रातको तीन बजिसक्यो। अझै पनि निन्द्रा लागेकै छैन। मेरो दिमागभित्र कहिले अन्त्य नहुने युद्ध चलिरहेको छ। अब के गरौँ त म? कसरी यो सबबाट छुटकारा पाउँ?
सल्लाह त धेरैले दिने गर्दछन् तर उनीहरू आफैले बुझेकै छैनन् अहिलेको 'म'लाई र चिन्ने कोसिस पनि गर्ने छैनन्। डिप्रेशनले मलाई अति कमजोर बनाइसक्यो। लाग्छ न त अब केही बँचेको छ न अब पाउने आश छ।
अब त जिन्दगी र मृत्युबीच केही सासको मात्र अन्तर देख्ने गर्दछु। खासमा मर्न त पहिले नै मरिसकेको छ मेरो भित्री चाहनाहरू, मेरा मन भित्रको भावनाहरू। मेरो खुसी पछाडिको उदासी कोही हेर्नै चाहँदैनन्। उनीहरू त मेरो धन, दौलत, सुख, सुविधा मात्र देख्ने गर्छन्।
किन मेरो मौनातामा लुकेको चित्कार कसैको कानसम्म पुग्न पाउँदैन? म कुन शब्दले सम्झाउनु कि म अहिले कस्तो महसुस गर्ने गर्छु भनी? यहीँ एक्लोपनको साथमा म भित्रभित्रै मर्दैछु। अब बाँच्नको लागि कुनै इच्छा चाहना नै छैन। महसुस हुन छाडिसक्यो मेरो महत्व म आफैलाई।
मेरो आसपास अँध्यारो न अँध्यारो र उदास मन मात्र हुने गर्दछ। मेरो असल मित्र अब मात्र निन्द्रा बनेको छ। निन्द्राले मलाई त्यो अँध्यारो र उदासी मनलाई सधैं साथ दिने गर्दछ। त्यही भएर मेरो कोठा अँध्यारो नै राख्न रुचाउँछु।
तर जब मेरा आँखाहरू खुल्छन् तब म आफैलाई मेरो अलिकति बँचेको सास पनि मेरो शत्रु झैं लाग्ने गर्दछ। थाहा छैन मलाई कि अब यसको अन्त्य कहिले र कसरी हुन्छ, तर यो युद्ध सायद मैले हार्दै जाँदैछु। म धेरै कमजोर हुँदै जाँदैछु।
मुस्कानको जुन पर्दा मैले मेरो हातमा राखेको छु, हो त्यही पर्दाको गुम्साइले जिन्दगी हार्दै गइरहेको छु। जिउने इच्छा नहुँदा यो जिन्दगी बोझ लाग्दै छ। मनमा कुनै सुकून छैन अनि मेरो अमूर्त आत्मा हरेक दिन मर्दै गइरहेको छ। लाग्दछ म हरेक दिन शून्य शून्य हुँदैछु।
लाग्छ गहिरो, कालो, अँध्यारो भिडमा हराउँदै जाँदैछु। मलाई उज्यालोको कुनै उम्मिद नै छैन अब। यहीँ हरेक दिनको घुटनले गर्दा म आफ्नै सन्तुलन गुमाइरहेको छु। मैले त यहीँ महसुस गरिरहेछु हरेक दिन हरेक पल आफैंलाई मारेर।
म कसरी बयान गरौँ मेरो मन भित्रको आँधीबेहेरी? आशा छ दुनियाँले बुझिदिने छ। ज्वरो, रुघाखोकी लागेको भए तापक्रम थाहा हुन्थ्यो तर यी मन भित्रको तुफानको कुनै मापन नहुने रहेछ।
म जुन दुनियाँमा बस्छु, यी मानिसको नजरमा डिप्रेशन नामक कुनै रोग नै हुँदैन। सबैले त मज्जाले देख्ने गर्छन् मलाई एक जिउँदो, हँसिलो केटोको रुपमा। तर मेरो यो मुस्कानको पछाडिको आँसुबारे कसैलाई थाहै छैन।
सिर्फ रुघाखोकी, ज्वरो, घाउले मात्र बिरामी हुँदैन। डिप्रेशन, तनाव पनि खतरनाक बिरामी हो। किन के कोही बुझ्नै खोज्दैन? डिप्रेशन रोग नि हुनेगर्छ। लक्षण नदेखिने यो खतरनाक रोगको किन कुरा गर्न मान्दैन यो समाजले? हुन त जसले भोगेको छ उसलाई नै थाहा छ, उसले नै बुझ्न सक्छ।
म सधैं यहीँ निवेदन गर्छु कि जिन्दगी धेरै कठिन छ। सबैको हालत आफ्नै छ अनि समय। समय त यहाँ हरेकको कठिन चल्ने गर्छ। यदि कसैले तपाईंहरूसँग आफ्नो दुःख, पीडा साट्न चाहन्छ भने उसको कुरा सुन्नुहोस्। सुन्ने मात्रै होइन, ध्यान दिएर र साथ दिने हिसाबले सुन्नुहोस्। उसलाई हजुरहरूको साथको अति नै खाँचो हुन्छ।
आजकल जहाँ शारीरिक स्वास्थ्यको कुरा हुन्छ, स्वस्थ रहन के गर्ने? कस्तो गर्ने? भन्ने छलफल हुन्छ। हो यहीँ समयमा मानसिक स्वास्थ्यमा पनि कुराहरू गर्न धेरै जरुरी छ। डिप्रेशनको शिकार भई कयौंले आफ्नो अमूल्य जीवन बर्बाद बनाउने गर्दछन्।
त्यसैले शारीरिक झैं मानसिक स्वास्थ्यको पनि हरेक व्यक्तिले ख्याल गर्नुपर्छ। आफ्नो मात्रै नभएर आफ्ना र आफू नजिकका व्यक्तिको पनि ख्याल राखौँ। जीवन सुन्दर छ, यसलाई व्यर्थमा खेर नफालौं।