मंसिरको महिना। जाडो बढिरहेको थियो। शरीरको तल्लो भागमा जिन्स-पाइन्टभित्र ट्राउजर र दशैंमा किनेको जुत्ता। माथिल्लो भागमा सेतो शर्ट र एक वर्षअघि ऊसँगै किनेको नर्थफेसको निलो कलरको ज्याकेट लगाएँ।
बाहिर निस्किन खोज्दै थिएँ, 'यति लामो यात्रा त्यसमाथि बाइकमा। घाँटीमा चिसोले हान्छ कि बाबु?,' आमाले भन्नुभयो।
केही लगाउन पाए हुन्थ्यो। उसलाई जन्मदिनमा उपहार दिन्छु भनेर किनेको मफलरमाथि आँखा लाग्यो। कलर पिंक-पिंक थियो। ह्या! के भो त, रातिको यात्रा कसले पो देख्छ र? त्यही मफलर घाँटीमा भिरेर घर बाहिर निस्किएँ।
बेलुकाको ठिक ६ बजे शारदा नदीको पिपलबोट नेर भेटेर सँगै जाने कुरा थियो। फोन गर्न भनेर मोबाइल हातमा लिएँ। मोबाइलको स्क्रीनमा समय देख्नेबित्तिकै मुखबाट फुत्किहाल्यो, 'सेट! छ बज्न दश मिनेट मात्र बाँकी?'
गाउँको कच्ची बाटो। जतिसुकै स्पीडमा कुदे पनि पिपलबोट पुग्न कम्तीमा आधा घण्टा लाग्ने थियो। आज पनि फेरि त्यही डाइलग सुन्नुपर्ने भयो, 'होइन, घरभित्र के राख्या छौ? छोड्नै सक्दैनौ त! समय भनेको त समय हो नि। ढिला नै आउने भए मलाई पनि त्यही समयमा बोलाउनु।' ऊ अघिको भन्दा अलि सानो स्वरमा भन्ने थियो, 'तिम्रो बानी सुधार्न कसैले नसक्ने भो!'
ऊ त साथी हो। मलाई चिनेको छ, बुझेको छ। त्यति मात्र होइन म कुन अवस्थामा गुज्रिँदै छु, उसलाई दिएको समय त के जुनसुकै, जहाँ, जस्तो अवस्थामा पनि आफूले आफूलाई बिर्सिन सक्छु। यो सब देखेको छ, बुझेको छ र त जुन उद्देश्य बोकेर जहाँ जसको लागि जाँदैछौं त्यसमा नाईं नास्ती गर्न सकेको छैन।
उसलाई फिस्स हाँस्दै भनौंला, 'हतारमा जानु कहाँ छ र? हामी नगएर उसको बिहे रोकिने होइन क्यारे। न हामी बा पट्टिको न आमा पट्टिको।' उसलाई पनि हँसाउने कोसिस गर्दै भन्ने थिएँ, 'ए! होइन होइन। माफी पाउँ सरकार। तिमी उसकै जातको है! बहिनीको कन्यादान गर्न जान लाको होला। हिजै जानु पर्ने। सबजना तिमीलाई कुरेर बसेका होलान्। उसको बिहे रोकियो भने?'
दुवैजना नमज्जाले हाँस्ने थियौं। यो सब उसको मुख बन्द गर्न दिने जवाफ मात्र हुनसक्थ्यो।
ढिलै भए पनि हिँड्ने बेल्ला फोन गर्नैपर्यो। नमस्तेमा नेटवर्क गएको रहेछ। एनसेलबाट फोन डायल गरेँ। ऊ घरबाट निस्किसकेछ क्यार, फोन लागेन। खोलाको ठाउँ। कतै नमस्तेले काम गर्थ्यो कतै एनसेलले। धेरै ठाउँमा दुवैले काम नगर्ने। घरअगाडि पानीको धारोमा उक्लिएँ। त्यहाँ आवाज अलि राम्रोसँग सुनिन सक्थ्यो। एउटा नयाँ नम्बरबाट फोन आयो। फोन रिसिभ गरेँ। उताबाट रुन्चे, अलि नमिठो, काप्दै गरेको स्वरमा सोध्यो, हजुर दिपजी बोल्दै हुनुहुन्छ?'
