मेरो यो गतिका बहालवाला उनीहरू नै हुन्। यो म यकिनका साथ भन्न सक्छु, जो सबै मेरा आफ्नै थिए। उनीहरू मेरा रगतका मात्र साइनो नभएर मुटु, धड्कन र प्राण पनि थिए। उनीहरूको हाँसोको निम्ति म तौलिरहेकी हुन्थेँ।
के कसैको हाँसोको निम्ति कोही तौलिनै पर्छ, कसैले कसैलाई नतौली र नहोच्याई, नखिस्याई आफू हाँस्न असमर्थ हुन्छ हो? आफू बाँच्न असमर्थ हुन्छ हो? त्यो पनि इज्जत जोख्ने तराजुमा। इज्जत कसरी जोखिन्छ? के मा जोखिन्छ? त्यस्तो भन्नुपर्ने कुरो हो र?
'कोही मान्छे अर्काकै कुरा काट्न जन्मेका हुन्छन् यार। अरूलाई तौलिनका लागि मात्र जन्मिन्छन् रे,' भन्ने गर्थी ऊ।
'कसरी थाहा पायौ?,' म भन्थेँ।
'कस्ती बेबुझ केटी तिमी!'
'महिमा खनाल के,' मैले ओठ बटारेकी थिएँ।
सलिमाले धेरै पटक यस्तै भन्थी र हाँस्थी।
औँसीका रातहरू उज्याला हुन्थे, ऊ र म साथ हुँदा। मेरो परिवारलाई सलिमाजस्ती पढ्ने छोरी चाहिएको थियो। उसको परिवारलाई मजस्ती खेल्ने छोरी चाहिएको थियो। मैले खेलमा जितेर ल्याएको पदक देखेर उसका बाआमा कति खुसी भएका थिए। ऊ प्रथम भएर ल्याएको पुरस्कारमा मेरा बा, हजुरबा कति खुसी हुनु भएको थियो!
'सलिमाजस्तो हुनुपर्छ महिमा,' हजुरबा भन्नुहुन्थ्यो।
'जो जस्तो छ, त्यस्तै हुनुपर्छ हजुरबा,' म भन्थेँ, 'म सलिमाजस्ती कसरी हुने हजुरबा? सलिमा महिमाजस्ती कसरी हुने? हामी दुवै जना एउटै कसरी हुने?'
हामी दुवै गिज्याउँदै भन्थ्यौं र खित्त हाँस्थ्यौं। अनि एकै स्वरमा भन्थ्यौँ, 'कि पढेर जितिन्छ कि खेलेर जितिन्छ। कुरा त एउटै हो।'
ऊ र म हाँस्थ्यौँ। त्यो हाँसोले हाम्रो वरपरको वातावरण सय ताल गुन्जिन्थ्यो। हामी फेरि सय ताल हाँस्थ्यौँ। अनि लाग्थ्यो, हामीसँगै हामीले टेकेको जमिन हाँसिरहेको छ।
मेरी बालसखी ऊ तर आज बेपत्तासँग हराई। त्यति सानो उमेरमै कता हराई! त्यति धेरै कुरा बुझ्ने मान्छे। यति धेरै कुरा त्यति सानै उमेरमा कसरी बुझी उसले? हाम्रो दश कक्षाको पढाइमा पूर्णबिराम लाग्न नपाउँदै हाम्रो मित्रता बीचमै टुटेको थियो।
ऊ मलाई सदाको निम्ति पर हुत्ताएर गएकी थिई। ऊ विद्यालय नआएपछि उसलाई भेट्न म अस्पताल गएकी थिएँ। अस्पतालको त्यो अन्तिम दिन उसले मेरा हातका दुवै औंला समाउँदै भनेकी थिई- 'मलाई ब्लड क्यान्सर छ रे महिमा! म अब जान्छु।'
'कहाँ?,' मैले सोधेकी थिएँ।
'मरेका मान्छे कहाँ जान्छन्?' त्यहीँ क्या!'
