प्रिय हुनेवाली अज्ञात श्रीमती, खै के भनेर सम्बोधन गरूँ म! मायालु भनुँ त मायारुपी शब्दहरू नै छैनन्। प्रियसी भनुँ त जीवनको दुई दशक बितिसक्दा पनि तिम्रो प्रिय हुन सकेको छैन। श्रीमती भनौँ त स्वयमबरका मालाहरू बनेका नै छैनन्। अहिलेसम्म हामी दुई अन्जान नै छौं।
कहाँ छौ? कस्ती छौ? कस्तो छ आनिबानी? केही पनि थाहा नै छैन तर यति थाहा छ कि तिमी एक असल व्यक्ति हुनेछौ। हुन त तिमी रङ्गिन दुनियाँमा रम्दै मलाई याद नै गर्न भुलेकी छौ होला। तिमीलाई आज म पहिलोपटक तिमी भनेर सम्बोधन गर्दैछु। तिमीले कहिलेबाट मलाई जान्नेछौ थाहा छैन, कहिलेबाट चिन्नेछौ त्यो पनि थाहा छैन। कहिलेबाट माया गर्ने हौ त्यो जान्दिनँ तर तिमी अन्जान भए पनि सुन्दर छौ। त्यसैले पहिलोपटक पत्र लेख्दै छु।
सबैले भन्ने गर्छन् अब त बेला भैसक्यो, कोही त आउनुपर्ने जिन्दगीमा खाली ठाउँ भर्नलाई। हरेक कुराको समय आउँछ भन्छन् नि, हो त्यही समयको प्रतीक्षामा बसेको छु भनेर टारिदिन्छु। प्रिय अज्ञात श्रीमती, कहिलेकाहीँ आफै कल्पना गर्छु। कल्पनाभित्र नै कुवाँमा भ्यागुतोले डुबुल्की हाने झैं डुब्छु अनि फेरि त्यही कल्पनामा नै रमाउँछु।
खै! कसरी भनुँ या कहाँबाट सुरु गरुँ। तिमीलाई लजालु खालको सोझो, इमान्दार, जान्ने बुझ्ने श्रीमान चाहिएको होला। तर म लजालु छैन, इमान्दार भने अवश्य छु। बढी व्याख्या गरेँ भने फेरि गफ लगायो भन्छौ होला। पढेलेखेको छु, धेरै जान्नी भने छैन तर समयले सिकाएका कुराहरू राम्ररी बुझ्छु, बुझ्दै छु। सबैसँग खुलेर बोल्ने गर्छु, फेरि अन्यथा नसोच्नु नि!
तिमी आएपछि हल्का लजालु स्वभावको बनाइदेऊली नि, हुन्न? यो दिन भनेर त म तोक्न सक्दिनँ तर तिमीलाई पहिलोपटक ठूलो मानिसको भिडमा देख्नेछु, आखिर कयौं परिचित अपरिचित मानिसको भिडमा तिमीलाई हेर्न पुग्नेछु।
तिमी सुन्दर, सबै कुरामा भरिपूर्ण हुनुपर्छ भन्दिनँ तर जिम्मेवार व्यक्ति भने हुनुपर्यो। सधैं श्रीमानको नजरले मलाई हेर्नुपर्छ पनि भन्दिनँ, साथीको नजरले हेरिदिए पनि पुग्छ। मलाई थाहा छ तिमी पनि प्रेम सम्बन्धबाट थाकिसकेकी हुनेछौ। सजिलै मलाई विश्वास गर भन्दिनँ तर यति प्रेम र साथ दिन्छु कि तिमी मलाई अवश्य विश्वास गर्नेछौँ। ढाँटेको हैन, साँच्चै भन्दैछु।
तिमी स्वर्गकी अप्सरा जस्ती हुनुपर्छ भन्ने छैन किनकी अप्सरा कस्ता हुन्छन् मलाई थाहा पनि छैन र देखेको पनि छैन। तिम्रो बोलिवचन र व्यवहार राम्रो भए पुग्छ। तिमीलाई मंहगो गाडीमा घुमाउन नसकुँला, सुनैसुनले ढाक्न नसकुँला तर यो शरीरमा मेरो आत्मा रहुन्जेल तिमीलाई साँझ-बिहान पूरा पेट खुवाउन सक्छु।