मैले 'हो' मात्र भनेँ।
'दाङबाट दिउँसो दुई बजे छुटेको गाडी कपुरकोटमाथि लेकमा दुर्घटना भएको खबर आएको छ। कसको गाडी हो? कुन ठाउँमा दुर्घटना भयो? बाँकी केही थाहा छैन। एकचोटि बुझ्नुहोस् त' भन्दै फोन राख्यो।
म अलमल्ल परें। कसलाई फोन गर्ने? दिउँसो तीन/चार बजे आइसक्नु पर्ने गाडीहरू। त्यो दिन कुनै पनि गाडी आएका थिएनन्। केही क्षणअगाडि एउटा गाडीको पट्टा भाँच्चिएको छ, बाटो ब्लक छ। सब गाडी थुनिएका छन् भन्ने खबर आएको थियो। अहिले गाडी दुर्घटना भएको खबर आयो।
यति गर्दागर्दै ६ बजिसकेछ। पल्लो घरमा बाहिर झुन्डाएको रेडियोमा 'रेडियो शारदा एफएम ९०. ४ मेगाहर्ज'मा समाचार बजिरहेको थियो। मुख्य समाचारमै खबर आयो- 'दिउँसो दुई बजे दाङबाट रोल्पा गंगादेवको लागि छुटेको २९११ नम्बर को गाडी छत्रेश्वरीमा बेलुका अन्दाजी पाँच बजे तिर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान जानुको साथै अन्य केही घाइते भएका छन्।'
गाडी नम्बर २९११? आफैलाई सोधेँ। यो नम्बर नयाँ थियो। ठम्याउनै सकिनँ। दुर्घटना भएको ठाउँ नेटवर्कले काम नगर्ने रहेछ। कसैको फोन लागेन।
कहाँ जान तयारी गरेको थिएँ, कसलाई कहाँ कुराएको थिएँ, के गर्ने? के नगर्ने? कहाँ जाने? केही सोच्न समेत सकेको थिइनँ। बिहेमा जानको लागि तयार पारेको झोला बोकें। झोलामा केही नासो थियो। आमालाई बाइकको पछाडि बस्न अनुरोध गरें। बस्नुभयो तर अड्डिन सक्नु भएन। काप्न थाल्नु भयो। कारण बा त्यही समयमा, त्यहीं दिन, सोही स्थानबाट घर आउँदै हुनुहुन्थ्यो।
मैले आमालाई ओर्लिन अनुरोध गरें। अरु एक/दुई जना छिमेकीलाई मसँगै जान अनुरोध गरें। को-को जाने? कसको बाइकमा? खाना खाएर कि नखाएर? यस्तै यस्तै कुरामा दोधार हुन लागेपछि म एक्लै हिँडें।
आधा घण्टा लाग्ने बाटो १० मिनेट पनि लागेन। पिपल बोटमा साथी कुरिरहेको थियो। केही समय ढिला हुनसक्थ्यो। तर ६ बजे बोलाएको मान्छे यति ढिला गएपछि उसले पनि मनमा अनेक कुरा खेलाउनु स्वाभाविक थियो। मेरो हाउभाउ देखेरै ऊ आत्तिसकेको थियो। ऊ केही नबोलेपछि बाइकको पछाडि बस्न संकेत गरें। झोला उसलाई बोक्न दिँदै भनेँ, 'फुट्ने सामान छ है, अलि ख्याल गर्नू।'
उसले 'हुन्छ' भन्यो र सोध्यो, 'यति ढिला किन?'
