म आफैले आफैलाई लाचार सम्झिन्छु
अनि त्यो मृत्युलाई बारबार सम्झिन्छु
जित्नैको लागि हरेक दिन लडिराख्दा पनि
केही गर्न नसकेर भएको त्यो हारलाई सम्झिन्छु
लाग्छ यो जीवन यहीसम्म त रहेछ
हो, त्यति नै बेला म मेरा बा र आमाको मुहार सम्झिन्छु।
म यी शब्द जति पटक पढ्छु त्योभन्दा धेरै पटक मेरा बा र आमाको अनुहार सम्झिन्छु।
सुनसान रात बन्द कोठाभित्रको एउटा कुनापट्टि धिपधिप लान्टिनको उज्यालोसँगै छरपष्ट परेका किताब। दायाँबायाँ नजर नडुलाई किताबका पानाभित्र लेखिएका इतिहास, देशदेखि विदेश, जलदेखि थल अनि जमिनदेखि आकाश, देवी-देवतादेखि भूतप्रेत अनि विभिन्न घटनाका तिथिमिति कण्ठ गर्दै बसेको म।
लाग्छ सायद भाग्यले नै प्रगति गर्न दिएको छैन। जति मेहनत गर्दा नि किन हुँदैन? यस्तै सोच पढ्दापढ्दै मेरो मानसपटलमा कैयौं पटक घुमिरहेका हुन्छन्।
गाउँदेखि कोसौं टाढा यो अन्जान सहरमा दुःख गर्दै पढिरहेको छु। बाहिरबाट हेर्दा लाग्छ होला मेरा साथीभाइ, इष्टमित्र र आफन्तहरूलाई मेरो सुख, शान्ति र खुसीको जीवन। तर उनीहरूलाई के थाहा प्रगति गर्नकै लागि गाउँबाट निकै टाढा यो अन्जान र अपरचित ठूलो सहरको बस्तीमा दिनरात नभनी, घामपानी, भोकप्यास नभनी राम्रो होलाकी भन्ने आशामा दुःख गर्दै पढ्न बसेको।
मेरो बाहिरी रूप देख्नेलाई के थाहा मेरा भित्री मनका व्यथा! मेरा साथीभाइ छरछिमेकीलाई के थाहा भोकभोकै, खाली पेट पानी पिउँदै कटाएका ती अँधेरी रातका व्यथा र मेरा इष्टमित्रलाई के थाहा कति अनिदै कटाएका ती रातका कथा।
सहरको ट्युसन सेन्टरमा ट्युसन पढ्न जाँदा गाडी भाडा दुई रुपैयाँ नपुग्दा कयौं किलोमिटर चिल्ला गाडी, गगनचुम्बी ठूला-ठूला भवन हेर्दै, मिठा परिकारका बास्ना सुँघ्दै घुटुक्क थुक निलेर अमिलो मन पार्दै चिल्ला सडक पेटीमा लखरलखर हिँडेर डेरासम्म पुगेको कसले देखेको छ र?
