आज मन यत्तिकै फुरुङ्ग छ, अब लगभग अधबैंसे भैसक्न लागेको जीउभित्र एउटा मन छ। यो मन बिल्कुल बच्चा जस्तो छ। सानै कुरामा फुरुङ्ग हुने। सानै कुरामा रोइहाल्ने।
भनौं कसलाई? सुनाउँ भने नि लाजै मर्नु। तैपनि यत्रो उमेरसम्म मन आजसम्म पनि बच्चै छ। एक तरिकाले सोच्दा त आनन्द लाग्छ। मेरो मन कमसेकम बच्चाको जस्तो त छ। ठूलो हुन पाएको छैन। जति ठूलो हुँदा पनि सानै हुन खोज्छ। आनन्द लाग्यो। मनलाई भन्न मन लाग्यो- 'बच्चाजस्तै छस्, यस्तै भैराखेस् है!'
ल्यापटपमा मोनाली ठाकुरको सुरिला आवाजहरू बज्न थाले। गीत बज्न थाल्यो- 'सवार लुँ, सवार लुँ।'
न्यू ट्याब लेखेको प्लस आइकनमा क्लिक गरेँ, फेसबुक खोलेँ। अस्तिदेखि एकजनाले पनि म्यासेज गरेको रैनछ। गजब लाग्यो। कस्सैले नसम्झँदा पनि मन फुरुङ्ग थियो। गीतकै सुरमा टेबलमा औंलाहरूले गीतको लय पकड्दै बजाउन थालेँ। टेबलबाट एक बेग्लै खाले आवाज निस्कियो। कस्तो मिठो! फेरि फेसबुक हेरेँ। फेसबुकको एउटा पोस्ट रैछ- आज पूर्णिमा, आज पूर्ण कदको चन्द्रमा देखिन्छ।
कोठाबाट बाहिर निस्किएँ। चन्द्रमा हेर्न खोजेँ। रुखै रुखले छेकिएर कतै देखिएन। अलि उता गएर हेरेपछि देखियो पूर्ण कदको चन्द्रमा। खल्तीबाट मोबाइल झिकेँ, चन्द्रमाको फोटो लिन खोजे राम्रो आएन।
मसँग राम्रो फोटो खिच्ने मोबाइल छैन तर राम्रो मोबाइल बोक्ने धोको छ। धोको बोकिराख्नु पर्छ। धोको बोकियो भने एकदिन पक्का पूरा हुन्छ। तर कहिलेकाहीँ केही यस्ता धोको राखिन्छ जुन धोकोहरू टुक्रिदिन्छन। अनि अमिलो बनेर मनको कुनै कुनामा बसिदिन्छन्। खैर, मलाई पूर्णिमाको खुलेको चन्द्रमाले तान्यो।
कोठा अगाडि सुन्दर खरले छाएको प्रतीक्षालय छ। फौजी घर सबैतिर चिरिचट्ट छ। प्रतीक्षालयमै बसेर चन्द्रमा हेरिरहेँ। मनले आफैंलाई सोध्यो- यार, तैंले यसरी खुलेको आकाशमा खुलेको चन्द्रमा नहेरेको कति भयो? मनले आफ्नै प्रश्नको जवाफ पाउन सकेन तर चन्द्रमा हेरिरह्यो।
चन्द्रमा लागेको छ। वरिपरि हेरेँ। कस्तो राम्रो सबैतिर पहाड देखिएका छन्। छ न त पहाडमा भएका हरेक घरमा बत्ती बलेका छन् तर कहाँ ती बत्तीहरू त्यो चन्द्रमा जस्तो उज्यालो हुनु। यहाँ आएको यति समयसम्म पनि मैले बाहिर निस्केर कहिल्यै वरिपरि हेरेको रहेनछु। आफ्नो मनले आफैलाई गाली गर्यो।
बितेर गएका केही कुरा याद आए, मनले आफैंलाई भन्यो- तैंले आफू कहाँनेर छु भन्ने ख्यालै नगरी व्यर्थ समय खर्चिएछस्। यसले एक त भौतिक रुपमा कहाँ छु भन्ने कुरा उठायो अर्को म स्वयम् मेरो मन कहाँ थियो भन्ने कुरा उठायो। खैर जे होस्, समय बितेर गैसक्यो तर धरातल थाहा पाउनु पर्थ्यो। आफैलाई भनेँ- गल्ती भएछ, अब गल्ती हुँदैन।
चन्द्रमा हेर्दा हेर्दै बहुत पुराना दिन याद आए। बाल्यकालका ती दिन जहाँ गाउँ बत्तीविहीन थियो। गाउँ अँध्यारो थियो। बुबाको पछि-पछि लागेर म गाउँमा अरुको घर जान्थेँ। बुबाहरू पुराना दिनको खुब कुरा गर्नु हुन्थ्यो। उसबेला घडी हुँदैन थिए रे। मान्छे ब्युँझेर रातलाई हेरेर समय अड्कल्थे रे। कहिलेकाहीँ टाढा जानुपर्यो भने राति ब्युँझेर समय अड्कलेर हिँड्नु पर्थ्यो रे। एकफेर मामा हाम्रो घर आउने भनेर राति नै हिँड्नु भएछ रे। बिहान हुनलाग्यो भनेर हिँड्नु भएको मामा चार घन्टा हिँडेपछि मात्र बिहान भयो रे। पछि आएर सुनाउनु हुन्थ्यो रे- यत्रो रातमा मलाई धन्न केहीले खाएन।
