भुँडी घटाउने विषयमा धारा प्रवाह प्रवचन दिई
गडगडाहट ताली, वाहवाहको वर्षातमा बहकिदै
गुगल बा अनि युट्युव काकाका फिरीका ज्ञान
आयुर्वेददेखि अनुलोमविलम अनि
दाँत किटकिट गराउने किटो डाएटसम्म
सबका सब कण्ठस्थ
अनलाइन, अफलाइन, विटविन द लाइन
यो पो मिहेनत अनि पढाई, बुझाई
त्यसै दङ्ग
नाक फिजारिराख्दा फैलिएको भुँडीले
कमिजका टाँक माथि गरेको अन्याय
पाइन्टलाई टिकाइराख्न पेटीले पाएको सकस देखियो
भुँडी बढ्यो भनौं गुगलका ज्ञान पानी हुने भो
होइन भन्नलाई दुई खुड्किलो चढ्दा सास बढ्यो
अनि सँगै बढेको धड्कन
अंकलको मान, सौखिन शान
तल माथि हुन नहुने खानपान
ओभरलोडेड दिब्यज्ञान
बढेको भुँडी हेरम्, घटाउने उपाय सिकाम्
मोटिभेसनल स्पिकर बनम्
जय भुँडी