मैले अगाडि बढ्दै सबै कुरा सुनाएँ। कच्ची बाटो, लथालिङ्ग मन, आत्तिएको आवाज। खै कुन्नी मेरो बोली कति के बुझ्यो, मैले कुनै प्रवाह गरिनँ। उसले पनि सुनी मात्र रह्यो। हामी आफ्नै रफ्तारमा दौडिरह्यौं।
केही बाटो काटिसकेपछि एउटा गाडी आयो। घटनाबारे के सोध्ने? मनमा चिसो पसिसकेको थियो। तैपनि ड्राइभरलाई सोधेँ। 'दुर्घटना सत्य हो,' उसले भन्यो।
तीन जनाको मृत्यु भएको रहेछ।। ती को-को हुन् भने प्रश्नमा आफूले नचिन्ने बतायो।
मान्छेको जमघट भैसकेको रहेछ। कोहीं स्थानीय थिए, कोहीँ गाडीका यात्रु। वातावरण उदास थियो। वरिपरि घनाघोर जंगल। बाटोको तलमाथि स-साना समूहमा उभिएका मान्छेहरू अड्कलबाजी गर्दै थिए- 'दुर्घटना नहुने ठाउँ हो, कसरी भयो?' कोहीँ प्रश्न गर्दै थिए, 'एउटै गाडीमा सवार सात जनामा चार जना कसरी बाँचे?'
उता बा प्रश्न उठाउने सबैको जवाफ दिन कोसिस गर्दै हुनुहुन्थ्यो। सत्यतथ्य जानकारी गराउने हो। यस्तो अवस्थामा सबैको चित्त बुझाउन कहाँ सकिन्छ र! बालाई भनेँ, 'जसले जे-जे भन्छ भन्न दिनुपर्छ, प्रतिवाद गर्नु हुँदैन। घटनाको यथार्थ बताउन कुनै कसुर बाँकी नराख्नु। बाँकी आफ्नै तरिकाले बुझ्न सबैलाई छुट छ। हामीले यस्तोबेला सान्त्वना दिनुपर्छ। जति सकिन्छ मृतकका आफन्तीहरूको घाउमा मलमपट्टी लाउन कोसिस गर्नुपर्छ। यो हाम्रो कर्तव्य पनि हो।'
त्यो ठाउँबाट पाँच मिनेट जति माथि गएपछि फोनले काम गर्ने रैछ। सुरुमा घरमा फोन गरेँ। बा सकुशल भएको जानकारी दिएँ। दु:खको कुरा, तीन जनाले ज्यान गुमाएछन्। उनीहरूको नाम पनि बताएँ। 'अब के गर्ने?,' मैले साथीलाई सोधेँ। केही जवाफ दिएन। मैले यहीं बुझेँ ऊ नजवाफ छ। जसरी मेरा हरेक विकल्पका ढोकाहरू बन्द हुँदै थिए, उसका जवाफहरू रित्तिदै थिए।
कपुरकोट जान झन्डै दुई घण्टा लाग्छ। मनमनै सोचेँ। अहिले रातिको बेला। यो समय बढी पनि लाग्न सक्छ। बेलुकाको लगभग नौ बजेतिर कपुरकोटमा दीपुशासँग भेट्ने सल्लाह थियो। दीपुशा, उसको नजिकको मान्छे। दिपुशा र म पहिलेदेखि नै धेरै नजिक नभए पनि पछिल्लो समय मप्रति उसले देखाएको उदारता, सदभाव, श्रद्धाको ठूलो ऋणी भएको थिएँ।
उसले भन्ने गर्थी, 'मैले हजुरलाई गर्नसक्ने सहयोग के नै छ र? मैले बुझेकी छैन। यो सब बितिसकेको कुरामा आफूलाई किन लिप्त बनाउँदै हुनुहुन्छ? हिँड्दै गरेको बाटो अन्त्य भएपछि आफैले कोरेको बाटोमा कहाँ पुगिन्छ केही टुंगो हुँदैन? हजुरलाई सम्झाउन मेरो तर्फबाट अब के नै बाँकी होला र? अरु साथीभाइ, आफन्तीसँग पनि बुझ्नु हुन्छ होला। म कति सम्झाउँ?'
