राम्रो भयो
समयले तिमीलाई मसामु पुर्यायो
बाँध बनाई थमिएका आसुँले
फुटाई आफ्नै सहारा
यी आँखालाई नसुकुन्नजेल भिजायो
अनि म
युद्ध हारेको एक्लै सिपाही जसरी
निथ्रुक्क आफ्नै रगतले भिजेको पोसाक खलपत्र बेरी
पीडाले मरे पनि सम्झनाले बचाएको फोक्सोबाट
दुई मुठी सास निचोडी
थिचेर आफ्नै जीवनको रिप्ले बटन
भाइटीका मालाहरूमा बाँच्ने बहिनीका खुसीहरूको राँसोमा
दैलोमा नपुग्दै स्वागतलाई तयार बुढीआमाको काँसोमा
बिदाइका पलहरूमा प्रियसीको काँपेको हाँसोमा
खोज्दछ बाँच्नुको तात्पर्य
त्यसरी नै म खोज्दैछु
तिम्रा यादहरूसँगै अस्ताउन सक्ने सूर्य
अन्तिम समयमा सम्झनाहरूको जतन
केवल त्यति त रहेछ यो जीवन
जीवन
वर्तमान सौन्दर्य बिर्सिई
केवल अतीतलाई नमन
यादहरूको थैलो त्यो अतीत
न तिम्रो मुहार बिर्सन दिन्छ
न मेरो गुहार बर्सन दिन्छ
एउटै त गुहार थियो नियतीलाई कि
मेरा यादहरूको डेराबाट उसलाई बहिष्कार गरिदेऊ
जीवनको यो चिठीमा
गज्याङगुजुङ यी पङ्क्तिहरू मेटाई
सरल शब्दमा मायाको सार भरिदेऊ
नयाँ भेटहरूमा बग्ने मेरा पुराना आँसुहरू
सताउँदैछन् यो भेटमा पनि
कृपा गरी उनीहरूलाई अतीततिरै सारिदेऊ।