दुर्गम जिल्लाको एउटा सामान्य गाउँको स्कुलबाट कखरा पढ्दै एसएलसी प्रथम श्रेणीमा पास गरेको अल्लारे ठिटो।
एसएलसी प्रथम श्रेणीमा पास हँदा ऊ निकै खुसी छ। भविष्यमा ठूलो मान्छे बन्ने उसको महत्त्वकांक्षी अभिलाशा छ। १५, १६ वर्षे जोश, जाँगर र परिश्रमलाई साथमा लिएर उच्च शिक्षा पढ्ने रहर र देशमा केही गर्छु भन्ने उदेश्य लिएर सुविधा सम्पन्न सहर पस्छ।
गाउँले परिवेशमा हुर्किएको उसलाई त्यो सहर निकै एक्लो र स्वार्थी लाग्छ। त्यही रुमल्लिन पुग्छ। सहरीया जीवन कस्तो हुन्छ भन्ने विस्तारै बुझ्दै जान्छ, जति बुझ्दै जान्छ उसलाई बिरानो लाग्दै जान्छ। न कोही आफ्ना छन् न कोही सहयोगी छन्। बिरामी पर्दा औषधि ल्याइदिनेसम्म कोही छैनन्। छन् त केवल आफ्नै पीडाहरू, आफ्नै तनावहरू अनि असीमित इच्छाहरू।
उसलाई सहरमा बसेर सबै कुराको व्यवस्था मिलाएर पढ्न निकै धौ-धौ पर्न थाल्छ। गाउँमा दुःख गरी बुबाआमाले जम्मा गरेर पठाएको पैसाले जेनतेन कोठा भाडा तिर्न पुग्छ तर पनि उसले बुबाआमालाई जसोतसो निर्वाह भएको कुरा सुनाउँछ।
आफ्नो खर्च चलाउन उसले त्यो सहरमा एउटा सामान्य पत्रिका बेच्ने काम गर्न थाल्दछ। दिनभर त्यो गर्मीमा थकान शरीरलाई कति पनि आराम नदिई आफ्नो उदेश्य सम्झिन्छ र पढ्न थाल्छ।
क्याम्पस जाँदा सहरी परिवेशमा हुर्किएर पढेकाहरूसँग उसको स्तर मिल्दैन। सुकिलामुकिला उनीहरूको छेउमा ऊ झुत्रे देखिन्थ्यो र सोच्छ- हैन, म साँच्चीकै गवाँर हुँ? अहँ! हैन, म त्यति कमजोर पनि कहाँ छु र? मेहनत गरेँ भने सफल हुन सक्छु।
यसै क्रममा उसले प्लस-टु प्रथम श्रेणीमा पास गर्छ र ब्याचलर पढ्न अर्को क्याम्पस भर्ना हुन्छ। उसका दैनिकी यसैगरी बितिरहन्छ। केही वर्षपछि स्नातक पनि ऊ प्रथम श्रेणीमा नै पास हुन्छ। उसलाई बल्ल आफूमा जिम्मेवारी थपिएको महसुस हुन थाल्दछ। उसलाई लाग्न थाल्छ, अब म केही न केही गर्नुपर्छ, पढेर पास गरेर डकुमेन्ट थुपारेर मात्र केही हुनेवाला छैन, कसैले गन्दैनन्।
बुबाआमाले हातका नङ्ग्रा खियाएर गरेको दुःखमा जसरी भए पनि मलम लगाउनु छ भन्ने कुरा मनमा खेलाउँदै गर्दा उसले तल्ला घरे ठूले दाइले लोक सेवा पास गरेर सरकारी जागिरे भएको फ्याट्ट सम्झिन्छ। ऊ पनि अब लोक सेवाको तयारी गर्ने निर्णय लिन्छ।
लोक सेवा परीक्षा पास गरेपछि सरकारी जागिरे बन्न पाइन्छ भन्ने मात्र थाहा भएको उसलाई के, कति, कसरी तयारी गर्नुपर्छ भन्ने केही थाहा छैन।