'मलाई नि लैजा न यार।'
'कसरी लानु? म मर्छु। तिमी बाँच्छौ। मर्ने र बाँच्ने कहिल्यै सँगै हुँदैनन् बुझ्यौ महिमा!,' उसले यस्तै भनेकी थिई।
त्यसकै भोलिपल्ट बिहानीको सत्रमै हाम्रो स्कुल छुट्टी भएको थियो। अरु दिनको छुट्टीमा रमाउने म त्यस दिन भने दिनभरि रोएकी थिएँ। बलिन्धरा अश्रु आँखाबाट गालातिर झर्दै आधा ओठमा पस्दै आधा भुइँतिर झरेका थिए।
ऊ प्रथम हुने केटी, म अन्तिम हुने केटी तर पनि हाम्रो मित्रता अटुट थियो। ऊ छोडेर गई।
'महिमा, तिमी र म सधैँ सँगै ल!'
'हुन्छ क्या पढन्ते,' म भन्थेँ।
'ल ल खेलन्ते,' ऊ गिज्जाउँथी।
'म सलिमा भएर जन्मनु पर्थ्यो। तिमी महिमा भएर जन्मनु पर्थ्यो! हाम्रो जन्म मै उल्टो रहेछ, सलिमा,' म भन्थेँ।
'जन्माउन नजान्ने प्रकृतिले हुर्काउन के जान्दथ्यो!,' ऊ भन्थी।
यसरी ऊसँगका वार्तालापहरू मसँग ताजै थिए।
एकदिन सलिमा र मेरोबीच एउटा ठूलो दायरा कायम भयो। त्यसपछि चाहेर पनि हामीले एक अर्कालाई भेट्न नसक्ने भयौं। म त्यस दिन यस्तै कुरा सम्झेर धेरै रोएकी थिएँ। सलिमाको यादमा! ती दिनहरू यादमा मात्र विलीन थिए। सलिमाका यादहरू मात्र बाँकी थिए, ऊ थिइन।
एक समय यस्तो आयो मेरो बालापन विस्तारै हराउँदै गयो। जसरी हुरीले पतिङ्गर उडाउँछ, त्यसरी नै सलिमाका यादहरू पनि पर हुत्तिँदै गए। सलिमा बिना नै मैले बाह्रको साइन्स बल्लतल्त पास गरेँ। त्यसपछि सुरू भयो मेरा तनावको समय। त्यो समय यस्तो थियो, त्यो समय उस्तो थियो।
म त बेचिएकी भएँ, खुसीको अंशबण्डामा। मेरा सारा इच्छाआकांक्षा जलाएर जब म उनीहरूको मानसम्मानको कसौटीमा पस्किँदै थिएँ, तबदेखि नै म बिचल्लीमा परेको महसुस गर्थेँ। जसरी मेरो जीवनको हरेक पलले उनीहरूको खुसी तय गर्दथ्यो। तब मेरो मनले आफ्नै आँखामा आँसुको तलाब खन्थ्यो। जुन कुरामा मेरो लगाव थिएन। त्यही वस्तु मेरो नजिकै किन ल्याइन्थ्यो? म त केवल एउटा वस्तु न थिएँ! उनीहरूले जन्माएकी, हुर्काएकी र बढाएकी। उनीहरूको पाँच औँलाको मुठीभित्र बाँधिएकी।
म जन्मन्छु भनेकी थिएँ र! बाआमाले जन्माएका। म मेरो इच्छाले जन्मेकी हुँ र? उनीहरूको रहरले जन्माए। जन्मनु, हुर्कनु र कसैको भागमा पर्नु सायद ती संसारिक नियम हुन्। प्रकृतिका नियम हुन्। म तिनै सांसारिक नियम र बन्धनमा बाँधिएकी थिएँ। म के, सबै तिनै नियममा बाँधिन्छन्। भाग र अंशबण्डामा पर्छन्। आफ्ना आफ्ना भागभोग अनुसारको जीवन जीउँछन् र एकदिन सिद्धिन्छन् जसरी सलिमा सिद्धिई।
