म जे छु, जस्तो छु त्यही स्वरूपमा हिँड्न चाहन्छु
मेरो शरीर, अंग प्रात्याङ सबैसँग म आफै परिचित छु
तिमी मेरो हिँडिरहेकै शरीरलाई चिरफार गरिदिने चिकित्सक नबनिदेऊ
तिमीले चाहेजस्तो म बन्न सक्दिनँ होला, मलाई मेरै म बन्न देऊ।
म आफ्ना सही कार्य र कसुर आफै केलाउन चाहन्छु
मेरो भागमा पर्ने दण्ड र पुरस्कार दुवैसँग म आफै परिचित छु
तिमी मेरो जीवनको न्यायालयमा आफ्ना फैसला सुनाउने न्यायाधीश नबनिदेऊ
तिमीले चाहेजस्तो म बन्न सक्दिनँ होला, मलाई मेरै म बन्न देऊ।
म मेरै सोच र मेरै हातले आफ्ना लक्ष्य कोर्न चाहन्छु
के मिसाउन पर्छ र के हटाउन पर्छ सबैसँग म आफै परिचित छु
तिमी मेरो जीवनको नक्सा कोरिदिने इन्जिनियर नबनिदेऊ
तिमीले चाहेजस्तो म बन्न सक्दिनँ होला, मलाई मेरै म बन्न देऊ।
म कोही कसैमा निर्भर नभई आफ्नै बलमा केही गर्न चाहन्छु
मेरो कर्म र मेहनत सबैसँग म आँफै परिचित छु
तिमी मलाई झुटा आश्वासन दिने मौसमी नेता नबनिदेऊ
तिमीले चाहेजस्तो म बन्न सक्दिनँ होला, मलाई मेरै म बन्न देऊ।
म सकेसम्म यही माटोमा केही गर्न र केही बन्न चाहन्छु
यहाँ सम्भावनासँगै आउने चुनौती दुवैसँग म आफै परिचित छु
तिमी तँ हुनु र नहुनुले फरक पर्दैन, विदेश पलायन हो भनी सुझाव दिने शुभचिन्तक नबनिदेऊ
तिमीले चाहेजस्तो म बन्न सक्दिनँ होला, मलाई मेरै म बन्न देऊ।
म यो भेडा दौडबाट छुट्टिएर आफैसँग प्रतिस्पर्धा गर्न चाहन्छु
विभिन्न घटनाक्रमले सिकाउने पाठ र जीवनले लिने परीक्षा दुवैसँग म आफै परिचित छु
तिमी केही समयका निम्ति मार्गदर्शन गर्ने शिक्षक पनि नबनिदेऊ
तिमीले चाहेजस्तो म बन्न सक्दिनँ होला, मलाई मेरै म बन्न देऊ।