेको मुटु थकित हुन्छ घरीघरी।
यति धेरै आफन्तबीच पनि मेरो मनले आफ्नोपनलाई तिमीभित्र खोजिरहेको हुन्छ। प्रिय, यो पत्र लेख्दा पनि मेरो हात काँपिरहेको छ। मनले नलेख भन्दा पनि दुःख व्यक्त गर्न मैले पानाको सहारा लिएको छु भन्ने कुरा सायद त्यो मनलाई थाहा नभएर होला। मेरो हृदयबाट लेखिएका केही शब्दहरू मलाई विश्वास छ तिमी झर्को नमानी एकपटक अवश्य धैर्यताका साथ पढ्नेछौ।
माया एउटा अचम्मको हतियार जसले मलाई नितान्त बेसहारा भएको महसुस गराउँछ। निकै रमाइला दिनहरू सँगै साट्ने वाचा त थियो तर कुन मोडमा कस्तो दोबाटो पर्ने हो आखिर कसले पो देखेको रहेछ र। हाम्रा सपना क्षणभरमै तहसनहस भए भनेर सोच्दा मनको आकाशमा आशंकाको बादल मडारिन खोज्छ।
हो, म तिमीलाई माया गर्थेँ अनि गर्छु पनि। यस अर्थ तिमीलाई मैले नै प्राप्त गर्नैपर्छ भन्ने थिएन। तर तिमीले मेरो मायाको कदर गरी माया साट्ने एक मौका दियौ, त्यो मेरो सौभाग्य हो। सोचेअनुसार हाम्रा वाचाहरूबाट टाढा भाग्यौ, तिमी इन्कार गर्यौ। आशा छ कुनै मोडमा हाँसीखुसी भेटिनेछौ। मायामा दरार आएको हो, मेरो माया सकिएको भने अवश्य नै हैन।
आज नागरिकता खोज्ने क्रममा झोलामा गुम्सिएर बसेको तिम्रो चिनो स्वरूप राखेको रुमालमा मेरा आँखा पर्यो। एकैछिन घोरिएर रुमलामै हराएछु। थाहा थिएन कतिखेर आँखाबाट आँसु झर्न सुरु गरिसकेछ। केही थोपा आँसु रुमालमा पर्न पुगेछ। सायद रुमालमा म तिमीलाई देखिरहेको थिएँ, तिम्रो न्याको काखको आभास मेरो आँखाले गरेको हुनसक्छ। अनि मलाई डर थियो मेरा गुम्सिएर बसेका मेरा आँसुले तिम्रो रुमालमा कतै दाग पो लाग्ने हो कि भनेर। आत्तिन पुगेछु र हत्तपत्त रुमाल पुछ्न लागेँ अनि सुम्सुमाएँ। धेरै पूराना दिनहरू आँखाअगाडि झलझली याद आए प्रिय। सायद तिम्रो रुमालले मेरो भावना बुझेको हुनसक्छ। त्यसैले त लुपुक्क लागेर मेरो हातमा बसिरहेको थियो।
हाम्रो सम्बन्धमा पूर्णबिराम लागेता पनि, यो मन सधैं तिम्रो प्रतीक्षामा हुन्छ चाहे त्यो फोन होस् या म्यासेज। कसैको फोन वा म्यासेज आउँदा मेरा हातहरू झटपट मोबाइलमा पुग्छ। कतै तिम्रो पो हो कि भनेर, अफसोच तर त्यो कहिले हुन सकेन। मैले फोन वा म्यासेज गर्न नखोजेको हैन तर सायद तिम्री आफ्नो दुनियाँमा हराइरहेको बेला मेरो फोनले तिमीलाई कुनै ठेसको नपुगोस् भन्ने मनसायले होला म सक्ने थिइनँ। किनभने त्यो ठेसको पीडा तिमीबाट म धेरै पटक महसुस गर्न पाएको छु। केही नभएता पनि तिमीले मलाई धेरै कुरा महसुस गराएकी छौ, तिमी धन्यवादको पात्र हौ प्रिय।
माया पनि बडो अजीव रहेछ प्रिय। तिम्रो नामभन्दा प्यारो मलाई अझै पनि कुनै शब्द छैन। कसैले तिम्रो नाम पुकारे भने पनि मेरो अनुहारमा क्षेणिक किन नहोस् तर पनि मेरो अनुहारमा भिन्न खालको खुसी मिल्ने गर्छ।
प्रिय तिमीसँग सोध्नु पर्ने धेरै प्रश्नहरू अझै जीवित नै छन्। सायद धेरै पूराना कुराहरू कोट्टाइरहनु मैले उचित ठानिनँ। प्रश्न मात्र हैन, तिमीसँग देखेका धेरै सपना पनि जीवित नै छन्। पूरा नहुने ती जीवित सपनाले मलाई आझभोलि गिज्जाएको महसुस हुन्छ।