ऊ भन्थी, 'बग्ने पानी र यात्रामा निस्किएका यात्रीसँग मित्रता समेत गाँस्नु हुँदैन। सम्बन्धको कुरा त परै जाओस्। आफ्नो र पराई छुट्याउनै मुस्किल।
पानी, जसले महिनौंदेखि घाँटी निमोठेर मरुभूमिमा बेवारिसे छोडिएका सम्बन्धहरूको प्यास मेटाउँछ। त्यही चिज जसको चित्त बुझेन भने आफूखुसी, नसोचेको बेला, नचाहेको बेला अप्रत्याशित भेल बनेर सारा सम्बन्धहरू बगरमा परिणत गरिदिन्छ। हिजो एकअर्काप्रति मित्रता थियो। प्रेम थियो। माया थियो। ठिक छ, त्यो त्यसमै सीमित हुनुपर्छ। आज त्यो सबको तपाईंसँग पेचिलो, नमिठो कहानी मात्र छ। यसको पछाडि लाग्नुको केही अर्थ छ र? यस्ता हजारौं प्रश्न गरिरहन्थी।
यद्यपि, पछिल्लो समय सम्झाउने भन्दा पनि मलाई सहयोग गर्न दत्तचित्त भएर लागेकी थिई। उसले कुनै कसुर बाँकी राखेकी थिइन सहयोग गर्न। कमसेकम मलाई ऊ भएको ठाउँसम्म पुर्याउन। म एक ठाउँको, ऊ अर्को ठाउँको। भेट्नु पर्ने मान्छे अर्कै ठाउँ। ऊसम्म पुग्न गरेका हाम्रा अनेकौं प्रयास फगत समयको बर्बादी मात्र सिद्ध भएका थिए। ती हरेक प्रयास असफल भएका थिए।
आज बिहान ऊसँग सबै कुरा भैसकेको थियो। कपुरकोटसम्म हामी दुई जना जानेछौं। ऊ पनि आफ्नो साथीसँग आउने छे। त्यहाँबाट सँगै जानेछौं। बिहेको लगन ठिक कति बजे छ भन्ने कुरा आफूलाई पनि जानकारी नभएको बताएकी थिई। त्यसैले समयमै पुग्नु थियो। नौ बजे तिर भेट्ने सल्लाह।
'उफ्! रातको बाह्र बजिसकेको रहेछ। कहाँ फसेको छु! के दशा लाग्यो! कुन दिनको पाप भोगिरहेछु?,' मैले साथीलाई भनेँ।
एकचोटि फोन त गर्नैपर्यो। तर के भन्ने? के सोध्ने? के जवाफ दिने? केही विकल्प छ? पहिल्लो घन्टी फोन उठेन। दोहोर्याएर कल गरेँ। उसको बुढाले फोन उठायो। उसको बुढासँग परिचय थिएन। आफूहरू होटेलमा बसेको बताउँदै, 'किन ढिला गर्नुभो? कहाँ हुनहुन्छ? कति बेला आइपुग्नु हुन्छ?' हतार हतारमा अनेक प्रश्नको चाङ मेरा अगाडि तेर्सिए। अपसोच, मसँग कुनै पनि प्रश्नको जवाफ थिएन। केही बेर चुपचाप लागेँ।
'त्यहाँ कति बेलासम्म बस्नु हुन्छ?,' उल्टै प्रश्न गरेँ।
'अहिले त राति भैसक्यो,' उताबाट जवाफ आयो, 'सकेसम्म बिहानै हिँड्न कोसिस गरौंला तर तपाईं राति नै आइपुग्नु पर्छ।'
मैले 'हुन्छ' भन्दै फोन राखेँ। फेरि अघिकै ठाउँमा गयौं। हामीले फोन गर्दैगर्दा दायाँ-बायाँबाट गाडीमा, बाइकमा, एम्बुलेन्समा अनेकौं मान्छे आइरहेका थिए। अब भने धेरैजसो मान्छे नजिकैको बजारमा सुत्न गइसकेका रहेछन। मृतकका आफन्ती, अरु दुई/चार जना, हामी र पुलिस मात्र बाँकी थियौं। लासलाई सडकसम्म ल्याउने कुरा आयो। ठाउँ एकदमै अप्ठ्यारो थियो। तैपनि नगरी भएन। स्ट्रेचरको सहायताले लासलाई एक-एक गरी माथि ल्याउने काम सुरु भयो।
शान्ताको त्यो बिहेको दिन। मेरा लागि हरेक घटना सपनाजस्तै भएका थिए। घरीघरी म आफैलाई प्रश्न गर्थेँ- जे देखिरहेछु, जे भोगिरहेछु, यो सब सत्य हो?