आफ्नाले आफ्नालाई नचिन्ने यो सहरमा दुःखकष्ट गरेर भए पनि यो जिन्दगी जेनतेन चलिरहेको छ। आफ्नो घर परिवारको यादले यो बिरानो सहरमा साह्रै मन पिरोल्ने गर्दछ। किताबका पाना पल्टाउँदै गर्दा घरका दुःख र पीडाका पनि पाना यो मनमुटु भित्र पल्टिन्छन्।
हुनेखाने र हुँदा खानेको यो सहरमा आकाश पातालको फरक छ। न त यो फरक जमिनले उडेर आकाशलाई छुन सक्ने छ, न त आकाश नै तल झरेर जमिनलाई छुन सक्ने छ। केवल एकअर्काको छत्रछाया भएर पनि प्रकृतिमा रुखले दिएको छहारी र ओतको आश गरेका हुँदा खानेको लागि यो सहर नर्क सरह बनेको छ। ठूलोले सानोलाई सहयोग सुख दिनुपर्ने हो तर यो कङ्क्रिट नै कङ्क्रिटले भरिएको सहरमा ठूलोले सानोलाई हेप्दै अघि बढिरहेको छ।
यो पापी सहरमा हुनेखाने साथीभाइ र आफन्तका परिवार सँगै रमाउँदै हिँडेको देख्दा खाली खुट्टै मेलापात गर्न हिँडेकी मेरी आमाको सम्झनाले यो मन रुने गर्छ। सन्तानको सुखका लागि भालेको पहिलो स्वरसँगै उठेर मेरी आमा काम गर्न थालेको सम्झिँदा तपक्क आँसुका धाराले सुन्दर कोमल गालालाई स्पर्श गर्दै ओठमा आएर एकैछिन विश्राम मार्छ र नुनिलो स्वाद दिँदै भुइँमा खस्छ।
सहरको रमझम देख्दा मलाई लाग्छ मेरा बा र आमाले त्यो मेरो दुर्गम गाउँमा दुःख गर्दै मलाई हुर्काएर सहरमा पढ्न पठाएका ती दिन। अरूको काम गर्दागर्दै थाकिसकेका मेरा बुबाका काँध। अनि सोच्छु, बालाई विश्राम दिने दिन कहिले आउला? आमाको पुरानो गुन्यु चोलो फेर्ने दिन कहिले आउला? हो, आजभोलि मलाई यस्तै आमाको चोली र बालाई विश्राम दिने दिनको सम्झनाका तरेलीहरूले पनि निकै मेहनत गर्न सिकाएको छ। त्यही प्रगतिको प्रतीक्षामा हर रात प्रयास गर्दा गर्दै छर्लङ्ग उज्यालो भएको छ।
परिस्थिति जतिसुकै कठिन किन नहोस्, सुन्दर सपना भने देख्न छोड्नुहुन्न। एकदिन अवश्य सुन्दर ठाउँमा पुगिनेछ। साँच्चै, हरेक पटक आउने घरको यादले अचेल मलाई झन् तगडा बनाइसकेको छ। किताबका पाना पल्टाउँदै गर्दा सोच्छु र अठोट गर्छु अब त केही अलि बढी मेहनत, दुःख गरेर प्रगतिको शिखर चुम्ने छु।
आजभोलि म मौन बस्न सिकेको छु किनकि मौनताको अर्थ उत्तर नै नहुनु होइन। उत्तरको लागि सही समयको प्रतीक्षा गर्नु हो। अब म त्यही समयको प्रतिक्षामा रही अझ धेरै मेहनत गर्नेछु। अहिले मलाई नराम्रो भन्नेहरूलाई एकदिन समयले राम्रो पाठ पक्कै पनि सिकाउने छ।
हरेकको जिन्दगीमा आफ्नै किसिमको लडाइँ हुन्छ। सबैका कुनै न कुनै प्रतिद्वन्दी हुन्छन्। सबैसँग लड्ने ताकत आफैसित हुनुपर्छ। हो, अब म मेरो तागत म भित्रैबाट झन् धेरै निकाल्ने छु। युद्ध भूमिमा समर्पित भइसकेपछि कि जित हुन्छ कि हार। तर म भने जित निकाल्ने गरी पूर्व तयारीका साथ युद्ध भूमिमा समर्पित हुनेछु।
मेरा पूरा आफन्तहरू र सिङ्गो संसारलाई नै देखाई दिनेछु, हर दुःखपछि सुख आउने छ। हर अँधेरी रातपछि पूर्वमा उज्यालो किरण (लाली) छाउने छ। सुख्खा उदास लाग्दा हिउँदका दिनपछि रमाइलो वसन्तले आगमन गर्नेछ।
शिखर चड्दा जति कठिनाई भए पनि शिखरको चुचुरोमा पाइला टेक्दा संसार नै जिती त्यो निलो गगन चुमेको महसुस हुन्छ। कयौ दूरी हिँड्दा अन्ततः गन्तव्यमा पु जस्तो महसुस हुन्छ। हो, म त्यही महसुस गर्ने लडाइँको तयारी गर्दै युद्धमा जित्ने आँट र अठोटका साथ संकल्प गर्दै यो प्रगति हुने नामक युद्ध भूमिमा समर्पित हुनेछु।