'दाइ, कति वर्ष भयो घर नजानु भएको?,' प्रश्नको जवाफ थाहा हुँदाहुँदै कपुरले माहोल बनाउन कुरा पैट्याइन्।
नगरकोटी नेपाल जाने कुराले उत्साहित थिएन।
'१२ वर्ष भयो यार दसैँ नमनाएको,' नगरकोटीले कपुरलाई हेर्दै भन्यो।
'घर जाने बाटो त याद छ नि, दाइ…' हाँसो गुन्जियो।
'एक राउन्ड हानौँ। बियर बोक्न एकजना साथी जाउँ न,' विराजले हाँस्दै आफूअगाडि रहेको पर्स उठायो। कुर्सी समाउँदै उठ्यो।
'दुई जनाको बास नै विलियम हिलमा हुन्छ। विराजले के गर्ने हो नगरकोटी दाइ गएपछि? रातभरि क्यासिनो कोसँग जाने हो? एउटा खोजिराखे हुन्छ,' कपुरले भेट भएको बेला सधैँ भन्ने गरेको डायलग फेरि दोहोर्याइन्।
'नेपालमा जग्गा किन्न पुग्ने पैसा जुवामा उडाइयो,' नगरकोटीले व्यंग्य गर्यो। विराज ओस्सियो।
कपुरको मोबाइल बज्छ। ७:२५ बजेको देखेपछि अब जानुपर्छ भन्छिन्।
'बितेका कुरा नगरौँ, बियर ल्याउँ हो,' नगरकोटी झर्कियो।
'हीनताबोध हुन्छ नि! देखाउन पो भएन,' एडिन्ब्रा टेकेदेखि झ्याङ्गीएका सपनाका लहराहरू समात्यो। टोलायो। दुःखका दिनहरू आँखा अगाडि आए र बिलाए।
'बेलायतमा कानुन, काम र कलेजको ठेगान हुँदैन। बेलायतका कलेजले पिएसडब्लु पाउने नियम बने लगत्तै २०१२ मा रद्द भयो। नेपालीहरू तितरबीतर भए। सक्नेले भिसा थपे, नसक्ने फर्कीए। बाँकी 'परेको बेहोरिन्छ' भन्दै जुम्रे साहुका लिखे रेस्टुराँ खोज्न लागे। यो 'घर न घाट'वाला बिधिभित्र चम्काना देखे जुम्रेहरूले।
'टेन्सन नगर्नु। बाबुको हिसाब सप्पै आन्टीले लेखिस्या छ। यसैगरी काम गर्नुभयो भने अर्को रेस्टुरेन्ट किन्दैछु। तपाईं नै हेड शेफ। बेस्ट! ल, मलाई बुकर्स जान हतार भयो, पछि कुरा गरौँला,' कडा आवाज भएका साहुले यसरी नै बोल्थे, जान्थे। त्यसपछि कहिल्यै आएनन्। आयो त आधा तलब, आश्वासन र रिस।
४०० डिग्रीको तन्दूरभित्र रिस, आवेग र सपनाहरू खरानी भयो। नगरकोटी आफैँसँग फनफनियो, रिसायो। लिखा फेर्यो तर जुम्रा त्यही! रक्सीले तातिएको बेलामा लफडा गर्यो- साहु र शेफसँग। रक्सीबिना बेचैन हुने, कसैले पछ्याएजस्तो लाग्ने। यो सहरको फुटबल, कुकुर, घोडा, रूलेटमा १२ वर्ष दाउ लगायो। अभागीले खानेबेलामा हुरिबतास! दाउ, दारू र बेलायतको भाउले नगरकोटी एकोहोरियो, एकलाप गर्न लाग्यो, थाहै नपाई एक्लो भयो।
'दाइ, मेरो हल्का सामान छ है,' कपुरको बोलीले नगरकोटी झसङ्ग भयो। उसलाई थाहा छ हल्का भन्ने केही चिज हुँदैन भनेर।
'ओ! मेरो पनि ल्यापटप र मोबाइल नपठाई भा'छैन। कस्तो सही बेलामा नेपाल जान लाग्नु भयो,' विराजले जोहो गर्यो।
जुँगामा टाँसिएको बियरको फीँज न्याप्किनले पुछ्यो, 'हुन्छ, २३ किलो छ। मिलाएर लगौँला नि,' नगरकोटीले एयरलाइन्सले दिने आधा तौल भनेन।
'लौ, ४६ किलो दिन्छ नि। प्लस ८ किलो ह्याण्ड क्यारी। ल्यापटप ब्याग छुट्टै,' कपुरले भनिन्।
'एउटा ब्याग २३ किलोको मात्र लग्न पाइन्छ, २३-२३ गरेर ४६,' आफू सही छु भनेर ढाँटको कुरा ठाँटले बोल्यो।
'घरमा खान एउटा फेमस ग्राउस लग्ने हो?,' कपुरले अफ लाइसेन्स देखेर सोधिन्।
'मसँग त क्यास छैन यार,' पाउण्डलाई रुपैयाँमा विनिमय गर्यो। टोइट १४ पाउण्ड, हुन्न!