सिद्धिनु न हो जीवन। ढिलो चाँडोको खेल मात्र न हो। को अजम्बरी छ संसारमा र म हुन्छु? यो पृथ्वीले हजारौं मानिसलाई माटोमुनि लुकाइसकेको छ। कयौंलाई लुकाउने तरखरमा छ। हामी हाम्रै अस्तित्वमाथि टेकेर छाती फुलाउँछौँ। आफूमा अहम भर्छौं र दङ्ग पर्छौं। मानौं हामी कहिल्यै मर्दैनौँ।
म गहिरो सोचाइमा डुब्थेँ र घोरिन्थेँ। अनि चुपचाप डायरीमा यी सबै टिप्थेँ। हजुरआमा 'ए के सोचेकी महिमा' भन्दै ब्युँताउनु हुन्थ्यो। मानौं म सोचमा मरिरहेकीलाई उठाउनु हुँदैछ। म त हजुरआमाले हुर्काएकी नातिनी थिएँ। उहाँको कुरा मान्ने मेरो आदत थियो।
मेरो जन्म धनाढ्य परिवारमा भयो। त्यसलाई नै मैले सौभाग्य ठान्नुपर्छ। मेरो जति सौभाग्य नहुने बालबालिका कति छन् कति! मैले शिक्षित घरपरिवार र भौतिक साधन प्रशस्त पाएकी थिएँ। कसैलाई सित्तैमा नमिल्ने नसिब मैले पाएकी थिएँ।
मेरो नसिब त्यति बेला महङ्गो भयो जतिबेला मैले एमबिबिएस पढ्नको लागि प्रवेश परीक्षा दिएकी थिएँ। प्रवेश परीक्षा पास भएँ। त्यसपछि बाबा र हजुरबाले रोजेको कलेजमा भर्ना भएँ। भर्नाको लागि पनि यो चानचुने कुरो कहाँ थियो र! करोडौंको सौदाबाजी! म त परेँ धनी बाउकी छोरी, महिमा खनाल। तर त्यहाँ त तनमनकै सौदाबाजी पो हुँदोरहेछ!
घोटिएर, रेटिएर, निथ्रुक्क डुबेर पढ्नुपर्ने! त्यो मेरो बसको कुरो कहाँ थियो र? त्यहाँ मेरो लगावको कुरो कहाँ थियो र? मलाई खेल्न, उफ्रिन, पौडिन मन पर्थ्यो। गहिरो सोचमा डुब्न र उत्रिन मन पर्थ्यो।
कलेज र होस्टेलको माहोलमा भिज्न खोजेँ। सलिमाजस्ती मिल्ने साथी खोजेँ। तर त्यो माहोलमा रम्ने मेरो वशको कुरो थिएन। होस्टेलको खानाजस्तै साथीहरू पनि बेरसिला। बेस्वादिला। साथीहरू आ-आफ्नै धुनमा! कोहीसँग कोही बोल्दैनथे। बोले पनि पैसा पर्छ जस्ता। अजम्बरी झार खाएजस्ता। पैसा हुन् कि साथी! मानिस हुन् कि भेडा! एउटाले जे गर्थ्यो, अरू त्यही गर्थे। एकले जे गर्छ, अर्कोले त्यही गर्दा मलाई तिनीहरू भेडा जस्ता लाग्थे। म कसैलाई गन्दैनथेँ। म पनि धनी बाउकी छोरी। नपुग्ने मसँग के थियो र? म कोहीसँग किन झुक्थेँ।
मेरा लागि पैसा सस्तो थियो। उनीहरू महङ्गा! बजारका सामानभन्दा उनीहरूको बोली र मिलनसारिता महङ्गो थियो। पैसाले किन्न मिल्ने भए म ती सबैको बोली र व्यवहार किनिदिन्थेँ। मेरै पछि लाग्ने बनाइदिन्थेँ। तर पैसाको तराजुमा ती सब कहाँ पर्दा रहेनछन्। म मेरा भावनाको कदर नभएको त्यो सौदाबाजीको पल, म कसरी बिर्सिन्थेँ!