एउटा पूरानो दोहोरी गीत सम्झिँदै थिएँ, '...तिम्रो जन्ती मेरो मलामी।' हो, उता शान्ताको बिहेको दिन, यता मेरो मलामीको दिन। सायद दिन मिलेन होला कि त साइत मिलेन होला। नभए हाम्रो भाग्य मिलेन होला।
शान्ता कुमारी, छोटकरीमा शान्ता भनेर चिनिन्थी। ऊ र म कुनैबेला प्रेम सम्बन्धमा थियौं। त्यति लामो समय प्रेम सम्बन्धमा बस्नु एउटा समयकै खेल थियो। नाटकीय शैलीमा कलेजभित्र पहिलो चोटि भेटिएकी ऊ अन्तिम चोटि पनि नाटकीय शैलीमा बिदाइ भएकी थिई। जिन्दगी पनि नाट्यशालामा देखाइने नाटकभन्दा कम्ता फरक छ र? हिजो सानो-सानो, सुखदुःख साट्ने हामी आज ऊ बिहेको मण्डवमा छे, म यता मलामी।
उसको बिहेमा जाने सपना। सपनामै सीमित हुने भो। जिन्दगीमा हरथोक चाहेर मात्र नहुने रहेछ। सबथोक भुलेर उसको बिहेमा जान सक्थेँ। आफूले खाएको कसम पूरा गर्ने बहानामा ती लासमाथि अन्याय गर्न सकिनँ। उसको बिहेमा जान असमर्थ भएँ। कतिपय नासोहरू बिहेअघि नै फिर्ता गर्नु थियो।
उसलाई भेट्न, उसको ठेगाना पाउन कहाँ के-के गरिनँ! एकअर्कासँग छुट्टिने निर्णय गरिसकेपछि हामीबीच स्थापित नयाँ सम्बन्ध सुखद् थिएन। उसले पूरानो नम्बर परिवर्तन गरेकी थिई। फेसबुकमा ब्लक गरेकी थिई। थाहा थियो, दुवैको लागि पाउन या गुमाउन केही बाँकी थिएन। तथापि, मसँग उसका बाँकी रहेका सम्बन्धका नासोहरू फिर्ता गर्न बाँकी नै थियो।
अँ! उसले घाँटी निमोठेका सम्बन्धहरू जिउँदै आगो लगाउन पनि सकिनँ। भेटेर फिर्ता गर्नु पर्ने ती नासो र उपहार उसले सजिलै लिन मानिन, मैले राख्न सकिनँ।
दीपुशालाई 'उसको बिहेको सम्पूर्ण भिडिओ खिचेर मलाई पठाउनु' भन्दै एउटा लामो सन्देश लेखेर राति नै ऊ बसेको होटेलमा छोड्न जाने निर्णय गरेँ। अनि नासो? आफैलाई प्रश्न गरेँ। उसको हातमा पार्न सक्ने नासोहरू दिपुशाले पुर्याइदिने छिन्। मनमनै सोचेँ, आफूसँग बाँकी रहने नासो सम्हालेर राख्नेछु।
यो दिनसम्म हाम्रो भेट छिट्टै हुन्छ भन्ने आशले ती सम्बन्धहरूको धेरै हेरचाह गरिनँ। यी सम्बन्धहरू बचाउनु उसको पनि त कर्तव्य हो भन्ने थियो। आजकै दिन, यहीं क्षणबाट ती सम्पूर्ण सम्बन्धहरू जोगाइराख्नु मेरो मात्र कर्तव्य हुने छ। अब सजिलो पनि होला। सम्बन्धहरू कसरी बचाउने? नासोहरू कसरी जोगाइराख्ने? सम्पूर्ण जिम्मा ममाथि आएको छ।
सक्दो कोसिस गर्नेछु। अब तिमीलाई दोष लाउने ठाउँ छैन। सम्बन्धहरू जीवित हुनेछन्। नासोहरू सजाएर राख्नेछु। समय बित्दै जाँदा सम्बन्धका नासोहरू आफू एक्लो भएको महसुस गरे भने नयाँ नासोहरू थप्दै जानेछु। बस्! त्यही दिनको पर्खाइमा सारा जीवन बिताउने छु। एकदिन तिम्रो र मेरो भेट हुनेछ। तिमीले आफ्नो नासोहरू फिर्ता माग्ने छौ। म रित्तो हुनेछु। जीवनको अन्तिम गन्तव्य सारा सम्बन्धबाट रित्तो हुनु नै होइन र? प्रार्थना गर्छु, त्यो दिन छिट्टै आओस्।
बिहेको उपहार एक सन्देश पत्र लेख्न सुरु गरेँ..