गाउँमा बुबाहरू गफिनु हुन्थ्यो। म खुब रुचाउथेँ उहाँहरूको गफ। सबैभन्दा आनन्द बुबाको खुट्टामा टाउको सिरानी बनाएर पल्टिएर गफ सुन्नमा हुन्थ्यो। बुबाहरू अनेक अनेक कुरा गर्नु हुन्थ्यो, घरी भूत भेटेको, घरी राति उठेर खेतमा गएको। कुलोको पानीको। अनेक अनेक कुराहरू।
म जुनेली रातमा जुन तिर हेरेर बहुत आनन्द लिन्थेँ। कहिलेकाहीँ भूतको कहानी धेरै सुनेपछि रातिमा पिसाब फेर्न उठेर बाहिर जानै डर लाग्थ्यो। आफ्नै घरको आँगन पनि कति डरलाग्दो लाग्ने। उहीँ आँगन, उहीँ घर दिउँसो कत्ति आफ्नो लाग्थ्यो, साँझ परेपछि त्यही आँगन कति डरलाग्दो लाग्थ्यो।
खासमा सहज रहुन्जेल, उज्यालो रहुन्जेल संसारमा हरेक कुरा प्यारो लाग्छन्। जब बिझाउन थाल्छ, असुरक्षित हुने डरले मान्छे दौडिहाल्छ छाडेर।
कहिलेकाहीँ साँझमा गाउँमा गएर फर्किँदा कति लामो बाटो हिँडिसकेपछि जब म घरको नजिक पुग्थेँ, घरभन्दा १० मिटर पर बाह्रमासे फूलको झाडी थियो। म त्यहाँ पुगेपछि बेतोडले दौडिन्थेँ। एकैचोटि स्वाँ-स्वाँ गर्दै घरभित्र छिर्थेँ। ममी गाली गर्नु हुन्थ्यो कुन दिन तैंले खुट्टा भाच्छस् भनेर। तर मैले कहिल्यै ख्याल गरिनँ। अरु मान्छे त्यहाँ किन डराउँदैनन् अनि म सधैं किन डराउँछु? उसबेला नै यो प्रश्नको जवाफ खोजेको भए म त्यसरी दौडिनै पर्थेन। अहिले पनि त्यहाँ नेर पुगेपछि डर लागेजस्तो हुन्छ।
समस्याको समाधान खोज्नभन्दा त्यहाँबाट भाग्न खोज्नु मान्छेको आदत हो। मान्छेलाई भागिदिन सजिलो हुन्छ केहीबाट, कतैबाट, कसैबाट। तर समाधान खोज्ने भने समस्या रहन्न। उहीँ बाटो सजिलो हुन्छ, भाग्न जरुरी हुन्न। तर कहाँ दुःख गर्न लागि पर्छ र मान्छे। स्वार्थी त छ।
चन्द्रमा बहुत बेर हेरिरहेँ। पहिले चन्द्रमाको छेवैमा बादलहरू थिए। अहिले त बादल छोडेर चन्द्रमा माथि पुगिसक्यो। एकफेर ममी तीजमा मामाघर जान नपाउने भएपछि मलाई र बहिनीलाई मामाघर पठाइदिनु भयो, मामाघर हजुरआमा दुखी हुनुहुन्छ भनेर। खासमा आमाहरू मान्छेलाई खुसी बनाउने कुरा खोज्न खुब माहिर हुन्छन्। ममीले त्यसै गर्नुभयो, आफू जान नपाएपछि मलाई र बहिनीलाई पठाइदिनु भयो। मामाघरको आँगनमा हामी गुन्द्री हालेर सबै दाइदिदी सँगै बस्थ्यौँ। कस्तो आनन्द हुन्थ्यो त्यो दिनहरू आँगनमा बसेर गीत गाउन।
जीवनमा चन्द्रमासँग जोडिएका अनेकौं अनुभूतिहरू छन्। उज्यालो प्रकाशसँग जोडिएका अनेकौं कहानीहरू छन्। यस्तै अनुभूतिहरू छन् अँध्यारोसँग जोडिएका, मिसिएका पनि।
उज्यालो हेर्दाहेर्दै म आफैलाई सम्झिन थालेछु, भविष्य उज्यालो हुन्छ भनेर कति कुरा गरियो। मन उज्यालो हुन्छ भनेर कतिसँग गिडगिडाइयो। जीवन उज्यालो होला भनेर आज पनि कति प्रयासहरू छन् तर कतै अँध्यारोमा रुमलिएको छ जीवन। कति अन्धकारभित्र छामछुम गर्दैछन् प्रयासहरू।
अँध्यारोसँगै बाटो उज्यालो खोज्नु जीवन रहेछ। उज्यालोसँगै अँध्यारो स्विकार्नु जीवनको अपरिहार्य पाटो रहेछ।
मनले अँध्यारो पाटोहरू सम्झिरह्यो। अँध्यारो कुरा, अँध्यारा रातहरू सम्झेर मन आफैसँग खिन्न भएर बसिरह्यो। फेरि एकैछिनमा उज्यालोमा फर्कियो। मनले आकाशको पूर्णिमालाई हेरेर भनिरह्यो। म पन्ध्र दिनपछि फेरि तिमीलाई हेर्न आउने छु। पूर्णिमा, तिमी सधैं आइराख है!