मसँग बस्ने रुममेट पनि मजस्तै घमण्डी थिई सायद! म धनी बाउकी रुन्चे छोरी, ऊ गरिब बाउकी दृढ छोरी। ऊ यस्ती थिई, उस्ती थिई, कस्ती कस्ती थिई! ऊ न रुन्थी, न हाँस्थी, न बोल्थी। एकहोरो घोरिरहन्थी। किताब मात्र पढिरहन्थी। ऊ किताब हेर्छे कि पढ्छे! कुनै पल उसका र मेरा भावना साटिएनन्।
ऊ मेरो अनुहारमा हेर्दैन थिई। उसका र मेरा आँखा जुध्नदैन थिए। ऊ कस्ती कस्ती! बेस्वादिली, निरसिली। ठ्याक्कै होस्टेलजस्तै थिई। होस्टेलको खानाजस्तै थिई, बिना स्वादकी। ऊ कसैसित पनि खासै बोल्दिन थिई। हिमचिम र हेलमेल गर्दिन थिई। मलाई लाग्थ्यो, ऊ मसँग बोलोस्, हाँसोस्। त्यति पनि नभए बाझोस्, झगडा गरोस्, भनाभन गरोस्। तर ऊ चुपचाप थिई।
ऊ झ्याल र पर्दासँगै खोल्थी, म लगाउँथेँ। ऊ ढोका खोल्थी, म बन्द गर्दिन्थेँ। मलाई अँध्यारो मनपर्थ्यो, उसलाई उज्यालो। उसलाई पढ्न मनपर्थ्यो, मलाई भिडिओ कल गर्न मनपर्थ्यो। ऊ पाई भने एक माना एकै चोटि खान सक्थी। पाइन भने दिनभरि भोकै बस्न सक्थी। ऊ जाडो, गर्मी सबै सहन गर्न सक्थी।
किरा, उडुस, मच्छड उसका साथीजस्तै थिए। तिनीहरू उसको जीउ वरपर नाच्दा ऊ चुपचाप रहिदिन्थी। किताबमै घोरिन्थी। तिनै किरा मेरो वरपर नाच्दा म चिच्याएर तीन उमल उफ्रिन्थेँ। मेरो एसीमा बस्ने बानी। खोई उसको केमा बस्ने बानी! मलाई त्यस्तो ठाउँमा धेरै कठिन हुन्थ्यो। उसलाई त्यस्तो ठाउँ सहज देखिन्थ्यो।
तर एक बिहानी सूर्य एक हातमाथि नआउँदै ऊ अर्को कोठामा बसाई सरी। छि: कस्तो निरसिलो पल! ऊ निष्ठुरी थिई या दयालु थिई। ऊ ढुङ्गाजस्ती कठोर थिई या फूलजस्ती नरम! बुझ्दै नबुझाई गई। मैले उसलाई धेरै नै डिस्टर्ब गरिदिन्थेँ। ऊ पढिरहेको बेलामा म चर्को रोइदिन्थेँ। उसले एकहोरो पढेको मलाई मनपर्ने थिएन! म एकहोरो रोएको उसलाई मनपर्ने थिएन। कस्तो विपरीत हाम्रो स्वभाव!
