आजभन्दा ५५ वर्ष पहिला घरकी माइली छोरीको रुपमा जन्मिएकी म। मेरी आमाले सन्तान जन्माउने क्रममा मर्ने र बाँच्ने सन्तानको क्रम जारी नै थियो। म पनि बाँच्ने सन्तानमा परेँ। आफूलाई भाग्यमानी नै भन्नु पर्ला यो संसारमा आएर यति प्यारा तितामिठा संघर्षको अनुभव गर्न पाएँ।
हाम्रो घरमा छोरालाई मात्र पढ्न पठाउने चलन थियो। मानौं कि छोरी र स्कुलको सम्बन्ध अहिले रसिया र युक्रेनको जस्तो। बाल्यकालमा कलम समाउने हातमा भेडा खेदाउनलाई लठ्ठी र कखरा सिक्ने बेलामा 'ला, ला, स्या' भन्न सिकेँ।
मेरो दाइले पढेको सुनेर अलिअलि मैले नि 'क- कलम, ख- खरायो भेडा हेर्न जाँदाजाँदै मेरो उमेर खोइ कता हरायो?' भन्न जानेकी थिएँ। नभन्दै मेरो उमेर हराउँदै गएको अत्तोपत्तो भएन। पहिले त कन्या केटीको जल खाने हो भने स्वर्गमा बास पाइन्छ भन्ने चलन थियो। मेरा बाले त्यो चलनको अन्त्य गर्ने त कुरै भएन। त्यसैले पर सर्नु (महिनावारी हुन) भन्दा दुई वर्ष पहिले मेरो विवाह गरिदिनु भयो।
हिजोसम्म माइली छोरी म, आजबाट जेठी बुहारी भएँ। तर मलाई त छोरी बनेर आफ्नो रहर र सपनाको संसार बनाउने मौका नै मिलेन।
मेरो उहाँ लाहुरे भएका कारण मेरो बालाई मनपर्नु भएको रे तर मलाई त किन हो त्यही भेडा हेर्न जाने ठूले नै मन पर्थ्यो। मन पर्थ्यो नि के भन्नु, सधैं देखिराखेको भएर उही होस भन्ने मात्र भएको होला। मैले आजसम्म अरुको विवाह भएको देख्दा खेल खेलेको जस्तो लाग्थ्यो। त्यहाँ बिदाइ भएपछिको खेल त देखेकै थिइनँ।
मनमा हजारौं कुरा, डर, त्रास अनि अर्को तर्फ आफ्नो भेडाहरू र भेडा हेर्न जाने साथीहरूलाई छोडेर जानुको दुःख एकै पटक यस्तो लाग्थ्यो कि बल्लबल्ल मकै-खोइलाको घर बनाएको, त्यही नि साढे गोरु आएर भत्काइदियो।
सबै नयाँ-नयाँ, मलाई त समय नि नयाँ-नयाँ लाग्न थाल्यो। पानीको ताल झैं शान्त देखेर समयमा हाम फालेँ। कतिबेला समयले उमेरको रुप लिइसकेछ पत्तै पाइनँ। छोरी भएर पढ्न जान नपाएकी म बुहारी भएपछि पढ्न जान पाउँछु भन्ने त्यति ठूलो आशै थिएन।
मलाई यति लाग्थ्यो कि एक असल गृहणी बन्न सक्छु, एक असल बुहारी, भाउजू, जेठानी र आमा बन्न सक्छु। मेरी दिदी घर खाएर बसिन्, म पनि आफ्नो घर खाएर बस्नु पर्छ भन्ने बाहेक मन मस्तिष्कमा अरु केही थिएन।
मेरो जिम्मेवारीको नयाँ-नयाँ अध्यायहरू सुरु हुन थाले। हिजोकी छोरी बुहारी, आमा हुँदै आज हजुरआमा भइसकेँ। जीवनमा जे भइरहेको छ त्यो पक्कै सहज महसुस छैन तर पनि असहजतामा जे लुकेको छ, त्यो पक्कै पनि मूल्यवान छ। त्यसैले सबै कर्तव्य र जिम्मेवारीहरूलाई सहजतामा बदल्ने प्रयास सधैं नै गरिरहेँ।
यो संघर्ष र जिम्मेवारीको सिलसिला जति उमेर बढ्दै गयो उति थपिँदै जाने रहेछ। यो सिलसिला निरन्तर जीवनप्रयन्त चली नै रहन्छ।
आज मेरो उहाँको पेन्सन पाक्यो। उहाँले संघर्ष र मेहनतको फल पाउनुभयो। तर मैले पनि कम संघर्ष गरेकी थिइनँ। खै, मेरो त पेन्सन पाकेन त! म पनि पढेलेखेकी भएको भए, कुनै सरकारी कार्यालयकी कर्मचारी भएको भए पेन्सन पाक्थ्यो तर म त गृहलयकी कर्मचारी भएँ। मेरो पेन्सन कहिले पाक्छ?
हाम्रो देशमा सरकारी कर्मचारीले कार्यालय हाँक्छ
अलिअलि पढेलेखेकोले लोक सेवा नै ताक्छ
यसो नेपाल सरकारले हिसाबकिताब गरेर भन्दिन पर्यो
हामी गृहणीहरूको पेन्सन कहिले पाक्छ?