'यहाँ झुन्ड्याएको लाइटर खै!' एउटा ग्राहक भित्र पस्दापस्दै झर्कियो।
'भित्र भित्र, अब यहाँ मिल्दैन,' साहुले चोरी औंलाले इसारा दिए। त्यो ग्राहक लुरुक्क भित्र छिर्यो।
'त्यो दाइलाई सोध त कान्छी के हो?'
दस मिटर मात्रको दूरीमा थियो त्यो मान्छे। कान्छी ऊ नजिकै पुगी, 'दाइ, तपाईंलाई के हो?'
अहँ! उसले सुनेन। त्यो दाइ भन्ने पत्रिकामा घोप्टो मुन्टो लगाइरहेको छ। २/३ पटकको कान्छीको कोसिसपछि उसले मुन्टो उठायो र बोली ओकल्यो- 'मलाई चिनी बिनाको चिया।'
'ए! त्यो दाइले त अघिन भन्नु भा'थ्यो,' साहुनीले सम्झिन्।
'कसैलाई कालो, कसैलाई सेतो, कसैलाई मसाला, कसैलाई कफी, मैले कति मात्र सम्झिने!,' साहु भुतभुतायो।
त्यो संवादप्रति लापर्बाह ऊ फेरी घोप्टिएर पत्रिकाको समाचारमा हरायो। चियाको गिलासको टक्क आवाज आएपछि उसले पत्रिका फ्यात्त छोड्यो र चियाको चुस्की लिन थाल्यो। ऊ अझै त्यो समाचारलाई आफ्नो मथिंगलबाट हटाउन सकिरहेको छैन- 'महिला फुटबलमा भारतविरूद्ध २५ वर्षपछि ऐतिहासिक जित!' उसको आङ सिरिङ्ग गर्छ, शरीरमा काँडा उम्रिन्छ।
चिया पसलमा विभिन्न मानिसहरू गफिँदै छन्। कसैलाई चुनाव लागिसकेको छ- 'यसले जित्छ, उसले हार्नुपर्छ, त्यो अब कसरी गाउँ छिर्छ हेरौंला!' कोही मलिन छन्, विद्यार्थीजस्ता देखिन्छन्। खै! केको पिरलो हो, डेरा डन्डाको होकि परीक्षाको, उनीहरूको मुहार मलिन छ। केही कप चिया र केही थान पाउरोटी खाएर उनीहरू बाहिरिन्छन्। नजिकै छक्कु बक्कु भगवतीको मन्दिरको घन्टी घरीघरी बजेको सुनिन्छ।
दौरा-सुरुवाल, आस्कोट र ढाका टोपीमा ढल्किएका बा'लाई कान्छी 'गूड मर्निङ सर' भन्छिन्। सर पनि 'गूड मर्निङ गूड मर्निङ' भन्दै बेन्चमा थच्चिन्छन् र पत्रिका टिप्छन्। कान्छी सरलाई तुरुन्तै चिया टक्राउँछिन्। सर पनि चियाको चुस्की लिँदै पत्रिकामा गोता लगाउन थाल्छन्। पसल व्यस्त देखिन्छ, अर्डर दिई/लिइरहेका छन्।
आलु-चनाको अर्डर गरेको ग्राहक चना मात्र देखेर ठुस्किन्छ। सोध्छ, 'आलु चाहिँ कहाँ हरायो?'
'आलु त भुट्नै भ्याएको छैन दाइ,' साहुनी चर्को सुनिन्छिन्। ग्राहक चना खान थाल्छ।
पसलमा ग्राहक आइ/गइहेका छन्। अधबैंसे, तन्नेरी, ठिटाठिटी सबैखाले ग्राहक साहुको चोरी औँले इसारालाई पछ्याउँदै कुइनेटोको कोठातिर डोरिएका छन्। त्यो छिँडीको सानो ढोकाबाट धुवाँ पुतपुताइरहेको छ। त्यो छिँडीमा पनि आउजाउ बाक्लै देखिन्छ। खानापिना सस्तो, व्यापार चकाचक, सबै सन्तुष्ट।
पसलमा केही व्यस्तता कम भएको छ। छिँडीको ढोकाबाट निस्कने ग्राहक गुनासो पोख्छन्, 'हैन साहुजी, एक कप चियाको भाउ महंगीको कारण ३० रुपैयाँ पुगेको छ। आज नगद भोलि उधारो। उधारो प्रेमको कैंची हो। यहाँ चार कुने समोसा पाइन्छ, लाफिङ पनि पाइन्छ भनेर सूचना टाँगेजस्तै लाइटरको सूचना पनि टाँस्नु पर्दैन?'
साहु खासै प्रतिकृया जानाउँदैनन्। 'बा' सबै सबै दृश्यको साक्षी छन्। 'बा'लाई खसखस लागेछ क्यारे, कान्छीलाई एक पन्ना कागज ल्याउन अह्राए। आफ्नो आस्कोटको खल्तीमा राखेको फाउन्टेन पेन झिकेर केही लेखे र पसलको भित्तामा टाँसेर आफ्नो गन्तव्यतिर लम्किए।
लेखिएको थियो- 'लाइटर हराएको सूचना! यहाँ वर्षौंदेखि अनवरत रुपमा झुन्डिएको लाइटर यहाँ बलेर धुवाँ उडाउँदा सम्पूर्ण ग्रहक वर्गको स्वास्थ्यमा गम्भीर असर पर्नुको साथै सार्वजनिक स्थानमा धुम्रपान गरेबापत कानुनी सजायको पनि भागीदार हुनुपर्ने भएकोले महानगरपालिकाको चुनावदेखि यहाँबाट हराएको छ। यदि लाइटर चाहनु हुन्छ भने कुइनेटोको कोठातिर खोज्न जानु होला। धन्यवाद!'