मेरा आँखामा आँसुको तलाब हुन्थ्यो। उसको हातमा किताबको चाङ हुन्थ्यो। मेरा आँसु देखेर डराई ऊ। म रोइरहन्थेँ, ऊ हेरिरहन्थी। बिहान, बेलुका, राति ऊ कसैसित बोल्दिन थिई। मानौं, उसको संसारमा कोही छैन। ऊ एक्लै हो। संसार उसको लागि रित्तो छ। खाली छ। मेरो संसार भरिभराउ छ। मानौं मेरा संसारभरि आफन्तै आफन्त छन्।
म बिहानैदेखि कलेज नजान्जेलसम्म भिडिओ कलमा झुन्डिन्थेँ। कलेजबाट फर्केपछि रातिसम्म पनि मेरो मोबाइल चल्दथ्यो। हजुरबा, बाबा, हजुरआमा, त्यति भ्याएर अस्ट्रेलिया, क्यानडा, लण्डन, अमेरिका सबैतिर मेरा फुपू, फुपाजू, सानीमा, ठूलीआमा, मामा, माइजू, काकाकाकी सबैतिर मोबाइलमै रोएर भ्याउँथेँ।
किन रौयौ? उसले सोधिन। उसले के, कसैले सोधेनन्। सायद! उसलाई मेरा आँसु मन परेन। आँसु कसलाई मनपर्छ र उसलाई मनपर्नु! आँसुको मूल्य हुँदैन। मूल्य नभएको चिज कसलाई मनपर्छ? मूल्य भए पो मनपर्छ! महङ्गो चिज पो सबैलाई मनपर्छ। सस्तो चिज कसलाई मनपर्छ! मेरा आँखामा तलाब थियो। तलाबमा अक्सर पानी हुने गर्छ। तर त्यो तलाबमा आँसु थियो जुन तलाब मसँग थियो।
मेरा आफ्नैले खन्दिएको तलाब। त्यो पनि आँसुको। म सधैं तिनै आँसु पिउँथेँ। आफ्नैले नदेखेको आँसुको तलाउ। तर उनीहरूले खनिदिएको आँसुको तलाब। जुन हरपल मेरा आँखामा मौजुद थियो। अलिकति घोचिदा पनि छचल्किन्थ्यो र बग्थ्यो। घोच्नेहरू तिनै थिए, जो मेरै परपर तैनाथ थिए। जो मेरा आफ्नै थिए।
मलाई आमाले जन्माइन्। हजुरआमाले हुर्काइन्। जेठा छोराकी जेठी नातिनी। म हजुरआमासँगै सुतेँ। पछि भाइ र बहिनी जन्मे। ती मम्मीसँगै सुते र मम्मीसँगै हुर्के। हजुरआमाले मलाई हुर्काएको पलमा म उनकी राजकुमारी नातिनी। सायद संसारमा सबैभन्दा म उनकी प्यारी थिएँ। मसँगै रुने र म हाँस्दा हाँस्ने मेरी हजुरआमा! मलाई मनपर्ने हरेक वस्तु मेरा कोठामा मौजुद हुन्थे। चाहे ती खाने पिउने वस्तु हुन्, चाहे ती लगाउने, सजाउने वस्तु हुन्। चाहे ती ऐस, आराम र विलाशीताका वस्तु हुन्। ती सबै मेरा लागि एकाठ्ठा हुन्थे।
हाम्रो संयुक्त परिवार। हजुरबा, हजुरआमा, काकाकाकी, फुपू, ठूलो परिवारमा आमा कता हराउनुहुन्थ्यो घरमा काम गर्ने नोकरचाकर भए पनि। कति पकाउने, के पकाउने, कतिखेर पकाउने! कसलाई चिया, कसलाई नास्ता, कसलाई पानी, कसलाई चिसो, कसलाई तातो! यी सब कुराको मम्मीले हेक्का राख्नुपर्थ्यो। मलाई मम्मीको के वास्ता। कहिलेकाहीँ वास्ता गर्दा मलाई लाग्थ्यो, यी सबै कुराको मम्मीले ठेक्का लिनुभएको छ। मम्मी खानपिनको ठेकेदार हो। मम्मी र मेरो खाशै हेलमेल र बोलचाल भने थिएन।
मेरा मैला लुगा भए या सुकिला छन्, थाहा नपाउने गैरजिम्मेवार थिएँ! 'तिमीले लगाएको लुगा मैलो भयो महिमा, खोल। वासिङ मेसिनमा हाल्नुपर्छ। तिम्रो नास्ता खाने बेला भयो। तिम्रो फलफूल खाने बेला भयो। तिम्रो खाना खाने बेला भयो।' यी सबै कुरा हजुरआमाले भन्नुपर्थ्यो।
म अहिले खान्नँ।
'कहिले खाने?'
एकैछिनमा क्या हजुरी।
'के खाने भन्?'
