आँसुको भेल बगे पनि
पसिनाको समुन्द्र बगे पनि
निर्वस्त्र शरीर भए पनि
चप्पलबिना पैताला फुटे पनि
किन पिर बुझ्दैनौ ए मालिक!
किन पिर देख्दैनौ ए मालिक!
पत्थरले बनेको मन होइन होला
रतन्धोले पिरोलेको छैन होला
तिम्राजस्तै
हाम्रा पनि सपनाहरू छन्
सङ्ख्यामा थोरै अनि आकारमा सानो
रगत त्यही हो रातो
कालो त पक्कै छैन होला
र पनि शोषण विभेद!
केवल फरक छ
तिमी महलमा बस्छौ
हामी सानो झुप्रामा
र पनि निद्रा त एउटै हो
मात्रै तिम्रो समय बढी
र सिरानी राम्रो होला
पेट तिम्रो नि छ मालिक
पेट हाम्रो पनि छ
पक्कै आकार फरक छ
सुन त पक्कै खान्नौ होला!
भोक उस्तै हो मालिक
पीडा उस्तै हो
गहिराइ नाप्ने यन्त्र त छैन
तिम्रो दास त बनैकै छौँ
र विवश छौँ
ज्याला त पुग्ने गरी देऊ मालिक
तिम्रोजस्तै
हाम्रा नि सन्तान छन्
वर्णमा फरक होलान्
वजनमा फरक होलान्
पेट पाल्नै पर्छ
ओखती गर्नै पर्छ
जिउ ढाक्नै पर्छ
हरिया पातले त जीउ ढाकिँदैन मालिक
अन्त्येष्टी एउटै हो
हिराले लास जल्दैन होला
पैसाले दाउराको काम गर्दैन होला!