यो पढ्दै गर्दा तिमीले मेरो पत्रलाई स्वीकार गर्नुपर्छ भन्ने छैन। तिमी एक खुला आकाशमा उडेकी चरी हौ। तिमीलाई पिँजडामा राख्नुपर्छ भन्ने मेरो धारण छैन। तिमीलाई स्वतन्त्र नै छाडिदिन सकुँ। मेरो हुनुपर्छ, मेरो बाहेक अरु कसैको हुन पाउदिनौ भन्नु पनि छैन। यदि तिमी मलाई चाहान्छौ भने मात्र, मलाई माया गर्छौ भने मात्र म तिम्रो लायक छु भन्ने बुझ्छु।
अहिले तिमीसँग बिहे गर्न राम्रो केटा आयो भने बिहे गरिहाल है। मलाई कुर्नुपर्दैन, फेरि मसँग बिहे गरेर आएपछि 'डाक्टर आएको थियो, म्यानेजर आएको थियो, लाहुरे आएको थियो, पाइलट आएको थियो, पिआरवाला आएको थियो, सरकारी जागिरेहरू सबै आएका थिए। मेरो भाग्य फुटेको तिमीसँग बिहे गरेर आउन लेखेको रैछ आएँ' भन्दै कचकच गर्न पाउदिनौ।
प्रिय अज्ञात, हामी मरेर प्रेमलाई अमर बनाउने हैन बाँचेर प्रेममा रमाउने हो। तिमी आफैले रोजेको जिन्दगीमा सबैलाई रिझाएर बाँच्ने गर। घरको कुरा माइत हुँदै माइतको कुरा घर नबनाउनू। हामी एकअर्कको परिपूरक भएर बाँचौँ, वृद्धवृद्धा हुँदासम्म सँगै रहौँ अनि नातिनातिनाहरूले सोधे भने यो भन्नू कि- हाम्रो पाला प्रेम भन्ने थिएन, यो त पछि आएको हो। पहिला आफू खुसी बन्नु अनि मात्र मलाई खुसी बनाउनू।
सुन न, म बुझ्नेछु तिम्रो रोजाइलाई। आशा लागेको छ तिमी पनि पक्कै बुझ्नेछौ मेरो रोजाइलाई। घरबाट टाढा छुट्टिएर कहिल्यै बस्न नपरोस्। तिमी फूल भए म त्यही फूलको हाँगा बनी मन्दिरदेखि चिहानसम्म सँगै जान पाइराखुँ। तिमी अनि परिवारबिना कहिल्यै बाहिर हिँड्न नपरोस्। दुवै मिली दुःखसुख गरौँला र खुसीसाथ रहौँला।
मेरो हरेक प्रयासमा तिम्रो खुसी हुनेछ र हाम्रो खुसी परिवारको खुसी हुनेछ। तिम्रो आफ्नै पनि संसार छ। तिम्रो आफ्नो आमाबुबा, दाजुभाइ दिदीबहिनी इष्टमित्र छ्न्। भेट्न, बोल्न त पाउनुपर्यो नि हैन? तर त्यसमा मैले कुनै रोकावट गर्ने छैन। १० दिन घर बाहिर बस्दा पनि कहाँ बसिस् भनेर शंकाको नजरले हेर्ने छैन। तिमी मेरो विश्वासमा लात कहिले नमार्नू र म पनि तिम्रो विश्वास कहिल्यै तोड्ने छैन।
मभन्दा नि धेरै बुझ्ने छौ होला तिमी, के राम्रो के नराम्रो मैले भनिराख्न पनि नपर्ला। अहिले अबुझ भए पनि त्यति बेलासम्म त जिन्दगी बुझेकी हुनेछौ। जुन दिन तिमी आउनेछौ, नयाँ रंग लिएर आउनेछौ र हाम्रो जीवन रंगिन हुनेछ।
पत्रबाट भए पनि अज्ञात मान्छेलाई बधाइ त दिनुपर्यो। तिमी छोरीबाट बुहारी हुने भयौ। सफलताको शुभकामना।
उहीँ तिम्रो प्रिय अज्ञात
भूमिराज पौडेल।