डेरी मिल्क र एक प्लेट म:म:।
हजुरआमा मेरो आवाज सुन्न नभ्याउँदै एकैछिन हराउनुहुन्थ्यो। ती वस्तुसँगै केही बेरमा हजुरआमा मेरोसामु उपस्थित हुनुहुन्थ्यो।
कुनै बेला उपमहानगरपालिकाका मेयर हुनुहुन्थ्यो रे हजुरबा! हाम्रो करौडौँको सम्पत्ति तीनैका उपज भन्थे वरपरकाहरूले। हजुरबा पदबाट हटेपछि पनि सपिङ मल। हस्पिटललगायत हाम्रो अरबौं सम्पत्तिको लेखाजोखा गर्थे रे मान्छेहरूले। तरहतरहका मान्छेहरूको आवातजावत थियो हाम्रो घरमा। ती सुकिला मुकिला मान्छे। गाडी, मोटर, बाइक। ती सबको मलाई के मतलब। आऊन कि जाऊन! हजुरबा ती सबका ठेकेदारजस्तो लाग्थ्यो।
उफ्रिनु,कबड्डी, ब्याडमिन्टन, स्विमिङ यी सबै मेरा रुचिका विषय थिए। नेपाल स्तरीय खेलकुद प्रतियोगितामा मैले नौ कक्षामा पढ्दा जितेर ल्याएको पदकले मलाई गिज्याउँथ्यो। ब्याडमिन्टन खेलमा म प्रथम भएकी थिएँ। पढाइलेखाइ विषय मेरा रुचिभन्दा बाहिरका वस्तु थिएँ। हाम्रो आफ्नै हस्पिटल भएकोले म त्यहाँ जाने गर्दथे। हाम्रा धेरै आफन्त डाक्टरी पेसामा हुनुहुन्थ्यो। मैले पनि एमबिबिएसको इन्ट्रान्सको लागि हड्डी घोटेर पढेकी थिएँ। तर त्यो हड्डी घोटाइ, महङ्गो हुन्छ भन्ने मलाई के थाहा!
होस्टेलमा वार्डेन म्यामले मेरो पढाइमा रुचि नभएको बुझ्नुभयो। घर फर्काएर लान भन्नुभएको थियो रे हजुरबासँग तर मेरो परिवारले ती कुरा बेवास्ता गर्यो। त्यहाँ उपस्थित ब्वाइज वार्डेनले भने मेरै मात्र चियोचर्चो गर्यो। ती मेरै घर परका रहेछन्। हाम्रो सहरभन्दा पल्लो गाउँका। तिनलाई मेरा हजुरबाले महिमाको रेखदेख गर्नु भनेछन्।
उनले मेरो मात्र रेखदेख गरे। मेरै कुराको दोहोरी खेलेर। कुराका पनि मान्छेहरू दोहोरी खेल्दा रहेछन्! यताका कुरा उता, उताका कुरा यता। कुरा साटासाट, कुरा काटाकाट। कुरौटेका पनि महाकुरौटे! कुराकै खेती, कुराकै अन्नबाली उब्जाए। रस मानेर कुरा काटे र निले। स्वाद लिए। मलाई मात्र हेर्न जन्मे झैं, मेरै मात्र चियो भएझैं। म कति बजे कलेज जान्छु, कति बजे फर्किन्छु, म एक्लै हिँड्छु कि साथीहरूसँग! यी सबै उनका चासोका विषय थिए। उनका दुई जना साथीहरूलाई पनि मेरै कुराको पोको खोलेर देखाउँथे। कहिले यता, कहिले उता। अनि ती सबै कुरा प्रिन्सिपलसम्म पुर्याउँथे। कहिलेकाहीँ त हामीलाई पढाउने शिक्षकसम्म पुग्थे र मतिर फर्किन्थे।
अर्को एक बिहानी जब हामी सबै कलेजतिर लम्कँदै थियौं तब एकजना सरले भन्नुभयो, 'हेर महिमा, यस्तो तालले पढेर डाक्टर बनिँदैन।'
'बुझ्यौ! कुन तालले पढौँ त?' ओठे जवाफ फर्काउन मन थियो तर त्यहाँ उपस्थित साथीहरूको साथले मेरो ओठलाई तालाबन्दी गरिदियो। म तत्काल चुप रहेँ। फेरि मैले एक श्वास फेर्न नपाउँदै उनी नै बोले, 'अब समय बर्बाद नगरी पढे, डाक्टर बन्नुछ भने।'
