रूसी युवा पुस्ताकी चर्चित कवि याना एमकाएर (Яна Мкр) को ‘आनी उछात माइख दितेई…’ शीर्षकको कवितामा आधारित भावानुवादः
तिनीहरू मेरा बच्चालाई
एक टुक्रा हड्डीको लागि
प्रतिस्पर्धामा दौडाइरहेछन्
लक्ष्यबिनै हावामा अनाहक
बन्दुक पड्काउन सिकाइरहेछन्
‘जित्यौं’ भनेर उन्मादमा
नारा घन्काउन लगाइरहेछन्
तिनले मेरा सन्तानलाई
न हृदयले हेर्न सिकाउँछन्,
न स्पर्शले महसुस गर्न लगाउँछन्
निधारको रेखाले पनि बोल्न सक्छ,
तर घाँटीमा निरर्थक शब्दहरूको सञ्चय गराउँछन्
तिनै शब्दको ध्वनीमा गफ चुट्न सिकाउँछन्
तिनले मेरा छोराछोरीलाई
सम्पत्तिमा जीवनलाई तौलिन सिकाउँछन्
धर्म र भाषाको चयन गर्न लगाउँछन्
आँसुलाई आफूभित्र लुकाउने, कला सिकाउँछन्
दौडेर पहिले कुर्सी ओगट्ने, खेला सिकाउँछन्
मेरा छोराछोरीलाई तिनले
न धान रोप्न सिकाउँछन्
न पिठो मुछ्न लगाउँछन्
बरू धूलोमैलोबाट तर्किन सघाउँछन्
सधैं चिटिक्क देखिन अह्राउँछन्
सपक्क कपाल कोर्न सिकाउँछन्
मौन र शान्त हुन लगाउँछन्
ती मेरा नानीहरूलाई आँगनमा लड्न रोक्छन्
ती मेरा बाबुहरूलाई छानामा चढ्न छेक्छन्
तर म भने तिनलाई
खेतमा पठाउँथेँ
रूखमा चढाउँथेँ,
फूलहरूसँग खेलाउँथेँ,
म तिनलाई प्रेम गर्न सिकाउँथेँ,
सपना बुन्न सघाउँथेँ
जितको एउटा गरिमा हुन्छ,
जुनसुकै मूल्यमा पनि
जित्न हुन्न है भनेर बुझाउँथेँ
म चाहन्छु…
म चाहन्छु मेरा सन्तान
अप्ठ्यारै रहून्, सजिला नहून्
ती मुसलधारे वर्षामा रूझ्न नडराऊन्
उज्यालोलाई पछ्याउँदा बाटैमा नहराऊन्
तिनले सुनको गजुर जत्तिकै
आँगनको ढुंगालाई पनि
पूजनीय ठानून्
राजा र प्रजा दुवैसँग, उत्तिकै
समान हुन जानून्
न झुकेर धेरै, तिनको ढाड कुप्रियोस्
न मात्तिएर आत्मश्लाघाले,
तिनको छाती फुलोस्
हाम्रा बाबुहरू, उदास सिनेमा हेरेर रून सकून्
बहादुर देखिन निहुँ खोज्दै
कहिल्यै अघि नसरून्,
हाम्रा नानीहरू,
मन्दिरको घण्टी बजेजस्तै गलल्ल हाँस्न सकून्
बिना कुनै बन्धन, उन्मुक्त नाँच्न सकून्
तिनको घुँडामा घाउको खत होस्,
जसले कहिल्यै नदिओस् बिर्सन,
कि कसैको छातिमा टेकेर
जीवनको यात्रा सुरू गर्नु हुन्न
तिनले मेरा नानीबाबुलाई
त्यही बाटो देखाइरहेछन्
आफू जीवनमा जसरी हिँडे
त्यसरी नै हिँड्न सिकाइरहेछन्
तर म छोराछोरीको कपाल साहसको काइँयोले कोरिदिन्छु
म तिनको दूधमा उदारता घोलिदिन्छु
निधारमा शुभरात्रीको म्वाइँसँग
तिनमा इमान भर्नेछु
मेरा बच्चा तिनीहरूजस्ता नहून्
हरदम प्रयास गर्नेछु।।