आजभोलि तिम्रो नामाको मान्छे पनि प्यारो लाग्छ। प्रिय शान्ता! कुन शब्दले सम्बोधन गरूँ तिमीलाई? म ग कुनै शब्द छैन। कुन नाताले बोलाउँ तिमीलाई? बोलाउने कुनै नाता छैन। यो अन्तिम उपहार तिम्रो हातमा परिसक्दा तिमी पराईको भैसक्ने छौ। मेरी प्रिया, मैले गरेका हरेक सम्बोधन त्यो क्षणसम्म डेट एक्सपायर हुनेछन्।
जीवनमा सबैभन्दा ठूलो दर्द दिल टुटेर होइन, भरोसा टुटेर हुन्छ। दर्दको कुनै सीमा हुन्छ भने। टुट्नुको कुनै सीमा हुन्छ भने त्यसको पनि सीमा पार गरिसकेको छु। मेरी प्रिय, मेरी शान्ता! सँगै बाँच्ने, सँगै मर्ने कसम। सँगै खेलेका, सँगै हाँसेका ती क्षणहरू कसरी भुलूँ? कसरी बिर्सुं म?
सोचेको समेत थिइनँ कुनै दिन यो सब हुनसक्छ भनेर, तर भयो। आफ्नै छोराको मलामी जानुको पीडा, आफ्नै श्रीमतीको जन्ती जानुको पीडा कुनै बेलाको सती प्रथाभन्दा कम्ता फरक छ र? भन्न त भनौली, श्रीमतीको जन्ती जान बाध्यता छ र? तिमीलाई भन्ने ठाउँ छ। मेरी प्रिया, तिमीलाई कुन कुराले बुझाउँ? मलाई थाहा छैन। पाप के हो? धर्म के हो? सत्य के हो? असत्य के हो? सायद जुन काम गर्दा अरुको मन दुख्छ त्यो पाप हो।
मेरी शान्ता, मेरी प्रिया। मैले बुझ्या छैन प्रेम के हो? माया के हो? हिजो तिमी हुँदा प्रेमको एउटा अनुभूति गर्दै थिएँ, आज एक्लो हुँदा अर्कै। मेरी शान्ता, तिमीले साथ दिँदा हरथोक सम्भव थियो। संसारमा असम्भव भन्ने केहीँ थिएन, कमसेकम मेरा लागि। आज हरपल, हरक्षण हुनु र नहुनुको अर्थ खोज्दैछु।
एउटा प्रसंग। तिमीले हाँसी मजाकमा सोधेकी थियौ, 'मेरो बिहे अर्कैसँग भयो भने के गर्छौ?' मैले हाँस्दै जवाफ दिएको थिएँ, 'जन्ती भएर आउँछु।' समयको खेल भनौं या बाध्यता। आज त्यही अवस्थामा छौं। उता तिम्रो बिहे छ, यता म मलामी। मलाई माफ गर प्रिय, तिम्रो जन्ती आउन सकिनँ। मेरो अस्तित्व नबुझेकी तिमी। मेरो प्रेम नबुझेकी तिमी। मेरो त्याग, मेरो बलिदान नबुझेकी तिमी। आशा गरूँ, खबर सुनेसी बाध्यतालाई बुझनेछौ।
तिमीलाई याद छ? तिम्रा सिरियस कुरा मजाकमा उडाउँदा रिसले चुरचुर हुन्थ्यौ। तिमीलाई फकाउनैको लागि भए पनि म यस्तो क्रम बारम्बार दोहोराउने गर्थें। अपसोस्, आज मेरो जीवन मजाकमा उडाएर गयौ। म एक्लो भएको छु। सबथोक शून्य छ। संसार रित्तो भएको छ, कमसेकम मेरा लागि।
मेरी प्रिय!