ती सरले समूहमा त्यसरी भनेको पटक्कै मन परेन। एक्लै बोलाएर भनेको भए हुने। तर समूहमा यस्ता कुरा किन भने! भन्नै जरुरी भए एक्लै भन्नु नि, होच्चाउन र खसाल्न! 'कोही मान्छे त अरूलाई खसाल्नैका लागि जन्मन्छन् कि क्या हो! यस्ता मान्छे त सानो ओहोदादेखि ठूलो तहसम्म हुन्छन् रे' हजुरआमाले यस्तै भन्नु भएको थियो। आफू ठूलो हुने कसैको त आदतै हुन्छ रे। अरूलाई होच्चाएर आफू चुलिएको महसुस गर्छन् रे। सगरमाथा पुगेको अनुभव साँच्छन् रे। यिनलाई पनि त्यस्तै भयो कि! मैले कर्के आँखा तिनीतिर हुत्याएँ र सरासर अघि बढेँ।
म कलेज नगई होस्टेल फर्किएँ। कोठामा गएर खुब रोएँ। चर्को चर्को। सबै कलेजमा थिए, म बन्द कोठामा। मेरो कोठा पनि मसँगै रोयो। म रोएको कोठाले मात्र देख्यो। कोठाका सामानले देखे। मान्छेले कहाँ देख्छ र मान्छे रोएको! मान्छे रोएको देख्ने यिनै चिजहरू त हुन्। तीनै नै थिए मेरो वरपर। जो म रोएको हेरिरहेका थिए।
आफ्ना त पराय भए! जो मेरो मर्जीको खिलाबमा मलाई बलिरहेको आगोमा मिल्काए। परायहरू के आफ्ना हुन्थे! ठाउँको ठाउँ बोलाउँथे। थर्काउँथे। महिमा यसो गर! उसो गर! मानौं म तिनीहरूको अर्ती उपदेश लिनकै लागि जन्मेकी हुँ। म पनि के कम! घरमा फोन गर्थें र घुर्काउँथें।
'डाक्टर बने इज्जत बढ्छ' हजुरबा भन्नुहुन्थ्यो।
'बन्दिनँ म डाक्टर साक्टर!,' म झर्किन्थेँ।
'त्यसो नभन महिमा,' हजुरबाको स्वर सानो हुन्थ्यो।
हजुरआमा भन्नुहुन्थ्यो, 'डाक्टर पढे कत्रो इज्जत हुन्छ, पढ।'
'केको इज्जत? मेरो यहाँ कत्रो बेइज्जत भइसक्यो,' म कराउँथेँ।
मलाई सम्झाएर आफ्ना रहरहरूको खलासी बनाउन तत्पर थिएँ सबै। कहिले उनीहरू क्यान्टिन बाहिर, कहिले म क्यान्टिनभित्र। कहिले उनीहरू कलेज बाहिर। कहिले म कलेजभित्र। कहिले उनीहरू होस्टेल बाहिर। कहिले म होस्टेलभित्र।
'बाहिर आऊ महिमा एकैछिन्,' हजुरबा भन्नुहुन्थ्यो।
'भित्रीबाहिरी खेल हो र! आउन्नँ,' म झर्किन्थे।
'आऊ न पाँच मिनेटको लागि,' हजुरबाजस्ता ठूला मान्छे। मजस्ती सानी नातिनीसँग कति झुकेका! यो देखेर म हजुरबाको नजिकै जान्थेँ।
'राम्रो पढ् ल महिमा,'
'कति पढ् भन्न सक्नुहुन्छ हजुरबा! अरु जे कुरा भने नि त्यो पढ् भन्ने शब्द मबाट चार हात पर राख्नु क्या।'
'पढाइमा संसार छ बुझ्यौ।'
'अझ बुझाउन केही बाँकी छ?,' म भन्थेँ।
'इज्जतजस्तो ठूलो केही छैन महिमा,' हजुरबा भन्नुहुन्थ्यो।
'बेइज्जतजस्तो मुटु चिर्ने केही छैन हजुरबा,' म झर्किन्थेँ।
मेरो झर्काइले हजुरबाको अनुहार सानो हुन्थ्यो। तेल तताउने सानो दिउरीजस्तो कालो। मलाई यस्तो लाग्थ्यो। मेरा स-साना कुराले हजुरबाको मन साह्रै दुख्छ। तर पनि मलाई पढ् भन्न छोड्नुहुन्न। मलाई पढ् भन्न छोडे कुरै खत्तम हुन्थ्यो। मलाई पिँध्न छोड्नुहुन्न। उहाँहरू जाँतो। म मकै हुँ। पिँधिरहेकी छु। टुक्राटुक्रा भएर पिठोमा परिणत भइसकेँ। धूलोपिठो। अब मभित्र केही बाँकी छैन। पिँधिनु हो पिँधिन्छु। मेरो के जान्छ, गए यही ज्यान जान्छ!