विराज अफ लाइसेन्समा रक्सी किन्न पस्यो। रित्तै फर्कियो।
'एउटा आइडी पनि नबोकी हिँड्छन यार केटाहरू,' नगरकोटीले विराजलाई उडाउने मौका पायो।
'अब ठिस् कुरा नगरौँ बाटोमा बसेर! खाली औडाहा कुरा गर्या छ। खै पैसा! तपाईंलाई कत्ति न हिरो बन्नु पर्या, इङ्ग्लिशमा बोलेर,' कपुरले विराजको हातबाट पैसा खोसिन्।
'चिल्लर मात्रै छ त?' भन्दै कपुरले सिक्का गनिन्।
'पैसा न सैसा टिकी ट्याँस-ट्याँस। यतिले त फ्यान्टा मात्रै आउँछ,' नगरकोटीको रक्सीको कोटा पुगिसकेको थियो, चिल्लरमा नोट थपेन।
'मेरो पनि अलिकति सामान छ है।' नेपाल जानेबेलामा 'थोरै' र 'हल्का' सामानको फेहरिस्ती लामै आयो। पुराना ल्यापटप, मोबाइल, घडी, टीशर्ट, पाउण्ड सपबाट किनेका कस्मेटिक। 'यतिका पुराना, नेपालमा नयाँ!' यो उखान उस्ले धेरै सुनेको थियो।
अब फोन उठाउन छोड्यो।
'कस्तो निष्ठुरी? मेरो त ठिकै हो, तिमी त जिग्री हो नि! फोन नै उठाउँदैनन्। यही सामान लग्नुपर्छ भनेर हो,' कपुर रन्थनिएकोले फोन बजेको झर्को मानिन्। फोन साइलेन्स गरिन्।
'६ वर्ष भयो सँगै बसेको। लास्टमा आएर खल्लो बनायो। अहिले के फोन गरी रा'नि?,' विराजले मोबाइल हेर्दै भन्यो।
'मेरोमा उठेन त्यही भएर तिम्रोमा गरेको,' कपुरले विराजको मोबाइलमा हेर्दै भनिन्।
नगरकोटीको गुडबाई कल कसैले उठाएनन्।
***
रक्सी, नगरकोटीले सित्तैमा पाउन्जेल र भुडीमा अटुन्जेल टन्नै खायो। साथीहरूले दे'को फेयरवेल पार्टीमा, फ्लाइटमा, ट्रान्जिटमा।
नेपाल उडेपछि पुराना दिनहरूको धमिलो सम्झना आयो। घर-परिवारलाई विश्वास थिएन। १२ वर्षमा १२ लाख पटक नै आउँछु भन्यो होला। हाते झोलामा नेपाल छोड्दा राखेको 'मेरो मोबाइल'को सिम-कार्ड र पुरनो फोन डायरी झिकेर नम्बर सेभ गर्न लाग्यो कन्ट्याकको आइफोनमा।
'मेरो मोबाइल'को सिमकार्ड अटेन आइफोनमा। वाइफाई सिग्नल खोज्दा-खोज्दै लगेज रोलर भएनेर आइपुग्यो। फदोर गाउँका केटाहरू काजी, सुक्रे, हस्ते, फिनेललाई फेसबुकमा म्यासेज गर्यो। 'साँझमा भेट्ने, केटाहरू।'
नगरकोटीले विमानमा हतार गरेजस्तो लगेज आउन छिटो भएन। सबैभन्दा अन्तिममा पूरै टेपले बेरिएर आयो। जिल खायो। त्यो लगेज आफ्नो होइन कि भनेर त्यत्तिकै छोड्यो। एक फन्को लगाएर फेरि उसकै अगाडि आइपुग्यो।
उजुरी गर्दा यताबाट उता, उताबाट त्यता! एकछिन रनभुल्ल भयो। २-४ वर्ष विदेश बसेर अएकाले त विदेशमा जस्तै सुविधा खोज्छन्, ऊ त ठ्याङ्गै १२ वर्ष, लवजमै बेलायती! तर सबैको मुखमै झुन्डिएको सस्तो र पन्छिन सजिलो शब्द 'थाहा छैन' को आगाडि नगरकोटीको केही लागेन। रक्सीले भरिएको पेटले धान्न गाह्रो भएर ४ पटक उँधैउँभै भयो। त्यसैले कहिले होटेल पुगौँ बनायो।
'ह्या! त्यस्तो के नै पो छ र? गए अरुकै जान्छ!' च्यात्तिएको लगेज घिसार्दै एयरपोर्ट बाहिर निस्कियो।
बानेश्वर जाने बसमा चढ्यो। झ्यालबाट टाउको निकाल्दै भमिट गर्न सुरू गर्यो। सहचालकले पोलिथिन ब्याग दियो।
'गाउँले लज'मा बस्यो। फ्रेस भएर बाहिर निक्लिनलाई होटेलकै लोते चप्पल लगाएर प्याट्ट-प्याट्ट पार्दै शंखमुलतिर लाग्यो। पुल छेउको क्याफेमा साथीहरूलाई कुर्दा हट लेमन मगायो। विदेश छोडेर सही गरें कि गलत छुट्याउन नसकेर अलमल्ल पर्यो।
'मोबाइलमा म्यासेजको घण्टी बझ्यो, 'दाइ, नेपालको सिम लिनु भयो?'