धरोधर्म, ढाँटेको भए पाप लाग्ला। मलाई एकक्षण बिताउन पनि हम्मे हम्मे परेको छ। कतिबेला भोकले पेट दुखेजस्तो हुन्छ। कतिबेला सास बन्द भएजस्तो। बेलाबेला मुटु पनि दुखेजस्तो हुन्छ। पानी पिउन खोज्दा घाँटीमै अड्किन्छ। म कसरी वर्णन गरूँ? कसलाई सुनाउँ? कोहीं त हुँदो हो मेरा यी सारा पीडा बुझ्न सक्ने। सारा अतीत बिर्साईदिने। यो दुनियाँबाट अर्कै दुनियाँमा लैजान सक्ने।
मेरी प्रिय! छिनछनमा तिमीले उपहार दिएको घडीमाथि आँखा गाड्छु। सेकेन्डको सुई पनि यति ढिला फन्को मार्छ कि मानौँ आजको रातपछि पृथ्वीको अन्त्य हुनेछ र यो रात बिताउन कयौं वर्ष बिताउनु पर्नेछ।
तिमीलाई बिहेअघि भेट्ने ठूलो धोको थियो र त यो सब परपंच रचेको थिएँ। एक मन सबथोक छाडेर तिमीलाई भेट्न आँतुर हुन्छ। लेख्दै गरेको कलम बन्द गर्छु। झोलाबाट साँचो झिकेर बाइकमा घुसाउँछु। बाइकको स्टार्ट बटन थिच्न नपाउँदै हेडलाइटले झिलिमिली उज्यालो बनाउँछ। सब जनाले म तिर आँखा लगाउछन्। मेरा आँखा लास भए तिर तेर्सिन्छ। हातहरू काप्न थाल्छन्। ढुकढुकी एक्कासी बढ्न थाल्छ। चाहेर पनि अगाडि बढ्न सक्दैन। म के गरूँ? कहाँ जाउँ? कुन ठाउँ? संसारको कुन कुना? जहाँ केही त विकल्प हुँदो हो।
अँ! म अस्ताउनै लागेको तिम्रो घरपारि देखिने घामजस्तै भएको छु। पिंजडाको सुँगा। बाटो सिद्धिएको यात्री र मबीच कम्ता फरक छ र? मेरी प्रिय। यो सबको कसलाई दोष लगाउँ? कोमाथि गुनासो गरूँ? तिमी नै भन्देऊ। कहाँ? कहिले? के गल्ती गरेको थिएँ र यति ठूलो सजाय दिएर गयौ?
लेख्दालेख्दै कलम सकियो। झोलामा अर्को कलम हुनसक्थ्यो। एक-एक गरेर खोज्न लागेँ। झोलाभित्र उकुसमुकुस परेका उपहारमध्ये कतिपय तिम्रो बिहेअघि दिनुपर्ने नासो थिए। कतिपय आफ्नै हातले तिम्रो हातमा पारूँला भनि वर्षौंदेखि साँचेर राखेको थिएँ। त्यो समय कहिल्यै आएन। बिहेमा जान लागेको मान्छे। घरमा सबैलाई थाहा थियो। आमाले उनेर दिएको सयपत्री फूलको माला झोलाबाट झिकें। थप केही उनिन बाँकी फूल पनि थिए। ती सब लिएर लासमाथि चढाउँदै मनमनै सम्झिएँ, 'बगैँचामा फुलेको फूलको भाग्य भविष्यले निर्धारण गर्छ। बिहेको मण्डवमा चढ्ने या मलामीमा।'
बिहेको लागि भनेर माला उन्ने आमाका हात र फूल दुवैसँग माफी मागेँ। मलाई माफ गरिदिनु। तिम्रो र मेरो भाग्य उस्तै रहेछ। भाग्यभन्दा कम र भाग्यभन्दा बढी लिएर कोही आएको हुँदैन। हामी दुवैको यात्रा यहीसम्म रहेछ। मण्डवमा पुग्न लेखेकै रहेनछ। जहाँ गएर भए पनि ओइलाउनु नै थियो। यसमै चित्त बुझाउनु। थाहा छैन, मेरो जीवन पनि कहाँ गएर अन्त्य हुन लेखेको छ। अपसोच, बिहेमा गएर फक्रिन सकिनँ। तिमीसँगै ओइलाउन पनि सकिनँ।