बजार जान्छ, दुई/चार वटा किताब किन्छ। त्यो दिन अबेरसम्म बसेर पढ्छ। उसलाई रमाइलो र सजिलै लाग्छ। विस्तारै ऊ पढाइको गहिराइतिर पुग्न थाल्छ।
अब उसका लागि सबै कुराहरू बिरानो लाग्न थाल्यो। साथीभाइहरूबाट टाढियो, इष्टमित्रहरूले अनेक कुराहरू सुनाउन थाले तर ऊ मौन बस्यो। उसको मन पीडा, तनाव र छटपटीले भरिन थाल्यो। ऊ चाहेर पनि सबैसँग मन खुसी बनाएर बोल्न, रमाउन सक्दैनथ्यो।
उसका लागि चाडपर्व, मेलापर्व शून्य लाग्न थाल्यो। गाउँघरमा जाँदा बुबा आमाको अनुहारमा खुसी दिन नसक्दाको अवस्था सम्झिदा ऊ खासै गाउँ जान पनि खोजेन।
समय बित्दै गयो, पढाइ बुझ्दै गयो। तयारी विस्तारै ट्रयाकमा लग्यो। लोक सेवाले खुलाएका आफूले दिन मिल्ने सबैजसो विज्ञापनमा फर्म भर्छ। सानैदेखि मेहनत गर्नमा अब्बल उसले फर्म भरेका केही परीक्षा सकाएर अमिलो मन बनाउँदै एक वर्षपछि दशैँ मनाउन जन्मघर तिर लाग्छ। ज्यान गाउँमा भए पनि उसको मन सहरमा बसेर पढ्ने त्यही बन्द कोठामा थियो।
गाउँघरका इष्टमित्र, छरछिमेक, साथीहरूले 'तँ त सानैदेखिको पढ्ने मान्छे, जागिर कहिले खान्छस्?' भनेर सोध्दा उसको जवाफ एकछिन रोकिन्थ्यो। ती कुराले उसलाई तरकारी पकाउँदा तातो तेलले हातमा पोलेभन्दा बढी मनमा पोल्ने गर्दथ्यो।
उसको लागि खल्लो बन्यो त्यो दशैँ। ऊ दशैँको भोलिपल्ट पुनः कर्मथलो फर्किन्छ र आफ्नो दैनिकी सुरु गर्छ।
केही दिनपछि पहिले दिएको लोक सेवाको परीक्षाको नतिजामा उसको नाम आउँछ। ऊ झन् तनावमा हुन्छ। अब के हुने हो, प्रतिस्पर्धा निकै छ। उसको मनमा यही कुरा खेलिरहन्छ।
अन्ततः ऊ अन्तरवार्तामा छनोट हुन्छ र सरकारी सेवामा प्रवेश गर्छ। उसको खुसीको सीमा नै रहँदैन। रहोस् पनि कसरी? पहिलो सफलता थियो। गाउँमा रहेका बुबाआमालाई त्यो कुरा सुनाउँछ। उहाँहरूको खुसीले ऊ मख्ख पर्छ।
सेतो शर्ट, निलो पाइन्ट र निलो कोट लगाएर अफिस जाने रहर पूरा हुन थाल्छ। उसको विगतको दैनिकी विस्तारै बदलिँदै जान्छ।
पहिलो महिनाको तलब बुझ्छ अनि आमालाई रातो सारी, चोली र बुबालाई एक जोर न्यानो कोसेली लिएर दुई/चार दिनको बिदामा गाउँ जान्छ। बुबाआमाको आशीर्वाद, गाउँ समाजको स्याबासी र बधाई पाउँदा ऊ एकदम हर्षित् हुन्छ।
यतिकैमा ऊ झसंग ब्युँझिन्छ! भन्छ- 'हँ! आज कस्तो राम्रो सपना देखेँ। कतै म भविष्यमा नेपालको सरकारी जागिरे पो बन्छु कि!'