सामान लिन सबैलाई बानेश्वर बोलायो।
'बाबु, हाम्रो छोराजस्तै हुनुहुँदो रहेछ। खाना खान जसरी भए पनि आउनु है' भन्दै छुट्टिए। नगरकोटी कसैकोमा पनि गएन। जानु पनि थिएन। सामानको टिपोट पठाएकाले अँध्यारो मुख लगाए तर फ्याट्टै भन्न चाहिँ सकेनन्। विदेशको रसले निरश भएको नगरकोटीलाई 'यिनले के भन्छन्?' भनेर यत्ति पनि चिन्ता थिएन।
अब त बाँकी रित्तो सुटकेस मात्रै थियो। रित्तो लगेज त्यही होटेलको खाटमुनि छोडिदियो। पछाडि बोक्ने ब्यागमा सबै सामान अटायो।
होटलकै चप्पल पड्काउँदै ठमेल पुग्यो। ५ पाउण्ड बाहेक सबै पैसा रुपैयाँमा सटही गर्यो। राति साँढे ११ बजे घर पुग्यो। बिहान उठेर आमा र बहिनीलाई हिजो भाटभटेनीमा किनेको चकलेट दियो। धन्न स्टिकर उप्काएछ नत्र गाह्रो पर्थ्यो। आमाका आँखामा निकैबेर छोरोको अनुहार हेरेर आँसु खसिरहे।
'दसैँ खर्च' नगरकोटीले ठमेलमा साटेको बिटोबाट नगद पाँच हजार निकालेर बाबुलाई दियो।
'यत्ति हो?' बाबुले जरीकोटको भित्री गोजीमा राख्दै टाँक लगाए।
'धुला पैसा ल्या'को भा' टिका लाउनेलाई दिन सजिलो हुन्थ्यो,' धेरै वर्षपछि छोरोले पैसा दिएकोमा खुसी हुँदै भने।
छोरा गाउँतिर घुम्न गएको बेला पारेर ब्याग खोतले।
'छोरा'आ सामान नचलाइदिनु, बुढो भ'र नि लाठे छोरोको झोला किन खोताल्या?,' आमाले छोरो सुत्ने कोठाको ढोकामै आढ लागेर गाली गरिन्।
'यी यस्ता हुँदा रहेछन् विदेशका मान्छेले लगाउने चप्पल बुढिया!,' बाबुले बोलाएको सुनेर आमा फर्केर आइन्। सेता लोते चप्पल दुवैले ओल्ट्याई-पल्टाई हेरे। छोरोलाई बेलायत पठाउँदाको ऋण तिर्दातिर्दै चाउरिएको तालु कोट्याए।
'हुन्दिनु.. छोरोसँग पैसा थेन' होला। परदेशको ठाउँ, दुब्लाएर दाम्पेट भ'छ। सात समुन्द्र पार गरेर संसार देख्यो भै'गो नि,' बुढाले खोतालेको कुरा नपाएपछि खिस्रिक्क अनुहार देखेर आश्वासन दिइन्। गुनुगुनु गर्दै दुवै लिस्नुबाट ओर्लिए।
'एउटा विदेशको अलि बाक्लो बुट्टा भएको कमिज ल्याइदियो कि भनेर…,' दुखेसो पोख्दै बुढीकै पछि लागे।
'चित्रेले सिइदिन्छ। कुसेत्रा जति भए नि नपुग्ने! कति लोभ लाग्ने यी बुढालाई! त्यही चप्पल बेलाबेला लगाएरै मन बुझाउनु। जति बुढो भयो उती गनगन गर्ने तपाईं…,' आमालाई धेरै वर्षपछि सबै परिवार जम्मा भएर दसैँ मनाउन पाएकोमा हर्ष छ।
श्राद्ध, पुजा, किनबेचबाट लुकाएर जगेर्ना गरेको पैसा बिहान सबेरै गोठ नसार्दै ढुङ्गेल गाउँ पुगेर बिजुलीकान्तेलाई ४ माना घिउ खार्न लगाइन्। के खान्छ र कसो खान्छ गर्दै नयाँ धानको बिस्कुन सुकाइन्।
'ए ठूले! एउटा विदेशको अलि बाक्लो बुट्टा भएको कमिज लगाउन रहर ला'थ्यो,' निकै पटक बाबुले फोनमा भनेका थिए।
'आउँछु आउँछु' भन्दै १२ वटा दसैँ ढाँटेको छोरोले नेपालको एअरपोर्टमा सामान हराएको कुरा भन्नुको कुनै अर्थ देखेन।