तिमीलाई थाहा छैन होला हाम्रो बिछोड पछिको जुन जीवन मैले बाच्दै आएको छु, त्यो तिमीबिना निकै अपूर्ण थियो, अधुरो थियो। चाहेँ नाचाहेँ जे भए पनि हामी सँगै छैनौं। तिमीलाई मेरो याद आउँछ आउँदैन म ठेकुवा गरेर भन्न सक्दिनँ अनि अधिकार पनि रहेन तर तिम्रो यादले हरेक मोडमा म तड्पिरहेको हुन्छु।
प्रिय, सानो कविता तिम्रो लागि समर्पित गरेको छु। आशा छ तिमीलाई मन पर्नेछ।
'तिम्रा ती यादहरू सताइरहन्छन्
अपूरो हाम्रा कहानी आँखाले बताइरहन्छन्
अधुरो हाम्रो प्रेम गाथा हो मेरो सानु
प्रत्यक पाइलामा यादले सताइरहन्छन्'
मलाई अझै पनि याद छ जब तिमीले मलाई तपाईं भनि सम्बोधन गर्थ्यौ। मेरो मन अतालिन्थ्यो कारण थियो जब तिमी रिसाएको हुन्थ्यौ, तिम्रो आदार बढ्ने गर्थ्यो। तिम्रो यो शैली मलाई निकै फरक लाग्थ्यो। तिमीलाई त्यो रिसको आदरबाट अनादरमा ल्याउन खासै गाह्रो भने थिएन, प्रिय तिमीलाई ममः खाना जाउँ भने पुग्ने थियो। अझै तिमी बिना ममः खाना निकै गाह्रो हुन्छ। मुखसम्म लगेता पनि निल्न निकै कष्टकर हुन्छ मलाई। मेरा भागमा भएका ती डल्लाले मलाई हेर्दै खै उनी भनि प्रश्न गर्छन्।
मैले तिमीलाई बुझ्न सकिनँ या तिमीले मलाई। मलाई थाहा छ कि कसैलाई माया गर्नु पाप होइन भनेर। तिमीले मलाई घृणा गर्छौ, म तिमीलाई माया गर्छु। अरुको नजरमा तिमीलाई नराम्रो बनाउँछु भनेर तिमीलाई माया गरेको पक्कै होइन। आफूले मनमुटुभित्र सजाएको एउटा असल र सुन्दर फूलको मालीलाई कसरी अरुको नजरमा नराम्रो बनाउन सक्छु र? म त तिमीलाई मेरो अन्तिम सास रहुन्जेलसम्म तिमीलाई माया गरिरहन्छु। तिम्रो काखमा मेरो अन्तिम सास जाओस् भनि भगवान समक्ष प्रार्थना गरिरहन्थेँ।
खासै अफसोच लाग्दैन आझभोलि किनभने मेरो जीवनमा मेरो भागमा मात्र आँसु, पीडा, रोदन, बिछोड र धोकाले अहिले साथ छोड्दैन। तर केही छैन, आँसु पिएर बाँचेको छु। आफू सफल हुन नसके पनि तिम्रो सफलताको सधैं प्रार्थना गरिरहेको हुन्छु।
प्रिय, तिमी एकदम खास थियौ। त्यसैले त सपना र सास थियौ। सायद नै कसैलाई तिमीलाई जति माया दिन सक्ने छु न त कसैले मेरो त्यति माया पाएका थिए। मेरो शून्यताले तिम्रो जिन्दगीमा खासै ठूलो फरक नपर्ला तर तिम्रो त्यो शून्यताले मेरो जीवनमा ठूलो भूमिका खेलिरहेको हुन्छ। त्यो शून्यताले मेरो जिन्दगीका पानाहरूमा प्रश्नबिराम बनी बसेका छन्। सायद नै अब कहिले मेरा प्रश्नहरूले उत्तर पाउने छन्।
प्रिय, थाहा छैन किन आफू अपूर्ण भए पनि यो मन तिम्रो खुसी रोजिरहेको हुन्छ। यो मनले अझै पनि तिम्रो हारगुहार गरिरहेको हुन्छ तर मनलाई सम्झाउनु बाहेको मसँग अरु कुनै विकल्प छैन। तिम्रो खुसीमा रमाउन सक्ने मलाई तिमी म बिनानै खुसी हुन सक्छौ भने म तिम्रो खुसीको लागि मेरा आँसु लुकाएर तिम्रो मुस्कानमा मुस्कुराउने छु।
तिम्रो त्यो हँसिलो अनुहारमा कहिले पनि दुःखको दाग देख्न नपरोस्। कारणवश मेरो मायामा केही कमी थियो भने मलाई विश्वास छ तिमीले माफ दिनेछौ। तिमी जहिले पनि खुसी रहनु है प्रिय।
मेरी हुन नसकेकी उनी 'डेयर सूर्सा।'