बाले बोलाउनु भयो। 'दुर्घटनाबारे फरक-फरक समाचार आइरहेका छन् रे। आधिकारिक फेसबुकबाट सत्य कुरा लेखेर पोस्ट गर्दिन पाए हुन्थ्यो,' भन्दै थप केही कुरा गर्नु भो। मैले टाउकोको मात्र हल्लाएँ।
यो कुरा समयमै पोस्ट गर्न सक्थेँ तर, आजको दिन? उसको बिहेको शुभकामना दिने दिन! उफ्! म कुन सत्य पोस्ट गरूँ? एउटा पोस्ट गर्दा अर्को माथि अन्याय हुन सक्थ्यो। दुवै पोस्ट गर्दा खल्लो हुने थियो। झन् विश्वासनियतामाथि प्रश्न उठ्न सक्थ्यो। ऊ मेरो फेसबुकमा साथी त थिइन तर पनि आफ्नो कर्तव्य पूरा गर्नैपर्यो। फेसबुकमा ब्लक गरेकी थिई। के नयाँ कुरा भयो र, कमसेकम मेरा लागि। शुभकामना दिउँला भन्दै लेखेका कयौं शब्दहरू मोबाइलमै थिए। एकपछि अर्को पढ्न सुरु गरेँ। त्यस्तो कुनै शब्द भेटिनँ जसले दुवैलाई न्याय गर्न सक्थ्यो।
केही उपाय नचलेपछि अन्तिममा उसको गाउँ गएको बेला खिचेको एउटा फोटो र दुर्घटनाको फोटो दुवैलाई मधुरो गरेर नबुझिने बनाएँ। फोटो अपलोड गर्दै क्याप्सनमा लेखेँ- 'कुनै दुई शब्द लेखेर अर्को दुई शब्दमाथि अन्याय गर्न सकिनँ। जे देखिरहेका छौं, यहीँ सत्य हो। जीवनमा नसोचेकै कुरा हुन्छ र भयो पनि।'
बिहानको तीन बजिसकेको थियो। झन्डै तिन घण्टा लामो लेखेको सन्देश २५ पृष्ठ लामो भएछ। के-के लेखेँ, के-के छुटाएँ एकपटक फर्केर हेर्छु सोचेँ। लेख्दै गर्दा आँखाबाट छिनछिनमा आँसुका ठूलै धारा झरेका थिए। लेख्न सुरु गर्नुभन्दा पहिले नै थाहा थियो यो सब हुन्छ। म फेरि त्यही अतीतमा अल्मल्लिने छु। त्यही भूमरीमा हराइरहनेछु। त्यहीं अल्झिनेछु जहाँ सम्बन्धको कारण खोज्दै वर्षौं बिताएको छु।
राम्रोसँग थाहा थियो यो एकदमै पीडादायी हुनेछ। आफैलाई सम्हाल्न गाह्रो हुनेछ। सोचेको भन्दा बढी भावुक भएँ। सोचेको भन्दा बढी पीडा भयो। कतिपय पीडाका थोपाहरू लेख्दै गरेको पानामा नराम्रोसँग बजारिएछन्। शब्दहरू नबुझिने भएछन्। सायद ती शब्दहरूसँग ठूलै गुनासो हुँदो हो।
जस्तो लेखेँ, लेखेँ। दोहोराएर पढ्न समय थिएन। उसले पक्कै बुझ्ने छे जसका लागि लेख्दैछु। पेपरको ठूलै मुठा भयो, दुई फोल्डभन्दा धेरै गर्न मिलेन। खाम कहाँबाट ल्याउनु? एउटा प्लास्टिकमा हालेँ। प्लास्टिकको मुख नखुल्ने गरी राम्रोसँग बाधेँ। बाधिसकेपछि आगोले पनि चिप्काएँ।
यो सब दिपुशालाई छोड्नु थियो। फर्केर उज्यालो नहुँदै, सबजना जमघट हुनुभन्दा पहिले नै त्यही ठाउँमा आइपुग्नु थियो।