'म पढ्दिनँ। पागल हुन लागिसकेँ,' म भन्थेँ।
'तिमी सक्थेऊ,' उनीहरू भन्थे।
अर्को दिन वार्डेन म्यामले बोलाएर भन्नुभयो, 'महिमा, तिमी घर जाऊ। तिमी निरासिएको मैले धेरै पटक देखेकी छु। तिम्रो निरासपन मैले धेरै पटक पढेकी छु। तिम्रो अनुहारमा कतै खुसीको रेखा छैन। म यहाँ बसेको चौध/पन्ध्र वर्ष भयो। मैले तिमीजस्ता कयौं विद्यार्थीको अनुहार पढेकी छु। तिम्रो लागि यो फिल्ड होइन। तिमी अर्कै कामको लागि उपयुक्त हुन सक्छेऊ। खेलकुदमा रुचि छ भनेकी थियौ। त्यही फिल्म तिमीले राम्रो गर्न सक्छेऊ। मान्छे जेको लागि जन्मेको हो उसैको लागि उपयुक्त हुन सक्छ। रुची नभएका विषयहरूमा घोटिनु, रेटिनु भनेको जिउँदो मान्छेले खुकुरीको धारमा हिँड्नु हो। खुकुरीको धारमा टेक्दा कति कठिन हुन्छ। तिमीले बुझ्न सक्छेऊ! मलाई थाहा छ। तिमीले यस्तै धारिलो हतियारमा टेकेकी छौ।'
म कोठामा पल्टेर सोच्न थालेँ। म्यामले मभित्रको उकुसमुकुस दर्दनाक पीडा पढ्नु भएको रहेछ। मेरा आफ्नैहरूले पढ्न नसकेको मन होस्टेल म्यामले पढेर मलाई के फाइदा भयो र! म्यामले मलाई भने जति जम्मै कुरा हजुरबालाई भन्नुभएको रहेछ। तर उहाँहरूले आफ्नो मात्र दुनो सोझ्याउनेतिर लाग्नुभयो। उहाँहरूलाई आफ्नो मात्र ढिपी ठूलो। म त मकै न थिएँ। उहाँहरू मेसिन, जाँतो। जे-जे बनेर भए पनि मलाई पिँधेरै छाड्नुभयो!
मेसिन र मकैको खेल लामो समयसम्म चल्न पाएन। एकदिन अन्त्य हुनु नै थियो, भएरै छाड्यो। म पढाइकै बीच कक्षा कोठामै ढलेँ, डङरंग! काँप्ने, चिच्चाउने, कराउने, हाँस्ने, रुने। यी सारा प्रतिक्रिया मभित्रै उत्पन्न भएछन्! मलाई तुरुन्त अस्पताल लगियो। त्यसपछि मलाई अर्को मानसिक अस्पताल पुर्याइयो।
करिब नौ वर्षपछि तीमध्ये कोही नेपालका राम्रा डाक्टर बने। उनीहरू एमडी सकेर आआफ्ना काममा व्यस्त भए। मेरी रूममेट नामी डाक्टर भइसकेकी थिई। जताततै उसकै चर्चा थियो। त्यतिबेलै मेरो 'आँसुको तलाब' किताबले मदन पुरस्कार प्राप्त गर्यो।